मेयर–उपमेयरको विवादले नगराईन नगरपालिका ठप्प

धनुषाको नगराईन नगरपालिकामा मेयर र उपमेयरबीचको विवाद साम्य भएको देखिए पनि अवस्था मिलेको छैन । नगराईन नगरपालिकाको नगर सभा नहुँदा शिक्षक र कर्मचारीले तलब पाउन सकेका छैनन् । मेयर विनय कुमार यादवले नगरसभा गर्न चाहने तर उपमेयर राधादेवी यादवले नमान्ने गर्दा नगरपालिकाको सबै आर्थिक कारोबार ठप्प भएको छ ।

पालिकाको सम्पूर्ण कामकाज पाँच महिनादेखि ठप्प हुँदा शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षा सेवालगायत विकास निर्माणका कामहरुसमेत ठप्प छ । लामो समयदेखि ठप्प रहँदा स्थानीयस्तरमा नगराईन नागरिक समाज युवा समूहको सक्रियतामा मेयर र उपमेयरलगायत विभिन्न दल तथा जनप्रतिनिधिहरुको उपस्थितिमा नगरसभाका लागि सकारात्मक देखिएको थियो । तर केही दिनदेखि लगातार बस्दै आएको पालिकाको बैठकमा मेयर विनयकुमार यादवले स्थानीय तहको सरकार सञ्चालन सम्बन्धी कार्यविधि २०७६ खारेजी नगरी संशोधनका लागि प्रयास गरेपछि एमालेबाट निर्वाचित जनप्रतिनिधिहरु सशंकित भएका छन् ।

उपमेयर राधादेवी यादवले सामूहिक रुपमा मेयरले आफूहरुसंग गरेको सहमति लागु नगरी स्थानीय तहको सरकार सञ्चालन सम्बन्धी ऐन २०७४ कार्यान्वयन नगरी पुरानै कार्यविधि संशोधन गर्न खोजेपछि आफूहरुले विरोध गरेको बताइन् । दुई दिनदेखि नगराईन नगरपालिकामा हुँदै आएको मेयर–उपमेयर बीचको संवादसमेत हुन नसकेको उपमेयर राधादेवीले बताइन् । जसले गर्दा नगराईन नगरपालिकाको विवादका कारण ०८१/८२ को नगरसभासमेत हुन सकेको छैन ।

मेयर यादवले अहिलेसम्म दुवै पक्षबीचको वार्ता संवाद सकारात्मक रहे पनि टुंगो लाग्न अझै केही दिन लाग्ने बताए । उनले भागवण्डादेखि कार्यविधि संशोधन समेत प्याकेजमै सहमति गर्न खोजेकाले केही समय लम्बिएको प्रस्ट गरे । उनले नगराईन नगरपालिकाको नगरसभा यसै साताभित्र मिति तोकेर सम्पन्न भएसंगै नगरासभाबाट नीति, कार्यक्रम र बजेट पनि पारित र सबैले तलब भत्तालगायतका सेवा सुविधाहरु पाउने आश्वासन दिए ।

उपमेयर राधादेवीले स्थानीय सरकार ऐन सञ्चालन ऐन, २०७६ खारेज गरी स्थानीय सरकार २०७४ लागू नभएसम्म नगरसभा हुन नदिने भन्दै विरोध जनाएपछि सभा हुन सकेको छैन । उनले आफ्नो माग सम्बोधन हुने अवस्थामा मात्रै नगरसभालगायतका काम अगाडि बढ्ने अडान लिएकी छन् । आन्दोलनका कारण अहिले नगरपालिकाको कामकाज ठप्प छ ।

अर्कोतर्फ विद्यालय र स्वास्थ्य सेवा केन्द्र खोल्नुपर्ने भन्दै मेयर र उपमेयरको विरोधमा नगराईन नागरिक समाज समूहले आइतबारदेखि आन्दोलन थालेका छन् । समूहका संयोजक आदर्श मण्डल र सहसंयोजक विश्वनाथ साहलाई इलाका प्रहरी कार्यालय फुलगामाले पक्राउ गरी आन्दोलन नगर्ने सर्तमा साँझमा रिहा गरेका छन् ।

The post मेयर–उपमेयरको विवादले नगराईन नगरपालिका ठप्प appeared first on Janakpur Today.

Source : https://ejanakpurtoday.com/2024/11/25/101571/