राष्ट्रपतिलाई भेटेर सरकारका क्रियाकलापको ध्यानाकर्षण गराउँछौं : प्रचण्ड

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिलाई भेटेर सरकारका क्रियाकलापबारे गम्भीर ध्यानाकर्षण गराउने बताएका छन्। आज बिहान नेपाल बुद्धिजीवी संगठनका पदाधिकारीहरूसँगको भेटमा उनले पाँच विपक्षी दलहरूले सरकारको गलत रवैयाबारे ज्ञापनपत्र बुझाइसकेको जानकारी दिए। उनले सरकारलाई सही दिशा लिन आग्रह गर्दै गलत क्रियाकलाप रोक्न आवश्यक रहेको बताए।

प्रचण्डले अब सरकारका विरुद्धमा सडक आन्दोलनको तयारी भइरहेको जानकारी गराउँदै आगामी कात्तिक १० गते काठमाडौंमा बागमती, विशेष र समन्वय प्रदेश समितिको आयोजनामा खबरदारी सभा हुने घोषणा गरे। उनले सरकारको सय दिनको कामकारबाहीलाई असफल ठहर गर्दै भ्रष्टाचारको संरक्षणमा मात्रै ध्यान दिइएको टिप्पणी गरे।

उनका अनुसार, उद्योगहरूको बक्यौता उठाउन खोज्दा विद्युत प्राधिकरणका कार्यकारी निर्देशकलाई हटाउन खोजिएको, सामान्य प्राविधिक त्रुटिका आधारमा उपसभामुखलाई हटाउन प्रयास गरिएको र प्रधानमन्त्रीको दलले विवादास्पद व्यवसायीबाट जग्गा दान लिएको जस्ता घटनाले सरकार भ्रष्टाचारको पक्षमा रहेको पुष्टि गरेको छ। प्रचण्डले बुद्धिजीवी संगठनलाई आफ्नो भूमिका अझ सशक्त बनाउन आग्रह गर्दै पार्टीको पक्षमा राम्रो माहोल बन्दै गएको उल्लेख गरे।

 

The post राष्ट्रपतिलाई भेटेर सरकारका क्रियाकलापको ध्यानाकर्षण गराउँछौं : प्रचण्ड appeared first on Samudrapari.

Source : https://samudrapari.com/2024/10/493722/