१४ वर्ष मुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क : स्वास्थ्यमन्त्री पौडेल
काठमाडौँ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले १४ वर्ष मुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने निर्णय गरेका छन् । आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै उनले सरकारी अस्पतालहरु कान्ति बाल अस्पताल काठमाडौं, भक्तपुर क्यान्सर अस्पताल भक्तपुर र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा यस्तो सेवा निःशुल्क गर्ने निर्णय गरेका हुन् ।
मन्त्री पौडेलको सचिवालयका अनुसार मंसिर १ गतेबाट उपचार निःशुल्क हुने गरी व्यवस्था मिलाइएको छ । राज्यको सामर्थ्यका आधारमा धेरै धनराशी खर्च हुने क्यान्सर उपचार निःशुल्क गर्ने मन्त्रालयको नीति छ । यसै अन्तर्गत मन्त्री पौडेलले आफू मन्त्रालयमा पदबहाल गरेलगत्तै बालबालिकाको क्यान्सर उपचार सेवा निःशुल्क बनाउन पहल थालेको सचिवालयले जनाएको छ । सचिवालयले सोही पहल अनुसार नै आज निर्णय भएको उल्लेख गरेको छ ।
नेपालमा कुल हुने मृत्युमध्ये दुई तिहाइभन्दा बढी ७१ प्रतिशत नसर्ने रोगका कारण हुने गरेको छ । त्यसमध्ये ११ प्रतिशतको क्यान्सरका कारण ज्यान जाने गरेको मन्त्रालयअन्र्तगतको इपिडिमियालोजी तथा रोग नियन्त्रण महाशाखाद्वारा सार्वजनिक तथ्याङ्कमा छ ।
नेपालमा सन् २०२२ मा २२ हजार नयाँ बिरामी देखिएकामा १४ हजार बढीले ज्यान गुमाएको पाइएको छ । नेपालमा हरेक वर्ष करिब १५ सय बालबालिकामा क्यान्सर देखिने गरेको छ । ती बालबालिकालाई परिवारको आर्थिक अभावमा मृत्युको मुखमा पर्न नदिन र समयमै उपचार गरेर ज्यान बचाउन उपचार निःशुल्क बनाउने निर्णय गरिएको मन्त्री पौडेलले बताए ।
समयमै उपचार गर्न सकिए बालबालिकाको क्यान्सर निको गर्न सकिन्छ, उनले भने, तर आर्थिक अभावमा कोही पनि परीक्षण र उपचाबाट वञ्चित नहोउन् भनेर निःशुल्क बनाउने निर्णय गरेका हौँ ।’
मन्त्री पौडेलले कार्यभार सम्हाल्नासाथ पहिलो निर्णय राष्ट्रिय क्यान्सर रणनीति स्वीकृत गरेर थालेका थिए । र, नीतिअनुसार बालबालिकाको क्यान्सर न्यूनीकरण गर्न पहिलो निर्णय गरेको तीन महिनाभित्रै उनले तीन महिना पुग्नासाथ उपचार निःशुल्क गराउने निर्णय गरेका हुन् ।