‘धर्मान्तरण र शक्तिको प्रयोग गर्न नजानेर समस्या भएको हो’

डा. दीपक सुवेदी पोखरामा जन्मी भारतको गुडगाउँमा कर्मथलो बनाउने झाँक्री, काली साधक हुनुहुन्छ । उहाँले नेपालको झाँक्री विद्यालाई विश्वमा चिनाउँदै आइरहनु भएको छ। उहाँले करिब २५ देशमा भ्रमण गरी झाँक्री तथा तान्त्रिक विद्या सिकाई हजारौँ चेलाचेली विश्वका ४५ देशमा फैलाउनुभइसकेको छ। उनै सुबेदीसँग हिमालयन झाँक्री विद्या, हिलिङ, काली साधनालगायत विषयमा केन्द्रित रही नेपाल समाचारपत्रका भवनाथ प्याकुरेलले गरेको कुराकानीको अंश ।

तपाईं विज्ञान पढेको व्यक्ति कसरी आध्यात्मतिर प्रवेश गर्नुभयो ?
म कक्षा ९ मा पढ्दा देखि नै आस्तिक थिएँ । बच्चा बेलामै मेरो शरीरमा कुलमा खेलिहिँडेको झाँक्री देवताको प्रवेश हुन्थ्यो । म झाँक्री प्रवेश भएपछि काम्ने गरे पनि गुरु भेटेपछि काम्न छोडें ।

झाँक्री विद्या के हो ?
प्रकृतिसँग भएको ऊर्जालाई आफूसँग कसरी बोलाउने अथवा प्रयोग गरेर मानिसको जीवन सहज बनाउने विद्या नै झाँक्री विद्या हो । यसबाट हिलिङ गरिन्छ । झाँक्री विद्याका माध्यमबाट धेरै मानिसहरुको जीवन सहज भएको छ । प्रत्येक देशमा कुनै न कुनै माध्यमबाट झाँक्री विद्याको अभ्यास हुन्छ । नाम, शक्ति फरक भए पनि मूलभूत सिद्धान्त भने एउटै हुन्छ । सबैले प्रकृतिलाई नै पुज्ने हो । झाँक्री विद्या मान्नेले पिता पूर्खाले मान्दै गरेको प्रकृति र ब्रह्माण्डको उत्पती गर्नेलाई पुज्ने हो । हामीले मानेका क्षेत्रपाल, दिक्पाल, खोला, पहाड, हिमाल, ढुङ्गा, रुख, माटो तथा वरपर रहेका प्रकृतिलाई पूजा गर्ने विद्या नै झाँक्री विद्या हो ।

प्रकृतिको शक्ति प्रयोग गरी के कस्ता फाइदा लिन सकिन्छ ?
हिलिङ गर्न सकिने र शरीर भित्र रहेका नकारात्मक ऊर्जालाई हटाउन सकिन्छ । शरीरमा कुनै समस्या छ भने त्यो हट्दछ। हामीले प्रकृतिलाई सम्मान गर्‍यौँ भने हामीलाई पनि प्रकृतिले सम्मान गर्दछ। अहिले हामीले प्रकृतिको विनाश गरिरहेका छौँ। त्यसको परिणाम प्रकृतिले हाम्रो विनाश गरिरहेको छ।

प्रकृति भित्र पनि सबैभन्दा बढी शक्ति केमा हुन्छ ?
क्रमशः आकाश, वायु, अग्नि, जल, पृथ्वीमा सबैभन्दा बढी शक्ति छ । यही शक्ति कसरी लिने भन्ने विषय मैले सिकाउँछु ।

प्रकृतिसँग कसरी शक्ति लिने हुन्छ ?
यसै विषयमा मैले सिकाउने गरेको छु । जुन निःशुल्क र सशुल्क दुबै हुन्छ । यसमा प्रकृतिलाई कसरी प्रयोग गर्न सक्छौँ भन्ने विषय सिकाउने गर्दछु।

परम्परागत रुपमा गाउँघरमा हुने झाँक्री र तपाईले भन्नु भएको झाँक्री बिच के फरक छ ?
परम्परागत रुपमा कामेर बिरामी निको पार्ने गरिएको छ । यस्तो नेपालमा मात्र हुन्छ । ऊर्जालाई नियन्त्रण गर्न नसक्ने मात्र काम्ने हुन् । ऊर्जा नियन्त्रण गर्न नसक्ने भनेको मानशिक र शारीरिक रुपमा कमजोर भएर हो । मानशिक, शारीरिक, कुन्डलिनी जागृत भएको व्यक्तिलाई झाँक्री विद्या भए पनि काम्दैनन् ।

झाँक्री तपाईंले बनाउने हो वा आफैँ हुन्छन् ?
दुबै हो । तर, मेरा चेलाचेली काम्दैनन् ।

झाँक्री मन्त्र हो वा देवता जस्तै निराकार शक्ति हुन् ?
झाँक्री वा काली सबै प्रकृति हुन् । उनीहरुलाई गुरुका रुपमा लिने गरिन्छ । हामी भन्दा अगाडि उत्पत्ति भइ समाजलाई दिशा निर्देशन गर्दछन् ।

झाँक्रीले मानिसलाई जंगलमा लिएर गई विद्या दिन्छ भन्ने विषय साँचो हो ?
केही अर्थमा सही हो । आजकाल कम हुँदै गइरहेको छ । आजभन्दा २० वर्ष पहिला धेरै हुने गरेको थियो । विस्तारै मानिसको संख्या बढिरहेको छ । अहिले पनि कुनाकन्दारामा झाँक्रीलाई नै देवता मानेर पुज्ने गरेको भेटिन्छ । त्यस्ता ठाउँमा झाँक्री हुन्छन् ।

नेपालको कति ठाउँमा मानिसकै शरीर जस्तो झाँक्री छन् ? के तपाईले भेटेर कुरा नर्नु भएको छ ?
मैले ९ वर्षको उमेरमा कास्की जिल्लामा भेटेको थिएँ । मेरो कुरा पनि भयो । उहाँ सिकारीका रुपमा हुनुहुन्थ्यो । अहिले पनि वंश परम्परा चलिरहेको छ । झाँक्रीहरु मानव र बाँदरको रुपमा छन् । हामीले झाँक्रीको हानी गरेनौँ भने उनीहरुले पनि गर्दैनन् ।

नेपालमा मानिसकै स्वरुपमा हुने अन्य शक्तिहरु के के छन् ?
भँगेर सेतो घोडामा सेतै कपडामा हुन्छन् । वीर मसान जनावरको स्वरुपमा हुन्छन् । झाँक्री मानिसको स्वरुपमा हुन्छन् । सिकारी हातमा धनुुस लिएका हुन्छन् । खसम सिकारी र मानिस जस्ता हुन्छन् । यति वन मान्छे जस्तो हुन्छन् । बाहिरी देशमा पनि फरक नाममा पाइन्छ ।

हामी मरेपछि कहाँ जाने भन्ने विषय कसले निर्णय गर्ने हो ?
मरेर गइसकेपछि के हुने भन्ने विषय झाँक्री विद्याले गर्दैन । मरेर गए पनि बन्धनमा परेको आत्मालाई छुटकारा दिने काम झाँक्री विद्याले गर्दछ । हामीले राम्रो कर्म गरेका छैनौँ भने कुनै देवी देवताले पनि केही गर्न सक्तैनन् । देवी देवताले सम्पूर्ण समस्या समाधान गर्न सक्छन् भन्ने विषय गलत हो । हरेक शक्तिको आफ्नै क्षेत्र हुन्छ । गर्न सक्ने वा गराउन सक्ने भन्ने विषय रहने गरेको छ ।

देश, जनताको कल्याण गर्न झाँक्री विद्यालाई प्रयोग कसरी गर्न सकिन्छ ?
यो विद्याबाट एन्जाइटिस्, डिप्प्रेसन, नेगेटिभ विचार र कसैले नदेखिने शक्तिबाट दुःख दिइरहेका छन् भने सजिलो तरिकाले हटाउन सकिन्छ । कसैले काला जादु, मोहनी लगाएको छ भने पनि हटाउन सकिन्छ । आफैंले हटाउन सकियो भने परिवार खुशी हुन्छन् ।

तपाईंले झाँक्री विद्या सिकाउनु हुन्छ ?
यसमा अलग–अलग किसिमका लेबल हुन्छ । आफ्नो रक्षा कसरी गर्ने, कसैले वायुलगायत कसैको शक्ति आउन नदिनेलगायत विद्या सिकाइन्छ । प्रकृतिसँग कुरा गर्न सकिन्छ । जसमा खोला, रुखसँग संवाद गर्न सकिन्छ । ऊर्जा सदुपयोग कसरी गर्ने भन्ने विषय थाहा पाउन सकिन्छ । यो विद्या सिक्न ४ देखि ५ वर्ष लाग्छ ।

शुल्क कति छ ?
पहिलो लेभलको शुल्क १० हजार, दोस्रो लेभलको १२ हजार, तेस्रो लेभलको २५ हजार, चौथो लेभलको ३५ हजार र पाँचौं लेभलको ४५ हजार लाग्छ । सबै गरेर १ लाख ३७ हजार लाग्दछ । यसमा निःशुल्क साधना पनि हुन्छ । जसमा विभिन्न रोगको समाधान गर्न सकिन्छ । यसमा ३ वर्षको समय लाग्छ । अहिले सम्म लेभल ५ सम्म सिकेका नेपाली छैनन् ।

तपाईंसँग भएको ज्ञान निःशुल्क लिन सकिँदैन ?
गुरुले पनि रकम लिनु भन्नु भएको छ । मेरै आफ्नो व्यवहार चलाउन पनि धेरै रकम चाहिने भएको हुनाले शुल्क लिने गरेको छु । मैले मिहिनेत गरेको पैसा लिने हो ।

अहिले बजारमा माता भनेर काम्ने व्यक्ति को हुन् ?
उनीहरु मानसिक रोगीहरु हुन् । कोही आफैं कामेका हुन्छन् भने कोही वायुवाट पनि कामेका हुन्छन् । माता अउनेलाई सबै भाषाको ज्ञान हुनु पर्ने हो । उनीहरुलाई भाषा पनि आउँदैन । असली माता गोप्य रुपमा बसेका हुन्छन् । अहिले धामी, माता भनेर काम्नेहरु १ सय जनामा १० जना मात्र सही माता हुन् । देवी कालीलाई म काली हुँ भनेर भन्न जरुरी छैन । नेपालमा केही नआउनेले गर्दा नै यो विद्यालाई विषाक्त गराइदिएका छन् । कालीको शक्तिलाई हाम्रो शरीरमा उतार्न सक्ने सामर्थ कसमा हुन्छ? भूतले पनि काली नै भन्ने गरेको छ ।

गलत शक्तिबाट बच्न सक्ने उपाय छ त ?
हरेक बिहीबार आफ्नो कुल देवतालाई सम्झेर बत्ती बाली मलाई बाटो देखाउ भनी प्रार्थना गर्दा विस्तारै जीवनलाई मार्गदर्शन दिन सकिन्छ ।

कुल देवताको नाम कसरी थाहा पाउने ?
पिता पुर्खाले मानिआएको देवतालाई कुल देवता भन्ने हो । जुन डिएनएसँग सम्बन्धित छ । आफ्नो डिएनएबाहेक अरुमा कुल देवताको शक्ति चल्दैन ।

गोत्र भएको सबैको कुल देवता एकै हुन् ?
सात पुस्तासम्म मात्र कुल देवताको शक्ति चल्ने हो । हामीले कुल देवता नचिने पनि हामीभित्र नै रहेको हुन्छ । त्यसलाई जागृत मात्र गराउनु पर्दछ । हामीले थाहा नपाए पनि कुनै न कुनै रुपमा शक्तिले दोहो¥याएको हुन्छ । कुल देवतालाई सम्झिदै गयौं भने विस्तारै हामीलाई आवाज दिँदै बताउँदै जान्छ ।

कुल देवताको साधना कसरी गर्ने ?
सकिन्छ भने सधैं र सकिँदैन भने बिहीबार धुप, दीप बाल्नु पर्छ । खाना खाँदा कुल देवतालाई अर्पित गरेर खानु पर्दछ । हुन त कुल देवताको आफ्नै विधि छन् । तर, यो भनेको सबैले गर्न सक्ने विधि हो ।

कुल देवता परिवर्तन गर्न सकिन्छ ?
कुल देवता परिवर्तन गर्न सकिँदैन । तर, इष्ट देवता परिवर्तन गर्न सकिन्छ । मानिसको शरीरलाई के गर्ने भन्ने कुल देवताको नै अधिकार भित्रको विषय हो । कुलले नराम्रो होस् भनेर कहिल्यौ चाहँदैन । कुल बिग्रिएमा सताउन सक्छ तर मार्न सक्दैन ।

हामीले कसलाई सम्झिने कुल देवता वा इष्ट देवता ?
हामीले इष्ट देवतालाई पहिले सम्झने दोस्रोमा कुल देवतालाई सम्झनु पर्दछ । पाप र पुण्यका आधारमा कुलमा जन्मने हो । मेरा लागि काली र कुल दुबै इष्ट देवता हुन् ।

हिलिङ के हो ?
आजकाल मानिसमा धेरै प्रकारका समस्या देखिने गरेका छन् । शारीरिक भन्दा पन मानसिक रोग हिलिङका माध्यमले निको हुन्छ ।

काली साधना के हो ?
देवी कालीको साधना भनेको काल (समय) भन्दा माथि उठ्ने प्रक्रिया हो । काली भनेको कालो शरीर भन्ने होइन । यो भनेको पर शक्ति हो ।

काली साधना गर्नेले मारण, मोहन, उच्चाटन, सम्मोहन गर्छन् भन्ने आरोप छ नि ?
काली साधना गर्ने मान्छेलाई रिस चाँडो उठ्छ । उनीहरुलाई सबैभन्दा प्रिय शक्ति काली हो । झुटो बोल्ने मान्छे काली साधकलाई मन पर्दैन । मारण, मोहन जस्ता विषय काली साधकलाई साधारण विषय हो ।

मानिस मार्ने अधिकार काली साधकलाई हुन्छ र ?
अधिकार छैन । मान्छे मार्न सक्ने साधक धेरै छैनन् । तपाईंसँग मोहनी लगाउने शक्ति छ भने देवतालाई मोहनी लगाउन सक्नु हुन्छ ? देवी देवतालाई पनि आकर्षक गर्न सक्यो भने मात्र देवीको साधक हो ।

काली साधना कसरी गर्ने ?
बिहान ४ बजे उठेर घिउको दियो जलाइ किरिम शब्दको उच्चारण गरेमा मात्र पनि विस्तारै साधना कसरी गर्ने भन्ने थाहा हुँदै जान्छ ।

नेपालमा साधकहरुको संख्या कति छन् ?
उच्च कोटीको साधक धेरै छन् । सबै गुप्त छन् । कसैले चिन्दैनन् । साधकले साधकलाई मात्र चिन्दछ । उनीहरुले आफूलाई चिनाउँदैनन् ।

साधना गर्नका लागि कुन देश उचित हो ?
भारतका उच्च कोटीका साधक पनि नेपालमा आएर साधना गर्ने गरेका छन् । विश्वका जुनसुकै देशका साधकले पनि नेपालमा आएर साधना नगरेसम्म उच्च कोटीको साधक बन्न सक्तैनन् । नेपालको ऊर्जा तेज युक्त छ । ऊर्जा जगाउने काम दतात्रय, गोरखनाथ, बज्रठिँगे, मछेन्द्रनाथ जस्ता योगीहरुले गरेका हुन् । यहाँको शक्ति एकदमै छिटो जाग्छ । जसले पायो त्यसैले यहाँको शक्तिलाई नियन्त्रण गर्न सक्तैनन् । भारतमा १२ वर्ष साधना गर्ने योगीलाई पनि नेपालमा आएर तपस्या नगरेसम्म सम्मान दिइँदैन। नेपाल तान्त्रिक भूमि हो । यहाँका देवीदेवता जागृत छन् । भारतको शक्ति बाँधिएको छ ।

भारतको शक्ति बाँधिएको भनेको के हो ?
शक्ति बाँधेकै कारण भारतलाई अर्को देशले गुलाम बनाएको हो । नेपालका धामी, झाँक्री, योगीहरुले बाँध्ने शक्तिलाई प्रवेश गर्नै दिएनन् । पहिला नेपालमा विदेशहरुलाई प्रवेश नै निषेध थियो । बहुदल आएसँगंै गाउँगाउँमा विदेशीले धर्म परिवर्तन गरिरहेका छन् । नेपालको विकास हुनुभन्दा पनि विनाश भइरहेको छ । हामीले पालेर राखेको शक्तिलाई गलत हो भनेपछि त्यसले मानिसलाई असर गर्छ । वरपरका व्यक्तिलाई पनि नराम्रो गर्दछ । जुन धर्मान्तरणले गर्दा भएको हो ।

यस्तो शक्ति भएको देशमा मानिस दुःखी र पीडित किन भइरहेका छन् ?
नेपालको शक्ति चलाउन नजानेर मानसले दुःख पाइरहेका छन् । शक्तिलाई बोलाएर जगाउन सकिन्छ । शक्तिप्रति विश्वास हुनु पर्दछ । यो शक्तिको प्रयोग गर्न नसकेका कारण मानिसले दुःख पाइरहेका छन् । नेपालमा विदेशमा पढेका र विदेशीले लेखेको किताब मात्र पढ्ने गरिएको छ । हाम्रो शक्तिलाई राम्रो होइन भन्ने मात्र भ्रम पारिएको छ । अक्सिजनको सहयोगविना हिमाल चढ्ने, थोरै सेना भएर पनि अंग्रेजलाई परास्त पार्ने दैवी शक्ति नेपालमा थियो । हामीले शक्ति प्रयोग गर्न छोडेका कारण दुःख भइरहेको हौँ ।

कसैले शक्ति जगायो भने देशको प्रधानमन्त्री बन्न सक्छ ? वा पूर्वजन्ममा लेखेर आएको हुन्छ ?
लेखेर पनि आएको हुन्छ होला । यो कुरा मलाई थाहा भएन । परिश्रम र परमात्मा मिलेर मानिस ठुलो हुने हो । कर्तव्य गर्दै जानु पर्दछ ।

सत्तामा मान्छे मार्नें, लुट्ने गलत क्रियाकलाप गर्ने मात्र छन् । यस्तो सन्दर्भमा असल अध्यात्म र कर्म गरेर मानिस सत्तामा जाला र?
एक पटक भाग्यले साथ दिएर सफल भएका हुन् । सधैँ सत्तामा रहँदैनन् । सही कर्म गर्दै जानुपर्दछ ।

गल्ती एउटाले गर्ने दुःख अरुले पाउने पनि हुन्छ ?
राजाले गल्ती गरेमा प्रजाले दुःख पाउँछन् । घरको मूलीले गल्ती गरे सबै परिवारका सदस्यले पाउँछन् । पदमा पुगेका व्यक्तिले शक्ति सदुपयोग गर्न नजान्दा सारा नेपालीले दुःख पाएका छन् ।

मानिसहरुमा तेस्रो नेत्र खुल्छ ?
यो असम्भव हो । वेद पुराणमा शिव परिवारमा मात्र तेस्रो नेत्र देखाइएको छ । शिव परिवार भनेको नाथ सम्प्रदाय हो । शिव, काली, दुर्गा, गणेश, कुमार, र कुमारीको मात्र तेस्रो नेत्र देखाइएको छ । दायाँ आँखालाई सूर्यको आँखा भनिन्छ । तेस्रो आँखा खुल्नका लागि १ सय १० डिग्री ज्वरो खप्नु पर्दछ । आगो निस्कनका लागि शरीर तातो हुनु पर्दछ । पञ्च महाभूतबाट माथि गइसकेका व्यक्तिबाट मात्र तेस्रो नेत्र खुल्दछ । लोभ, लालच, अहंकार, ईष्या भएका मानिसमा तेस्रो नेत्र खुल्दैन । ऋषिमुनीहरुको तेस्रो नेत्र खुलेको भन्ने सुनेको छु । तर, कसैको पनि तेस्रो नेत्र खुलेको भन्ने देखेको छैन ।

आध्यात्मिक बन्नका लागि के गर्नुपर्दछ ?
त्यसका लागि गुरुको जरुरी पर्दछ । गुरु खोज्नु पर्दछ । बिहान उठेर काली साधना गर्ने र कालीलाई पुकार गर्ने । अरु गर्न सकिँदैन भने कास्की काली, कास्की काली भनेर मन्त्र जप्ने गर्नु पर्दछ । म को हुँ ? म कहाँबाट आएको हुँ ? म अब कहाँ जान्छु भन्ने विषय जसले सोच्छ, त्यो व्यक्ति आफैँ आध्यात्मिक बनिन्छ ।

सुरुवात कहाँबाट र कसरी गर्ने ?
के के गर्ने भन्ने विषय भनेको प्रक्रिया हो । अध्यात्मलाई कुनै प्रक्रिया भनेर सिमित गर्न सकिँदैन । आत्मसँग जोडिएर कुनै पनि काम मन लगाएर गर्नु नै अध्यात्म हो । धार्मिक र अध्यात्मिकमा फरक हो । पूजापाठ गर्नु धार्मिक हो ।

कुण्डलिनी जागरण के हो ?
मेरुदण्डको सबैभन्दा तल सुतेर बसेको शक्तिलाई जागरण गर्नु नै कुण्डलिनी जागरण हो । त्यो शक्ति जागेपछि शरीरमा भएको अन्य शक्ति आउँछ । त्यो मुलाधार चक्रमा हुन्छ । जागृत हुनका लागि पृथ्वी तत्वलाई शिद्ध गरेको हुनुपर्दछ । कुण्डलिनी जागृत गर्नका लागि पृथ्वी जस्तै बन्न सकेको छ वा छैन ? सबै कुरालाई स्वीकार गर्न सक्नेको मात्र कुण्डलिनी जागृत हुन्छ । त्यसका लागि ३ घण्टासम्म शुद्ध आसनमा बस्न सक्ने हुनुपर्छ । पृथ्वीका सबै प्राकृतिक वा भौतिक वस्तुलाई प्रेम गर्न सक्नु पर्दछ । दतात्रेय जस्ता २४ ओटा गुरुको कुण्डलिनी जागृत भएको थियो । त्यस्ता कृण्डलिनी जागृहत गर्न सक्ने गुप्त रुपमा छन् । कुण्डलिनी जागेको मानिसलाई साधारण व्यक्तिले चिन्न सक्तैनन् । म कुण्डलिनी जगाउन सक्तिन । यो जगाउन २० वर्ष भन्दा बढी समय लाग्छ ।

अवचेतन मन र कुण्डलिनी एक अर्काका पुरक हुन् ?
हाम्रो शरीर नै चेतन र अवचेतन मनबाट बनेको छ । यी एक अर्काका पुरक हुन् । चेतन मनले एक पटकमा एउटा मात्र काम गर्न सक्छ । मोटरसाइकल चलाउनु अचेतन मन हो भने सँगै फोन चलाउनु अवचेतन मन हो ।

सम्मोहन के हो ?
सम्मोहनको सबैभन्दा पहिलो गुरु भगवान विष्णु हुन् । दानवहरुलाई सम्मोहन गरी अमृत ल्याउने काम विष्णु भगवानले गर्नुभएको थियो । भगवानले वृन्दा, राहुलाई पनि सम्मोहन गर्न सक्नु भएन । जबसम्म तपाईं आफैं सम्मोहित हुन चाहनु हुँदैन भने अरुले गर्न सक्तैनन् । मानसिक रुपमा कमजोर व्यक्ति मात्र सम्मोहित हुन्छन् ।

बजारमा आउने नयाँ वस्तुमा सम्मोहन गरिएको हुन्छ पनि भनिन्छ नि ?
त्यो होइन । बनाउने व्यक्तिलाई प्रयोगकर्ताको कमजोरी थाहा छ । त्यसको फाइदा उठाउँदै उनीहरुले नयाँ नयाँ वस्तु ल्याउने हुन् । मानिसको दिमागमा विज्ञापनको माध्यमबाट त्यो वस्तु लिनु पर्ने रहेछ भन्ने राख्ने हो । उनीहरुले कमजोरीको फाइदा लिएका हन्छन् । विज्ञान बुझेर प्रयोग गरेका हुन् ।

Source : https://newsofnepal.com/2024/11/12/677716/