अपडेट : पोखरीमा डुबेको कारबाट दुई जनाको शव निकालियो
काठमाडौं – सर्लाहीमा गुड्दागुड्दै पोखरीमा खसेर डुबेको कारबाट दुई जनाको शव निकालिएको छ । मंगलबार बिहान बयलवासबाट महोत्तरीको गौशाला जाँदै गरेको लु२च ६७५८ नम्बरको कार सर्लाहीकै ईश्वरपुर नगरपालिका-२ मियाँखोरस्थित पोखरीमा डुबेको थियो ।
सशस्त्र प्रहरीको उद्धार टोलीले साढे ८ बजे महोत्तरीको गौशाला नगरपालिका-१० का सुरेश महतो (चालक) र सोनमा गाउँपालिका-८ का रामाकान्त ठाकुरको शव पोखरीबाट निकालेको हो । गोताखोर टोलीले पोखरीमा डुबेको कार पनि भेटाएको छ ।
कारमा सवार गौशाला-२ का अन्दाजी ३१ वर्षीय जनक यादव पौडिएर बाहिर निस्किएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले बताए । कार अनियन्त्रित भएर सडक छेउमा रहेको सरस्वती उच्च माध्यामिक विद्यालयको पोखरीमा गएर डुबेको थियो ।
The post अपडेट : पोखरीमा डुबेको कारबाट दुई जनाको शव निकालियो appeared first on Samudrapari.