कान्तिलोकपथ आजदेखि पूर्ण सञ्चालनमा
ललितपुर ।
बाढी र पहिरोले गर्दा दश दिनेदेखि अवरूद्ध कान्तिलोकपथ आज बुधबारदेखि पूर्ण रूपमा सञ्चालनमा आउने भएको छ। फास्ट ट्रयाक बनाइरहेका नेपाली सेना र सडक विभागको एक साताको प्रयासपछि सो राजपथ सञ्चालन हुन लागिएको हो।
ललितपुरको टीकाभैरवबाट मकवानपुरको ठिंगन हुँदै हेटौंडा जाने सो मार्ग असोज ११ गते शुक्रवार र १२ गते शनिवार परेको अविरल वर्षापछि अवरुद्ध बनेको थियो। अविरल वर्षा र बाढीपहिरोले सडक तथा पुलहरू बगाएपछि यातायात सञ्चालन हुन सकेको थिएन।
लोकपथको विभिन्न खण्डमा पहिरो हटाउने काम भइरहेको र बुधबार बिहानसम्म पूर्ण रूपमा सडक सञ्चालन गरिसक्ने प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले जानकारी दिनुभयो। बाढी र पहिरोका कारण कान्ति राजमार्गमा १५ दशमलव ७५ मिटरको सिम्प्ली सपोर्टेट ब्रिज क्षति हुँदा आवतजावतमा समस्या भएको थियो।
बाढीका कारण पुल, सडक र पुलको निर्माणका लागि राखिएको पाइल ड्राइभिङ मेसिनलगायत अन्य मेसिनहरू र ८० टनको रेन्सफोर्समेन्टहरू पनि बगाएको थियो। मकवानपुर र ललितपुर जोड्ने बगुवाको वागमती पुलमा अस्थायी सडक बनाएर कान्तिलोकपथ सञ्चालनमा ल्याउन लागिएको हो।
त्यसपछि ८ सय मिटरको बाँध निर्माण गरी पानीलाई सडकमा आउन दिइएको छैन। ३ सय २० मिटर लम्बाइको नयाँ सडक ट्रयाक निर्माण गरी विकल्प तयार गरिएको थियो । त्यसै गरी करिब ४० मिटर लम्बाइको र्याम्प निर्माण गरी वागमती नदीमा अस्थायी सडक जोडेर पुलसम्मको कनेक्सन मिलाइएको छ। वागमती नदीमाथि अस्थायी सडक बनाउन ग्याबिन बक्स र ह्युमपाइप राखेर आवागमनमा सहजता प्रदान गरिएको विभागले जनाएको छ ।
सडक विभागका इन्जिनियर सीताराम बुढाथोकीका अनुसार वर्षापछि १५ दशमलव ७५ मिटरको सिम्प्ली सपोर्टेट ब्रिज क्षति भएको थियो । उहाँले भन्नुभयो– ‘सम्भवतः यो कुलेखानीको पानी पनि जोडिएर र अविरल वर्षाका कारण क्षति भएको हो । यसबाट पुलमात्रै क्षति भएन, कन्ट्याक्टरको एउटा नयाँ पुल सँगै डिजाइन एन्ड बिलको ठेक्का थियो, जुन ८२ मिटर लामो, ११ मिटर चौडाइको । त्यो पुलको निर्माणका लागि राखिएको पाइल ड्राइभिङ मेसिनलगायत अन्य मेसिनहरू र ८० टनको रेन्सफोर्समेन्टहरू पनि कन्ट्याक्टरको सबै बगाएर क्षति भएको छ ।’
ललितपुर र मकवानपुर जिल्ला जोड्ने कान्ति लोकपथमा विशेष गरेर बगुवाको पुलमा आधाभन्दा बढी क्षति गरेकाले आवतजावत असहज भएको प्रमुख जिल्ला अधिकारी श्रेष्ठको भनाइ रहेको छ। अहिले पुलमा साना सवारीहरू चलाउन सक्ने बनाइएको छ। टीकाभैरव, देवीचौर घुसेल क्षेत्रमा पनि यातायात शुरू गर्न लागिएको कार्यालयले जनाएको छ।
दलचोकीसम्म सडक पुगेको र अब शंखुसम्म पुर्याउनुपर्ने काम बाँकी रहेको कार्यालयले जनाएको छ। गोदावरी, कोन्ज्योसोम र महांकाल गाउँपालिकामा पूर्ण क्षति भएका घरहरू ६ सयदेखि ८ सय रहेका छन् । मृत्यु हुने ४० जनाभन्दा बढी मानिसहरू यी तीनवटै गाउँपालिकाका रहेका छन् ।
बेलिब्रिज निर्माण कार्यलाई तीव्रता
यही असोज १० गतेदेखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण अवरुद्ध रहेको कान्तिलोक थप नेपाली सेनाको पहलमा दुईतर्फी रूपमा खुलेको छ।
अति भारी वर्षाका कारण आएको बाढी तथा पहिरोका कारण मकवानपुरको, भीमफेदी गाउँपालिका–८ महादेवटार र ललितपुरको वागमती गाउँपालिका–२ बगुवास्थित वागमती खोलामा रहेको पुलको केही भाग बगाएपछि अवरुद्ध रहेको बाटो चालू भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। राजधानीबाट हेटौंडा जोडिने ६ वटा सडक अवरुद्ध रहेकोमा अब सबै सडक चालू भएको छ।
सेनाले अवरुद्ध रहेको २ स्थानमा करिब ८ सय मिटर बाटोमा बाँध निर्माण गरेर नदी डाइभर्सन तथा च्यानलाइज गरेको छ। त्यसै गरी बाढी र पहिरोले बगाएको ३ सय मिटरभन्दा लामो सडकमा नयाँ ट्रयाक निर्माण गरेको छ भने वागमती नदीमा करिब ४० मिटर लम्बाइको र्याम्प निर्माण गरी पुलसम्म सडक जोडेको पनि सेनाले जनाएको छ।
नेपाली सेनाले सुनकोशी नदीमाथिको पुल बगाएकोमा बेलिब्रिज निर्माणको जिम्मा लिएकोमा बेलिब्रिज निर्माणको कामलाई तीव्रता दिएको छ। सेनाले आउँदो विजया दशमीको दिनसम्म सञ्चालनमा ल्याउने तयारी गरेको नेपाली सेनाले जनाएको छ।
सरकारले अवरुद्ध रहेका दुई राजमार्ग चालू गर्न जिम्मेवारी दिएकोमा एउटा सञ्चालनमा आएको र अर्को राजमार्गको पुल पनि सञ्चालनमा आउने तयारीमा रहेको सेनाले जनाएको छ। बाढी र पहिरोबाट अवरुद्ध रहेका बीपी राजमार्ग सञ्चालनमा आउन भने केही समय लाग्ने बताइएको छ।