गाउँ डुलेर शहर छि-यो बोक्सीबिरुद्धको अग्नीदहन

काठमाडौं । बोक्सी कुप्रथाको बिरुद्ध केही वर्ष अघि लोकमणि पौडेलले उपन्यास ‘अग्नीदहन’ लेखेका थिए । यो उपन्यासलाई उनले पुस्तकमा मात्र सिमित राखेनन् । आफन्तहरुको सहयोगमा यसलाई उनले चलचित्र ‘अग्नीदहन’को रुपमा समेत तयार पारे । उनलाई यो चलचित्र निर्माणमा बोक्सी कृप्रथा विरुद्धको अभियानकर्ता कोविदशरण उपाध्यायले सघाए । यही चलचित्र ७ मँसिर शुक्रबारबाट मुलुकका चलचित्र घरमा रिलिज हुँदैछ ।

यो चलचित्र पाँच वर्ष अघि नै निर्माण भएको हो । चलचित्रलाई निर्माता उपाध्यायले सुरुमा सिनेमा घरमा ल्याएनन् । उनको उदेश्य भनेको गाउँ गाउँमा चलचित्र देखाएर बोक्सी कुप्रथा बिरुद्ध जनचेतना जगाउनु थियो । सो अभियन’bout यो चलचित्र निर्माता उपाध्ययले सोमबार पत्रकार भेटघाटका क्रममा भने,‘चलचित्र निर्माण भएको पाँच वर्षमा बल्ल हलमा ल्याउनुको कारण हामीले अग्नी दहनलाई गाउँतिर देखाईसकेर शहर ल्याएका हौं । किनकी चलचित्र अग्नीदहनलाई यसअघि नेपाल र भारतका गाउँ गाउँमा पुगेर हामीले करिब ४०० शो प्रदर्शन गरिसकेका छौं ।’

यसरी यो चलचित्रलाई नेपालको तराई क्षेत्रका धेरै गाउँ र विहारका दर्जनौं गाउँमा पटक पटक सार्वजनिक प्रदर्शन पनि गरेको उनले बताए,‘चलचित्रको उदेश्य सामाजिक चेतना थियो ।’ त्यसैले आफुहरुले कतीपय ठाउँमा दर्शकले चलचित्र हेरेर मनखुसी दिएको पैसामा पनि चित्त बुझाएको र कतिपय दर्शकबाट पैसा समेत नलिएको पनि उनले बताए ।

केही महिना अघि केकी अधिकारीको चलचित्र बोक्सीको घर हलमा रिलिज भएको थियो । यो चलचित्रले १० करोड भन्दा माथिको ग्रस व्यापार समेत गरेको थियो । सो चलचित्रको व्यापारले समेत प्रभावित भएर अग्नीदहनका निर्माताहरुले यसलाई यतिबेला रिलिज गर्न लागेका रहेछन् ।

यो चलचित्रका निर्देशक घनश्याम लामिछानेका अनुसार अग्नीदहनलाई नेपाली, हिन्दी, भोजपुरी र मैथली गरी ४ भाषामा निमार्ण गरिएको छ । यो चलचित्रलाई तराई र विहारका विभिन्न स्थानमा मैथली र भोजपुरी भाषामा ठाउँ ठाउँमा पुगेर प्रदर्शन गरिएको छ । अब यो चलचित्रलाई चलचित्र घरमा प्रदर्शन गरेपछि फेरी बाँकी गाउँहरुमा पनि देखाउने लक्ष्य आफुहरुको रहेको पनि निर्देशक लामिछानेले बताएका छन् ।

यो चलचित्रका लेखक तथा सँरक्षक लोकमणि पौडेलले पनि बोक्सी बिरुद्धको अभियानमा चलचित्रको टोली धेरै ठाउँमा सफल भएको बताएका छन् । बोक्सीको नाममा ज्यादती दिइएको थुप्रै गाउँमा पुगेर यो चलचित्र देखाउँदै आफुहरुले बोक्सी हुन्न भनेर उनीहरुलाई प्रस्ट्याएको पनि पौडेलले बताएका छन,‘अग्नीदहन चलचित्र व्यावसायमात्र नभएर यो सामाजिक अभियान पनि हो । यसले दर्शकलाई मनोरञ्जन दिनुका साथै एउटा ठुलो सन्देश पनि दिनेछ ।’ पौडेलले भने,‘मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठानले यो चलचित्र निर्माण गरेको हो । नेपाली समाजबाट बोक्सी कुप्रथा निर्मुल गर्नु हामीसबैको दायित्व हो भन्ने मलाई लाग्छ ।’

‘अहिले पनि हाम्रो समाजमा बोक्सीको आरोपमा कुटपिट गर्ने, मलमूत्र खुवाउने, सामाजिक वहिष्कार गर्ने थुप्रै घटनाहरु छन् । सो घटनामाथि यो चलचित्र केन्द्रित रहेको छ ।’ यो चलचित्रमा बोक्सीको आरोपमा पीडित पात्रको भूमिका निर्वाह गरेकी प्रमिला तुलाचानले बताईन्,‘बोक्सी हुन्न भन्नेकुरा हामीले यो चलचित्रमार्फत दर्शकलाई प्रस्ट्याउन खोजेका छौं ।’ उनले भनिन् ।

सामाजिक सन्देशका लागि निर्माण भएकोले यो चलचित्रमा अभिनय गरेबापत कलाकारहरुले जम्मा १ रुपैयाँ पारिश्रमिक लिएको अनुभव पनि कलाकारहरुले सुनाएका छन् । चलचित्रमा पीडित वुहारीको भूमिका निभाएकी गायिका तथा अभिनेत्री तुलसा क्षत्रीले भनिन्,‘चलचित्र छायाँकनको क्रममा सिस्नोपानीले हान्नेदेखि पुन्युले डाम्ने पीडितको अभिनय गर्न त मलाई गाह्रो भयो । यस्तो घटनाबाट पीडितले झन कतीधेरै सास्ती भोग्नु प¥यो होला ।’ जुनकुरा कल्पना गर्दा पनि ज्यान सिरिँग हुने तुलसाले बताईन् ।

यो चलचित्रको पटकथा र संवाद पनि लोकमणि पौडेलले लेखेका हुन । चलचित्रमा कलाकार प्रकाश घिमिरे, प्रमिला तुलाचान, मोहनराज पौडेल, अनुपमा भण्डारी,तुलसी क्षत्री, बिष्णु बास्तोलासहितको अभिनय रहेको छ । चलचित्रलाई हेटौंडा, चितवन, पोखरालगायतको स्थानमा छायाँकन गरिएको थियो ।

The post गाउँ डुलेर शहर छि-यो बोक्सीबिरुद्धको अग्नीदहन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/104049/