तिहारमा भाइ मसलाको भाउ छोइनसक्नु
काठमाडौं ।
तिहारको भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई उपहारस्वरूप दिने (ड्राइ फ्रुट्स) नरिवल, काजु, बदाम, ओखर, मिश्री, दालचिनी, किसमिस, पिस्ता मिश्री भाइमसलाको मूल्य अचाक्ली बढाएका छन्।
सीमित व्यापारीले यस्ता सामान ल्याउने आफूखुसी बेच्ने गर्दा मूल्य बढेको हो। जसका कारण अनुगमन प्रभावकारी नहुँदा उपभोक्ता ठगिएका छन्।
नेपाल खुद्रा व्यापार संघका अध्यक्ष पवित्रमान बज्राचार्यले २० प्रतिशतसम्म भाइमसलाको मूल्य बढेको बताउनुभयो। उहाँले भाइ मसला धेरै बिक्ने बेलामा थोक व्यापारीले मनलाग्दी मूल्य लिने गरे पनि सरकारी अनुगमन सुस्त रहेको बताउनुभयो।
रामेछाप स्थायी घर भई काठमाडौंको वसन्तपुर क्षेत्रमा विगत १५ वर्षदेखि खुद्रा व्यापार गर्दै आएकी सरस्वती गौतमले भाइ मसलाको अघिल्लो वर्षको तुलनामा अत्यधिक मूल्य वृद्धि भएको बताउनुभयो । उहाँले होलसेल व्यापारीले तिहार अगाडिसम्म अघिल्लो वर्षकै मूल्यमा मसला दिए पनि एकाएक तिहार नजिकिँदै गर्दा मूल्य बढेको बताउनुभयो।
उहाँका अनुसार दशैं अगाडि १ हजार २ सय ५० मा पाउने बदाम अहिले १ हजार ७ सय पुगेको छ । ८ सयमा पाउने मखाना १ हजार ९ सय पुगेको छ। यसै गरी १ हजार ६ सयमा पाउने काजु २ हजार १ सय ५० पुगेको छ । नरिवल, पेस्ता, किसमिस, छोकडालगायत भाइमसला अत्यधिक बढेको गौतमले बताउनुभएको छ ।
अनुगमनको जिम्मा पाएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देश्क राजन पौडेलले तिहारका बेला भएको मूल्यवृद्धि रोक्न भन्दै बत्तीजन्य वस्तु, रङ, डेरीजन्य वस्तुलक्षिक अनुगमन गरिरहेको बताउनुभयो । उहाँले आज मंगलबारबाट होलसेल पसलमा तीव्र अनुगमन गर्ने बताउनुभयो ।
तिहारमा बढी मसला बिक्री हुने भएकाले कतिपय व्यापारीले मौका यही हो भन्दै आफूखुसी मूल्य बढाउँदा दिदीबहिनी निराश भएका छन् । वसन्तपुरमा भाइ मसला खरिद गर्न पुगेकी सीता खड्काले भाइ मसला कसरी किन्ने भन्ने अन्योल भएको बताउनुभयो । उहाँले अघिल्लो वर्षको तुलनामा यस वर्ष अत्यधिक मूल्य वृद्धि हुँदा पनि सरकार राजनीतिमा गर्नमै व्यस्त रहेको आरोप लगाउनुभयो ।
पुरानो स्टकमा रहेका अखाद्य र सस्तो प्रकारका मसलासमेत नयाँमा मिसाएर बेच्ने गरेको काठमाडौं वसन्तपुरका रवि महर्जनले बताउनुभयो । उहाँले भाइ मसला ल्याउने सीमित व्यापारी भएको हुनाले खुद्रा व्यापारीले नराम्रो भए पनि लिनुपर्ने बाध्यता रहेको बताउनुभएको छ। उपभोक्ता अधिकारवादीका अनुसार निश्चित व्यापारी भएको हुनाले सिन्डिकेट गरेर सामान बिक्री भइरहेको बताउँछन्।
नेपालमा भाइमसलाजन्य भारत, चीन, भियतनाम, अमेरिका, इन्डोनेसिया, थाइल्यान्डलगायतका देशबाट आयात हुने गरेको छ । भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको तीन महिनामा १ अर्ब २० करोड ८१ लाख रुपियाँ बराबरको भाइमसला आयात भएको जनाएको छ ।