दशैं लक्षित चौपायाको स्वास्थ्य कस्तो छ ? सिङमा हरियो छ भने किन्नुस् नभए नकिन्नुस्
काठमाडौं ।
पशुसेवा विभागले ५ दिनमा करिब १० हजार पशुपंक्षीको स्वास्थ्य परीक्षण गरेको छ । दशैंमा राजधानीबासीलाई स्वस्थ मासु खुवाउनुअघि विभागले चौपाया र दोपायाको स्वास्थ्य परीक्षण शुरू गरेको हो । विभागले उपत्यकाका १० स्थानमा करिब सय जनाको टोलीले चौपाया र दोपायाको स्वास्थ्य परीक्षण गरेको हो ।
घटस्थापनादेखि शुरू भएको स्वास्थ्य परीक्षण नवमीसम्म चल्नेछ । विभागका पशु विकास अधिकृत सीताराम ओलीले १० स्थानमा खसी, बोका बाख्रा, राँगाभैंसी, भेडा, च्याङ्ग्रा, हाँसकुखुरा र माछाको स्वास्थ्य परीक्षण जारी राखेको जानकारी दिनुभयो। विभागले क्लस्टर छुट्याएर परीक्षण जारी राखेको अधिकृत ओलीको भनाइ छ।
उहाँका अनुसार कलंकी, टुकुचा र खाद्य संस्थान, धापाखेल–चापागाउँ, टोखा, कपन, सुकेधारा, बालाजु बाइपास, लोकन्थलीमा खसीबोका र बाख्राको स्वास्थ्य परीक्षण जारी राखेको छ । त्यस्तै, दक्षिणकालीको चाल्नाखेलमा राँगा–भैंसी, सल्लाघारीमा च्याङ्ग्रा र भेडा, बल्खु कालीमाटीमा माछा, कुखुरा र हाँसको स्वास्थ्य परीक्षण जारी राखेको छ ।
चाडबाडमा उपत्यकावासीलाई स्वस्थ मासु खुवाउन चौपाया र दोपायाको मासु प्रयोग गर्न सबै क्षेत्रमा स्वास्थ्य परीक्षण शुरू गरेको विभागको भनाइ छ । विभागको पशु क्वारेन्टाइन महाशाखा प्रमुख वरिष्ठ पशु चिकित्सक डा.राजेश यादवका अनुसार १७ देखि २० गतेसम्म करिब १० हजारको स्वास्थ्य परीक्षण गरेको हो ।
उहाँका अनुसार पछिल्लो तथ्यांकअनुसार ५ हजार ६ सय ११, खसी, ३ सय ३७ बोका, १२ वटा बाख्रा, २ सय ८३ भेडा, १ हजार ८ सय ३७ च्याङ्ग्रा, ९५ राँगा–भैंसी, ३ सय १३ हाँस–कुखुराको स्वास्थ्य परीक्षण गरिसकेको छ। उक्त तथ्यांकमा माछा समावेश छैन । हालसम्म करिब ४५ मेट्रिक टन माछा खान योग्य भए नभएको विषयमा स्वास्थ्य परीक्षण गरिसकेको छ।
आइतबारमात्र करिब २ हजार चौपाया र दोपायाको स्वास्थ्य परीक्षण सम्पन्न भएको वरिष्ठ पशु चिकित्सक डा. यादवले बताउनुभयो । यसअघि दशैंमा पशुपंक्षीको स्वास्थ्य परीक्षण गर्न स्थानीय तहले अग्रसरता देखाउने गरेका थिए । यो वर्ष संघ सरकारबाटै परीक्षण जारी राखेको छ।
विभागले जुनक्षेत्रबाट जस्तो पशु चौपाया आउँछन्, सोहीअनुसार स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाएको छ । थानकोटमा सबै प्रकारका चौपायाको स्वास्थ्य परीक्षण गरिरहेको छ । विभागका पशु विकास अधिकृत ओलीले सानो बिक्री केन्द्रमा ४ जना र ठूलोमा १० जनासम्मको टोलीले स्वास्थ्य परीक्षण जारी राखेको जानकारी दिनुभयो ।
पशुचिकित्सकसहितको टोलीले बिक्री केन्द्रमा स्वास्थ्य परीक्षण गरी स्वस्थ चौपायाको सिङमा हरियो र अस्वस्थको सिङमा रातो लगाउने व्यवस्था गरेको छ । सिङमा हरियो लगाएको खानयोग्य स्वस्थ र रातो लगाएको चौपायाको तत्काल खान अयोग्य वा अस्वस्थ भनी प्रमाण दिने गरेको छ ।
पशु विकास अधिकृत ओलीले सिङमा रातो लगाएको चौपायालाई बिक्रीकक्षमै तयार भएको आइसोलेसन सेन्टरमा राखेर उपचार गर्ने व्यवस्था मिलाएको जानकारी दिनुभयो । सिङमा रातो लगाएको चौपायालाई सम्भव भएसम्म उपचार गरी पुनः बिक्री गर्न मिल्ने व्यवस्था गरेको छ ।
कामपाका कृषि तथा पशुपंक्षी विकास प्रमुख नूरनिधि न्यौपानेले यो वर्ष संघ सकारले दशंैलक्षित पशुचौपायाको स्वास्थ्य परीक्षण भइरहेको बताउनुभयो । कामपाले अघि अनुगमन गर्नु एक महिनाअघि करिब साढे ३ सय मासु व्यापारी र बिक्रेतासँग अन्तक्र्रिया गरेको र तालिम दिएको थियो ।
विभागले उपत्यकामा भित्रिने चौपायाको सिङमा हरियो रङ लगाएको चौपाया खान योग्य भएको सिफारिस गरेपछि मात्र खरिद गर्ने व्यवस्था गरेको जनाएको छ। विभाग भन्छ– ‘सिङमा हरियो लगाएको खसीबोका मात्र किन्नुहोस्, रातो लगाएको अस्वस्थ हो नकिन्नुस्।’