पाठक पत्र: नागरिकता त्याग्नेलाई नेपालको के माया ?

हामी विदेश किन जान्छौं ? विदेशीहरु नेपाल किन आउँछन् ? अवश्य पनि घुम्न, नयाँ कुरा हेर्नका लागि । प्रायजसो मुलुकले पर्यटन क्षेत्रलाई विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत बनाएका छन् । नेपाली संस्कृति, सम्पदा हेर्न विभिन्न मुलुकबाट विदेशीहरु आउँछन् । सम्पदा क्षेत्रमा भ्रमण गर्न जान उनीहरुले सेवाशुल्क तिर्छन् ।

नेपालीहरु विभिन्न मुलुक पुगेका छन् । रोजगारी र शिक्षाका लागि हजारौं नेपाली अमेरिका, अस्ट्रेलिया, युरोप, क्यानडालगायतका मुलुकमा छन् । विकसित मुलुकमा रहेका नेपालीहरुले यहाँको नागरिकता त्याग्छन्, त्यहीँको नागरिकता लिन्छन् । नेपाली नागरिकता त्यागेपछि उनीहरु विदेशी नै भए । उनीहरु केही दिन या महिनाको भिसा लगाएर नेपाल आउँछन्। विभिन्न सम्पदास्थल भ्रमणमा जान्छन् । विदेशी नागरिक भइसकेका उनीहरुबाट सेवाशुल्क किन नलिने ? नेपाली अनुहार छ, नेपाली बोल्न जानेको छ भन्दैमा किन छुट ?

आफ्नो मर्जीले नेपाली नागरिकता त्यागेकाहरुले अन्य विदेशीझैँ सरकारलाई राजस्व तिर्नुपर्ने हो । तर, यहाँ आएर पनि राजस्व छल्छन् । आवश्यक पर्‍यो भने पुरानो नागरिकता देखाइदिन्छन्, सकियो । नेपाली नागरिकता त्यागिसकेकालाई नेपालको संविधानले चिन्दैन । उनीहरुले नागरिकता खारेजीका लागि सिडियो कार्यालयमा दिएको निवेदनमा तोक लगाएर गृह मन्त्रालय पुगेपछि नागरिकता खारेज गरिन्छ ।

नागरिकता खारेज गरेको पत्र दिएपछि अर्को मुलुकले त्यहाँको नागरिकता दिन्छ । नेपालमा जन्मिने, पढ्ने, हुर्किने अनि विदेश लाग्ने । विदेश जाँदा यहाँको लाखौं रुपियाँ लैजाने । त्यहाँ गएर काम गर्ने, अर्काको देशलाई समृद्ध बनाउने । नेपाली नागरिकता त्याग्ने, नेपाल आउँदा भिजिट भिसा लगाएर आउने अनि विभिन्न जिल्लामा घुम्न जाँदा म नेपाली भन्ने ?

राजस्व छल्नकै लागि नेपाली हो भनिदिने ? तिनीहरुलाई लाज लाग्नुपर्ने हो । पैसा तिर्न नपरोस् भनेर आफूलाई नेपाली बताइदिने। नेपाली कानुनले नचिन्ने व्यक्ति कसरी नेपाली ? झुट बोल्ने पनि एउटा हद हुन्छ । जुन दिन उनीहरुले नेपाली नागरिकता खारेजीको निवेदन दिन्छन्, त्यस दिनदेखि उनीहरुको नेपाली भन्ने अधिकार खोसिन्छ ।

नेपालमा उनीहरुको कुनै हैसियत नै हुँदैन । नेपालीहरु यस्ता छन् कि, नागरिकता चाहिँदैन तर सम्पत्ति चाहिन्छ । आफ्नो बाउबाजेको सम्पत्ति बेचेर आफू नागरिक बनेको देशमा लगेर घर किन्छन्। त्यहाँ बसेर नेपाललाई गाली गर्छन्– नेपाल फोहोर देश हो, नेपाल विकासमा पछाडि पर्‍यो। त्यहाँको राजनीतिक दल कामै छैन, त्यहाँ बसेको भए हाम्रो सन्तानको भविष्य सकिन्थ्योसम्म भन्छन् । त्यस्ता मान्छे यहाँ किन आउनुपर्‍यो ? संयुक्त राष्ट्र संघको ७९ औं महासभामा भाग लिन पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई त्यहाँका नागरिकले कालो झन्डा देखाए । उनीहरुले कालो झन्डा देखाउन मिल्छ ? के हैसियतले उनीहरुले कालो झन्डा देखाए ? उनीहरु को हुन् ? आफू केही नसक्ने, परिस्थितिबाट भाग्ने, सुखसयलको लागि नागरिकता त्याग्ने अनि यहाँको प्रधानमन्त्रीले केही गरेनन् भनेर कालो झन्डा देखाउने ?

नेपालको प्रधानमन्त्रीलाई कालो झन्डा देखाउन नेपाली जनता बाँकी छन् । उनको विरोध नै गर्न परेछ भने पनि नेपालीले गर्छन् । विदेशीलाई नेपालको प्रधानमन्त्रीको विरोध जनाइरहन कुनै आवश्यकता छैन । आँट हुने मान्छे मैदानमा उत्रिन्छ, नकि विदेश भाग्छ । परिवर्तन त आफूबाट हुने हो । आफू परिवर्तन गर्न नखोज्ने अनि आरोप मात्र लगाउने । उद्योग व्यवसाय सञ्चालन गर्ने, राजस्व नतिर्ने । सरकारी जागिर खाने, भ्रष्टाचार गर्ने । सरकारी जग्गा, गुठीका जग्गा दर्ता गरेर व्यक्तिगत सम्पत्ति जोड्ने अनि सन्तान लाखौं रुपियाँ खर्च गरेर विदेश पठाउने । बाउआमाले गलत काम गरेर कमाएको पैसामा विदेश पुगेकाहरु त्यहाँ बसेर नेपाललाई गाली गर्ने । नेताहरु यस्ता–उस्ता भन्ने ।

आफू कसरी त्यहाँसम्म पुगेँ ? बाउआमाले त्यत्रो पैसा कसरी ल्याए ? पहिले त्यसको मूल्याङ्कन गरौं । नेपाल स्वाहा पारेर विदेश पुग्ने अनि धाक देखाउने धेरै छन् । पछिल्लो समय विकसित मुलुक कालो धनलाई सेतो धन बनाउने ठाउँ बनेको छ । छोराछोरी विदेश पठाउने अनि भ्रष्टाचार गरेको पैसा उनीहरुले कमाएर पठाएको भन्ने ।

खाडी मुलुकमा गएकाको देशमा धेरै योगदान छ । विकसित मुलुक गएकाले त झन् नेपाललाई खोक्रो बनाएका छन् । खाडी मुलुक छिरेकाहरुले त्यहाँ रोजगार गर्छन् । दिनरात नभनीकन काम गर्छन् । रेमिट्यान्स पठाउँछन् । त्यही पैसाले नेपालको अर्थतन्त्र चलिरहेको छ । उनीहरु फर्किन्छन् पनि । केही वर्ष काम गरेपछि नेपाल फर्किएर यतै काममा लाग्छन् । आफ्नो परिवार पाल्छन् । तर, विकसित मुलुक पुगेकाहरुले कमाएर पठाउनु त परको कुरा, यहाँ भएको पनि बेचेर लैजान्छन् । तिनीहरुका बुबाआमालाई अन्तिम समयमा हेर्ने कोही पनि हुँदैन ।

विकसित मुलुक पुगेकाहरुले गएपछि मात्र होइन, फर्किएपछि पनि नेपाललाई खोक्रो बनाउँदा रहेछन् भन्ने त पुष्टि भइसकेको छ। उदाहरण त सबैको आँखासामुन्ने नै छन्, रवि लामिछाने । २०५८ सालमै अमेरिका पुगेका उनी २०७१ सालमा फर्किए। देशमा राजनीतिक परिवर्तनका लागि लडाइँ चलिरहँदा अमेरिका पुगेका उनले उतैको नागरिकता लिए ।

पछि भिजिट भिसामा आएका उनले कानुनलाई नै चुनौती दिने काम गरे । उनी नेपाल फर्किएपछि दुईजनाको ज्यान गयो। पत्रकार शालिग्राम पुडासैनी र उनका ड्राइभर मरे । चितवन निर्वाचन क्षेत्र नम्बर २ मा पटकपटक चुनाव गराउनुपर्ने भएको छ। दुईचोटि चुनाव गराइसक्यो, अब फेरि चुनाव गर्नुपर्ने देखिएको छ। पटकपटक चुनाव जनताले तिरेको कर स्वाहा भएको छ। त्योभन्दा पनि ठूलो लाखौं बचतकर्ताको करोडौं रुपियाँ झ्वाम्म पारिदिए । राजनीतिक परिवर्तनमा रविको कुनै पनि योगदान थिएन । तर, उनलाई नै जिताए । देशको नागरिकता त्यागिसकेको व्यक्तिलाई देशको माया हुन्छ ?

विडम्बना, यो कुरा चितवनका जनताले बुझेनन् । जसको नोक्सानी लाखौंले भोग्नुपरेको छ । विकसित देश छिरेकाहरुको दाउ नै नेपाल खोक्रो बनाउनु हो । आफू त देश कंगाल बनाउँछन् नै, अरुलाई पनि प्रोत्साहन गर्छन् । नेपाल छोड, त्यहाँ बसेर के गर्छौ, यहाँ आओ भन्ने, यहीँ केही गर्छु भन्ने सोच भएकालाई पनि निरुत्साहन गर्ने ।

एउटा उखान छ, ‘बाँदरले आफ्नो घर पनि बनाउँदैन, अरुलाई पनि बनाउन दिँदैन ।’ तिनीहरु त्यस्तै हुन्छन् । आफू त केही गर्न सक्दैनन्, अनि अरुलाई पनि निरुत्साहन गर्छन् । पछिल्लो समय छोराछोरी अमेरिका, अस्ट्रेलिया भएकाहरुको धाक एकदमै धेरै छ। मेरा छोराछोरी यहाँ छन्, यति कमाइ छ भन्छन् । अनि चार हजार भत्ता लिनचाहिँ वडा पुग्छन् । पेन्सन लिन बैंकमा जान्छन्। घरभाडामा लाउने, घरबहाल कर नतिर्ने । छोराछोरी पनि राज्यलाई ठग्ने, बाउआमा पनि ठग्ने । अरुले तपाईं भनोस्–नभनोस्, आफैं मपाईं भन्नेहरुलाई किन चाहियो भत्ता ? छोराछोरीले कमाएकै होलान् त ।

यहाँ जम्मै देशलाई केही नदिने, थुत्ने मात्रै भए । एउटा भारी बोक्नेले दिनभर भारी बोक्छ, राज्यलाई कर तिर्छ, आफ्नो पेट पाल्छ। देशप्रति त भारी बोक्नेहरु इमानदार छन्। नेपालको बदनाम त गर्दैनन्। जस्तो भए पनि मेरो देश हो भन्छन्। देशप्रति गर्व गर्छन्। भोलि देशमा केही संकट आयो भने उनीहरु सडकमा आउँछन्।

त्यो अस्ट्रेलिया, अमेरिकामा बसेकाहरु हामीलाई किन चाहियो ? न हिजो हामीलाई उनीहरु चाहियो, न भोलि चाहिन्छ । यहाँ जति छन्, अप्ठेरो घडीमा उनीहरुले नै गर्छन् । त्यसैले बाहिर बसेर नेपालको कुरा काटिरहन कसैलाई आवश्यकता छैन । छोराछोरी अमेरिका, अस्ट्रेलिया भएकाका बाउआमालाई भत्ता पनि नदिऔं, पेन्सन पनि नदिऔं ।

महिनाको लाखौं रुपियाँ कमाउनेका बाउआमालाई किन भत्ता र पेन्सन दिइरहनुपर्‍यो ? नागरिकता त्यागेकाले यहाँबाट सम्पत्ति लैजान नपाउने कानुन बनाऔं । नागरिकता नचाहिनेलाई सम्पत्तिको चाहिँ लोभ !
– अनुसा थापा, भक्तपुर ।

Source : https://newsofnepal.com/2024/10/03/671526/



Related Posts