भक्तपुरका कुमाले समुदायलाई पाला बनाउन भ्याई नभ्याई
भक्तपुर ।
तिहार नजिकिएपछि भक्तपुरमा माटोका भाँडा बनाउँदै आएका कुमाले समुदायलाई यतिखेर दीपावलीका लागि चाहिने माटाका पाला बनाउन भ्याईनभ्याई भएको छ । मागअनुसारको पाला बनाउन भक्तपुरको बोलाछेँ, तालाको, च्यामासिंह, जगाते, सूर्यविनायक, कमलविनायक, थिमिको नगदेश, बोडे, चपाचो, पाँचोलगायतका क्षेत्रका प्रजापतिहरूलाई भ्याईनभ्याई भएको हो।
भक्तपुर र थिमिमा उत्पादन भएको पाला भक्तपुर, काठमाडौं, पोखरा, नुवाकोट, नेपालगञ्ज, भैरहवा, काभ्रे, जिरी, दोलखालगायतका विभिन्न जिल्लामा खपत हुने गरेको छ। हरेक वर्ष व्यापारीले तिहार अघि नै आएर अर्डर दिएर गएका पाला बनाउने र आफूले खुद्रा बिक्री गर्न पनि पाला बनाउने गरेका छन्।
तिहार नजिकिँदै गएको र अर्डरअनुसारको पाला, धूपौरो दही राख्ने ठेकी बनाउन पनि भ्याईनभ्याई भएको भक्तपुर नगरपालिका–१२ पोटरीस्क्वायरका विनोद प्रजापतिले बताउनुभयो। अन्य समयमा माटाका भाँडाहरू फाटफुट बिक्री हुने गरेको भए पनि तिहारको समयमा भने धेरै नै बिक्री हुने गरेको छ। पाला बनाउने प्रजापतिको संख्या घटेपछि पेसा अंगाल्दै आएकाहरूलाई भने पाला बनाउन भ्याईनभ्याई भएको हो।
पछिल्लो समय तिहारमा बत्ती बाल्नकै लागि विद्युत् बत्तीको मागसमेत उच्च हुने गरेको छ तर तिहारमा बिजुलीका रंगीचंगी बत्ती बालेर झिलीमिली पार्ने गरे पनि अनिवार्य रूपमा दियो पनि बाल्नुपर्ने परम्परा भएकाले तिहारमा वर्षेनी पालाको माग बढ्ने गरेको व्यवसायीहरू बताउँछन् ।
केही वर्षअघि मैनबत्ती बाल्ने प्रचलन देखिए पनि दियोजस्तो सुरक्षित नभएपछि मैनबत्ती बिस्तारै विस्थापित हुँदै गएकाले पालाको माग बढेको पाला व्यापारी विवेक प्रजापति बताउनुहुन्छ । विभिन्न आधुनिक विद्युतीय झिलिमिली बत्ती र मैनबत्तीको दाँजोमा सुरक्षा, धार्मिक तथा साँस्कृतिक दृष्टिकोणले पालालाई अत्यन्तै उत्तम र पवित्र मानिने भएकाले बजारमा यसको माग बढेको हो।
कुमालेहरूले तयार भएको पाला होलसेल व्यापारीहरूलाई बिक्री गरिन्छ। होलसेल व्यापारीहरूले केही मुनाफा खाएर काठमाडौं उपत्यकाका विभिन्न स्थानका खुद्रा बिक्रेतामार्फत् उपभोक्तामाझ पुर्याउने गरेका छन्। भक्तपुर र थिमीमा झन्डै तीन सयभन्दा बढी घरपरिवार कुमाले माटोको भाँडा बनाएदै आएकोमा अहिले विस्थापित हुँदै करिब १५० घरपरिवारमा सीमित भएका छन्।
पोटरी स्क्वायरमा माटोको भाडा बनाउने ९९ परिवारको प्रजापति समुदाय रहेको यस ठाउँमा भूकम्पपछि भत्किएका घर छाडेर अन्यत्र बसाइँ सरेपछि अहिले माटोको भाँडा बनाउनेहरू करिब ४० घरमा सीमित भएको उहाँले बताउनुभयो । भारतबाट आउने पाला, प्लास्टिकका पाला र विद्युतीय पालाले माटोको पालाको अर्डर पहिलाको तुलनामा कम आएको बताउँदै उहाँले भक्तपुरमा पाइने माटो अहिले साँखुबाट ल्याउनुपरेको बताउनुभयो ।
विश्वमै चर्चामा रहेको र नेपाल आउने पर्यटकको आकर्षणको केन्द्र रहेको छ कुमालेको माटोको भाँडा बनाउने पेशा । दीपावलीको अवसरमा मैन बाल्ने प्रचलन व्यापक भए पनि विगतका केही वर्ष यता माटोको पालामा मैन भरेको पाला बाल्ने क्रम पनि बढेको छ । सुरक्षाको दृष्टिकोणले समेत पाला उत्तम मानिने गरिन्छ ।
थोरै भाँडा बनाउनेले पनि तिहारमा एक लाखभन्दा बढी आम्दामी गर्ने गरेको र बाहिरबाट आएको अर्डर लिएर भाँडा बनाउनेले तिहारमा मात्र पाँच लाखसम्म आम्दानी गर्ने गरेको उनीहरू बताउँछन्। ‘तिहार आइसक्यो माटोको पाला, भिउँट, धुपौरोको थुप्रै अर्डर आएको छ, तिहारमा सामान जसरी पनि दिनुपर्छ। अहिले भ्याईनभ्याई छ’ पुर्खाले वर्षौंदेखि गर्दै आएको पेसालाई अंगाल्दै १७ वर्षदेखि माटोको भाँडा बनाउँदै आउनुभएका स्थानीय तालाको पोर्टरी स्क्वायरका ३९ वर्षीय विनोदकुमार प्रजापतिले बताउनुभयो ।
तीन वर्ष अगाडिसम्म तिहारमा सयवटा पालाको ९० रुपियाँदेखि ११० रुपियाँसम्म बिक्री हुने गरे पनि यस वर्ष भने पालाको पनि मूल्य बढेको छ। यस वर्ष व्यापारीलाई होलसेलमा प्रति पाला २ मा बिक्री गरेको र खुद्रा भने ४ मा बिक्री गरेको छ। सरकारले इलेक्ट्रिक चुलोको व्यवस्था गरिदिए सहज हुने व्यवसायीको भनाइ छ । माटोको चर्को मूल्य र अभावले पेसा नै संकटमा पर्ने अवस्था आएको व्यवसायीहरू गुनासो गर्छन्।