भाइरल हुने रोग
पछिल्लो समयमा सशक्त बन्दै गईरहेको प्लेट फर्म सामाजिक सञ्जालको बढ्दो प्रभावकारिता र यसले उपलब्ध गराएको अभिब्यक्ति स्वतन्त्रताले हाम्रो नेपाली समाज नराम्रोसंग गिजोलिदैं छ । के बोल्ने, के नबोल्ने, कस्तो ठाउँमा बोल्ने, कस्तो ठाउँमा नबोल्ने भन्ने कुनै हेक्का नै नराखी अति स्वच्छन्द तरिकाले बोलेको भिडियो पोष्ट गरेर चर्चा बटुल्ने अर्थात भाइरल हुने रोग डरलाग्दो किसिमले फैलिदैं छ । हाम्रो सामाजिक मूल्य र मान्यताको सीमारेखालाई बेवास्ता गर्दै जथाभावी बरबराउने र आफुले के बोले भन्ने आफैलाई थाहा नहुने जमात बढ्दो छ । त्यस्तै ब्यक्तिहरुद्वारा संप्रेषित सन्देश र कन्टेन्टलाई नै हाम्रो समाजले बढि रुचाईदिन्छ अनि आफु भाइरल भएको मातले आँखा देख्न छोडेर थप अराजक बन्न गईरहेको उदाहरण पछिल्ला दिनहरुमा निकै देख्न र सुन्न पाईन्छ ।
पपुलिज्म र पपुलारिटी फरक फरक कुरा हुन् । सस्तो लोकप्रियता हासिल गर्न जस्तोसुकै हर्कत गर्न पनि पछि नपर्नु, यो संसारमा म जत्तिको जान्नेसुन्ने र राम्रो अरु कोही छैनन्, मैले जे बोले पनि, जस्तो गाए-नाचे पनि क्षणभरमै लाखौले हेरिहाल्छन् भन्ने मनोरोगबाट ग्रसित एटेन्शन सिकरहरु अचेल यत्रतत्र सर्बत्र भेटिन्छन् । नेपाली समाजमा सामाजिक सञ्जालको सदुपयोग वा दुरुपयोग के कसरी भईरहेको छ भन्ने बारेमा अनुगमन वा निगरानी गर्ने हामीकहाँ कुनै मेकानिज्म नै छैन । त्यसैले जसलाई जे मन लाग्यो त्यसरी नै चलाएर हामीले सामाजिक सञ्जालबाट जति सकारात्मक लाभ लिन सकिन्थ्यो त्यति लिन सकेका छैनौ । उल्टै समाजमा अराजक तथा उत्तेजना फैलाउने खालका गतिछाडा सन्देश संप्रेषण गर्ने जोकर जस्ता पात्रहरुलाई रातारात हिरो बनाईरहेका हुन्छौं ।
हामी सबैले आ-आफ्नो काम गरौं, मिलेर बसौं, एकले अर्कोलाई सम्मान गरौं, कुनै पनि बिषयमा फरक मत राख्नु नै छ भने सभ्य, शिष्ट र शालिन भाषामा आफ्नो तर्क राखौं, भाइरल हुनु नै छ भने राम्रा र उदाहरणीय कार्यहरु गरेर पोजिटीभ म्यासेज प्रवाह गरौं । भनिन्छ भाइरल र भाइरस दाजुभाइ हुन्, अपवाद बाहेक यसको अर्थ नकारात्मकता तर्फ नै बढि संकेत गर्दछ ।***
The post भाइरल हुने रोग appeared first on Samudrapari.