शासकलाई सधैँको डर

देश भौगोलिकरुपमा सानो वा ठूलो जत्रोसुकै किन नहोस्, त्यो देशमा शासन गर्न चाहने शासक त्यो देशकै कार्यकारी प्रमुख अभिभावक हुन्छ । इतिहासका विभिन्न कालखण्डको अध्ययन गर्दा कोही दौडमा जितेर पनि त्यो देशको शासक बनेका घटना छन् । कोहीचाहिँ उत्कृष्ट धार्मिक काम गरेर त्यसको फलले पनि शासक बन्न पुगेका छन् । आखिर जसरी शासक बने पनि आफ्नो देशका जनतालाई उनीहरुका चाहनाअनुसारका शुभकर्म गरेर इतिहासमा अमर बन्न पुगेका छन् । उनीहरु पार्थिवरुपमा मरेर बिलाउँदै गर्दा पनि उनीहरुको नाम र यश भने फैलिरहेको पाइन्छ । यसरी आफ्नो देश र जनतालाई सुशासन दिन सकेर इतिहासमा नाम राख्ने शासक थोरै मात्र छन् ।

कुनै देशको शासन चलाएर शासक बन्नको लागि उक्त व्यक्तिको आत्मामा तीनवटा आत्मिक गुण, सोचाइ वा दृष्टिकोण रहन जरुरी हुन्छ । ती तीन गुणमा पहिलो गुण हो, हर्दम देश र जनताको भलाइको कामको सोचाइको गुण, दोस्रोमा निःस्वार्थ भावनाको विकास र तेस्रोमा सुकर्मका लागि बलियो इच्छाशक्तिको भावना । यति तीनवटा गुणले भरिएको शासक जुन देशको शासन चलाउँदै छ, उसले मरुभूमिमा सुन्दर फूल फुलाउन कुनै कठिन हुँदैन । जसको ज्वलन्त उदाहरण वर्तमान अवस्थाका खाडी मुलुकहरु हुन् । आजभन्दा दुई दशकअगाडिको अवस्था र हालको अवस्थामा आकाश–पातालको फरक रहेको छ।
शासकले शासन गर्नु एउटा कला पनि हो । एउटा कलाकारले चित्र तयार गर्नको लागि त्यो चित्रको रुपरेखा आफ्नो मानसपटलमा बनाउँछ।

यदि कोही पनि कलाकारले मानसपटलमा सुन्दर चित्र नबनाई कागजमा मात्र सुन्दर चित्र उतार्न खोज्यो भने उसको चित्र त्यति सुन्दर नबन्न सक्छ । सोही अनुसार देशको शासकको मानसपटलमा पनि आफ्नो देशलाई कस्तो चित्रमा सजाउने ? भनेर सुन्दर सपना देख्नुपर्छ अनि त्यो सपना वा सोचाइलाई आकारमा उतारेर साकार रुप दिनुपर्छ । यसै अर्थमा भन्ने हो भने एउटा क्यानभासको सानो चित्रलाई सुन्दर रुप दिने सानो फुच्चे कलकार भएजस्तै शासक एउटा विशाल देशको चित्र सुन्दर बनाउने र सद्विचार राख्ने कलाकार हो भन्न सकिन्छ । सुन्दर तथा आकर्षक चित्र बनाउने कलाकार उमेरमा वृद्ध होस् कि तरुनो वा बच्चा होस्, त्यसले कुनै मतलब राख्दैन । सर्वप्रथम उसको मानस स्वच्छ र निर्मल हुन जरुरी हुन्छ । कुनै पनि कलाकार, लेखक, कवि जोसुकै किन नहोस् उसको मानसमा सद्भाव रहेको छैन भने उसले सुन्दर चित्र कोर्न सक्दैन । त्यसैले हाम्रा वेदका मन्त्रले भन्छन्, ‘तमसो मा ज्योतिर्गमय’ अर्थात् अँध्यारोमा सूर्यको प्रकाश जाओस् वा पुगोस् र उज्यालो होस् भनिएको हो ।

तर हाम्रो देशमा शासन गर्ने प्रायः सबैजसो शासक बाहिरी बोक्राका रुपमा रचनात्मक वा सिर्जनशील कर्म गर्न खोजेको जस्तो देखाए पनि आन्तरिक हृदय भने तामस भावले भरिएको हो कि जस्तो लाग्नेछ भनेर अनुभूत गर्न सकिन्छ । हाम्रा इतिहासदेखि हालसम्मका सबैजसो शासकमा आन्तरिक सिर्जनशीलताको भावनाको प्रतिशत शायद शून्य छ भन्दा कुनै फरक नपर्ला । त्यस्तै उनीहरुमा निःस्वार्थ भावको विकास शायद भएकै छैन कि जस्तो उनीहरुको व्यवहारले बताउँछ । उनीहरुलाई गौतम बुद्ध बन्ने रहर धेरै मात्रमा रहेको छ तापनि तपस्यामा लीन हुनको लागि मानस कति पनि तयार भएको छैन । मानस तयार नभईकनको रहर गराइ भनेको बालहठजस्तै मात्र हो । तपस्यामा केहीबेर बसेजस्तो गरे पनि चञ्चल मानसले गर्दा उनीहरु लीन हुन सक्ने अवस्था रहँदैन । बिचरा उनीहरु यति धेरै लोभी भएका छन् कि लिओ टाल्सटायको एउटा मान्छेलाई कति जमिन चाहिन्छ ? शीर्षक कथाको नायक पात्रले दिनभर दौडेर घेरो लाउँदै आफ्नो नाममा धेरै जग्गा पार्न उद्यत् भएर लोभ गरेभन्दा धनसम्पत्तिको अधिक लोभ हाम्रा शासक बनेका र भविष्यमा शासक बन्ने व्यक्तिलाई लाग्दछ ।

एउटा सानो वा ठूलो देशका लाखौँ वा करोडौँ जनताको कार्यकारी अभिभावक बन्ने वा बनेको शासकको मानसमा लोभ र मोहको कहिल्यै नअघाउने वा नभरिने खाडल खनेपछि त्यो खाडल भरिपूर्ण पार्ने प्रयासमा इज्जत, इमानजस्तै नैतिकताका गहना सबै उतारेर पाप, धर्म, स्वर्ग, नरकका कुरालाई एकातिर पन्छाई अन्त्यमा कसैको अमूल्य जीवन समाप्तै गरेर भए पनि आफ्नो लोभको खाडल भर्नतिर लागेको पाइन्छ । हाम्रा शासकलाई भोलि मरेर रित्तो हात शून्यमा बिलाउने शरीर हो भन्ने कुरा मुखले अभिव्यक्त गरे पनि दिमागी सोचाइको उत्कर्षमा पुगेर कुनै सकारात्मक प्रभाव पार्न सकेको छैन । उनीहरु मुखले जति मात्रमा आफू शुद्ध छु भनेर भाषण छाँटे पनि उनीहरुको मानसको कुनै भागमा कलुषित दाग रहेकै छ । यसै कालो दागका कारण उनीहरु जनचाहना विपरीतका र आफ्ना स्वार्थका लागि जनताको नजरबाट अदेख भएर भए पनि नकारात्मक कामतिर लहसिन थाल्दछन् ।

जुन शासकले आफ्ना जनताका भावनाअनुसारका काम गर्न सक्दछ, त्यस्तो शासक जनताका नजरमा मात्र होइन कि मानसमा समेत सतपात्रको आसनमा रहेको हुन्छ । तर जुन शासकले जनचाहना विपरीतका कुकर्म गर्न थाल्दछ र स्वार्थमा अल्झिएर कर्म गर्न थाल्दछ त्यस्तो शासक आम जनताको नजरबाट गिरेर जान्छ भन्ने मात्र होइन कि जनमानसमा समेत घृणाको पात्रमा परिणत हुन पुग्दछ ।

अहिलेको अवस्थामा हाम्रो देशका शासकले नेपाली काङ्ग्रेससँग गठजोड गरेर बहुमत प्रमाणित गराई आफ्नै नेतृत्वमा सरकार गठन गर्ने काम गरेका छन् । तर उनी शासक बन्नुको अन्तर्य के रहेको छ भने, विगतमा विभिन्न ठूला पद धारण गरेर भ्रष्टाचारको तलाउमा डुबेकालाई जसरी भए पनि कार्यवाही गर्न वा गरिनबाट जोगाउने भन्ने रहेको छ । तर आम नेपाली जनताको मानसिक चाहना भने हाम्रा शासकले भ्रष्टाचारी सबैलाई यथोचितरुपमा कारबाही गराउन र समग्र नेपाल देश नै भ्रष्टाचारबाट मुक्त होस् भन्ने रहेको छ । तर हाम्रा वर्तमानका कार्यकारी शासकले जनआवाज सुन्नुको साटो भ्रष्टाचारीलाई उचित कारबाही हुनबाट जोगाउनुलाई आफू शासक बन्नुको अन्तिम लक्ष्य ठानेर जनआवाजको सुनुवाइ एक थोपो पनि गर्न सकेको पाइँदैन । हाम्रा शासक भ्रष्टाचारीलाई जोगाउनको लागि निकै मूल्य चुकाएरै भए पनि सफल हुन्छु भन्ने आशयले लागेका देखिन्छन् । उनी पहिलोपटक नेपालका प्रधानमन्त्री भएका होइनन् । यसअगाडि पनि पटक–पटक नेपालका कार्यकारी शासक भएर शासन चलाए पनि सफल शासकको पाइलो चाल्न नसकेर आफ्नै व्यक्तिगत स्वार्थमा डुबी काम गरेका हुनाले पटक–पटक असफल भएका शासक हुन् । त्यति मात्र होइन कि यसपटक पनि उनी आफूलाई असफल शासककै कोटीमा राख्ने ध्येयले पाइला चाल्दै छन् । उनका पाइला जनचाहनानुसारको बाटोमा अगाडि बढ्न नसकेर आफूले गरेका कुकर्मको विरोध गर्ने जनतालाई दमन गर्ने दिशामा अगाडि बढ्न थालेका हुनाले यसपटक पनि उनी असफल शासक नै बनेर शासकको सिँढीबाट ओर्लेलान् भन्ने कुरा अनुमान लाउन सकिन्छ ।

प्रधानमन्त्रीजस्तो गरिमामय र जिम्मेवार अभिभावकको आसनमा विराजमान भएका केपी ओलीले जाबो एउटा महानगरका प्रमुखसँग जुहारी खेल्न पटक्कै नसुहाउने कुरा हो । वास्तवमा भन्ने हो भने देशको प्रधानमन्त्री भनेको त महानगरका नगरप्रमुखको समेत अभिभावक मानिनुपर्ने वा बनिनुपर्ने हो । तर हाम्रा प्रधानमन्त्री काठमाडौँ महानगरका मेयरसँग लाजै नमानी जोरी खोज्दै छन् । त्यो अवस्था कसरी आयो भने, पटक–पटक प्रधानमन्त्री बनेर देशकै शासन चलाएका व्यक्तिले एउटा महानगरको प्रमुखको जत्तिको पनि निःस्वार्थ त्याग गरेर देखाउन नसकी आफ्नै स्वार्थमा रुमलिनाले हो । अर्को कुरा, शासकको दिमागभित्र नयाँ, सुन्दर र आम जनतालाई खुशी बनाउने सिर्जना पस्कने क्षमता पनि कहिल्यै प्रकट हुन सकेको पाइएन । आफू जुन देशको शासक हुन्छ, त्यो देशको बारेमा सुन्दर सपना नदेख्ने, आफूले देखेको सुन्दर सपनालाई साकार रुप दिन नखोज्ने शासक कसरी लोकको प्यारो शासक बन्न सक्ला र ? यतिसम्म कि कसै नागरिकले मुहार पुस्तिकामा पठाएको भनाइ पढेर डराउने र उक्त नागरिकलाई शक्तिको आडमा यातना दिन लगाउने शासक कसरी जनप्रिय शासक हुन सक्ला ? आफू निर्दोष र निरापराध छ भने कोही पनि त्यति धेरै डर मान्दैन । पटक–पटक प्रधानमन्त्री वा देशको शासक भएर भए÷गरेका आपराधिक कुकर्मको पोल खोलिएला कि भन्ने डरले हाम्रा प्रधानमन्त्रीलाई त्यही चिन्ताले गर्दा निदहराम भइरहेको होला भन्ने अनुमान लगाउन सकिन्छ । आफ्नो तुलनामा अरु कसैको पनि लोकप्रियता चुलिएको देखेर रिसले मुर्मुरिएर बस्छन् कुकर्म गर्ने शासकहरु । आफ्नोभन्दा अरुको प्रसिद्धि बढ्दै जाँदा प्रसिद्धि चुलिनेवाला व्यक्तिहरु असफल र अयोग्य शासकका नजरमा बेस्कन बिझाउन थाल्छन् । यसरी बिझाएका व्यक्तिलाई उनीहरुको बाटोबाट कहिल्यै नउठ्ने गरी सफाचट गर्न पनि बेर लाउँदैनन् भन्ने कुरा पनि विगतले देखाएको छ ।

प्रधानमन्त्रीले भर्खरै गर्दै गरेका कुकर्मले धेरै नेपालीलाई आक्रोशित बन्न बाध्य बनाएको छ । त्यो सामूहिक आक्रोशको ज्वाला एकैपटक दन्कन पुगेको खण्डमा बंगलादेशकी प्रधानमन्त्री बेगम खालिदाले देशै छोडेर भागेजस्तै दिन हाम्रा प्रधानमन्त्रीको पनि नआउला भन्न सकिन्न । पटक–पटक असफल शासक बनेर पनि पुनः सत्ताकै भोक जाग्नु आफैँभित्रको विडम्बना हो । अबका आम नेपाली जनताको मनभित्रको आवाज भनेको पुरानो र असफल सत्ता सञ्चालनको तरिकालाई आमूल परिवर्तन गरेर त्यसको स्थानमा सिर्जनशील, उदारवादी शासन व्यवस्था स्थापित गराउनु रहेको छ । शासक होस् कि आम जनता, सबैको मानसमा आफू आफ्नै स्वच्छ कमाइको भरमा बाँच्नुपर्छ, कतै पनि भ्रष्टाचारका तानाबाना बुन्नुहुँदैन भन्ने कुरा केवल भाषणमा मात्र होइन कि व्यवहारमा देखिनुपर्ने बेला भइसकेको छ । शासक भएर पनि खराब र देशघाती कर्म गर्ने जोसुकैलाई आम जनताले अथवा समयले उचित सजाय दिएर प्रायश्चित्त गराएरै छोड्नुपर्ने भएको छ ।

Source : https://newsofnepal.com/2024/09/23/669438/