उच्च रक्तचाप देखिएपछि पक्राउ परेको राति नै दुर्गा प्रसाईँ अस्पताल भर्ना

काठमाडौं– विद्युतीय कारोबार ऐन विपरीतको कसुर गरेको आरोपमा पक्राउ परेका दुर्गा प्रसाईंलाई अस्पताल भर्ना भएका छन् ।

भक्तपुरस्थित घरबाट आइतबार पक्राउ परेका प्रसाईको स्वास्थ्य परीक्षण गराउन लैजाँदा रक्तचाप सम्बन्धी समस्या देखिएपछि राति नै वीर अस्पताल भर्ना गरिएको प्रहरीले जनाएको छ ।

वीर अस्पतालमा स्वास्थ्य जाँच गराउने क्रममा चिकित्सकहरुले उनलाई रक्तचाप, मुटु सम्बन्धी समस्या देखिएकाले थप जाँच गराउनुपर्ने बताएका छन् । आइतबार पक्राउ परेलगत्तै प्रहरीले प्रसाईंलाई अदालत हाजिर गराएको थियो । अदालतले उनलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । साइबर ब्युरोमा प्रसाईँले चरित्र हत्या गरेको भन्दै एक महिलाले उजुरीको आधारमा उनी पक्राउ परेका हुन् ।

प्रसाईँ पक्राउ परेका विषयलाई लिएर उनका समर्थकले रिहाईको माग गर्दै विरोधसमेत गरिरहेका छन् । आइतबार राति र सोमबार बिहान गरेर प्रसाईँका समर्थकले झापामा तीन वटा मालबाहक ट्रकमा आगजनी गरेका थिए । यस्तै उनको रिहाई माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा समेत उनका समर्थकले प्रदर्शन गरिरहेका छन् ।

प्रसाईंलाई रिहा गर्नुपर्ने मागसहित आन्दोलनमा उत्रिएकामध्ये २ जना समर्थकलाई प्रहरीले आइतबार पक्राउ गरेको थियो । पक्राउ पर्नेहरूमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका झापा जिल्ला संयोजक रामचन्द्र मैनाली र नागरिक प्रतिरक्षा बल (पीडीएफ) का मेची अञ्चल संयोजक दुरेन राई रहेका छन्।

Source : https://onlinetvnepal.com/2024/09/183851/