क्रिकेट र फुटबलको विश्वकप खेलेकी प्रेरणादायी पेरी
काठमाडाैं ।
एक युवती जसले केवल १६ वर्षको उमेरमा क्रिकेट र फुटबल दुवै खेलमा आफ्नो देशको प्रतिनिधित्व गरिन् । १५ वर्षभन्दा बढी समय क्रिकेट खेलिन् र महिला क्रिकेट इतिहासमा सबैभन्दा उत्कृष्ट अलराउण्डरमध्ये एक बनिन् । उनी हुन अस्ट्रेलियाली क्रिकेट र फुटबल खेलाडी एलिसे पेरी ।
एलिसे पेरी ३ नोभेम्बर १९९० मा अस्ट्रेलियाको न्यू साउथ वेल्स, सिड्नीमा जन्मेकी हुन । स्कूले जीवनमा उनले क्रिकेट, फुटबल, टेनिस, एथ्लेटिक्स र गल्फ जस्ता विभिन्न खेलहरू खेलेकी थिइन् । तर, क्रिकेट र फुटबलमा दुवैमा उत्कृष्टता हासिल गरिन् ।
१६ वर्षको उमेरमा उनले आफ्नो देशको प्रतिनिधित्व गर्दै क्रिकेट र फुटबल दुवै खेल खेलिन् । सन् २००७ मा उनले क्रिकेटमा ध्यान केन्द्रित गर्ने निर्णय गरिन् ।
त्यसपश्चात, उनले सोही वर्ष न्यू साउथ वेल्सका लागि अन्डर–१९ प्रतियोगितामा क्रिकेट खेलिन् । तीन खेलमा उनले ७४ रन बनाइन् र तीन विकेट लिईन । पेरीलाई न्यूजील्याण्डसँगको श्रृंखलाका लागि अस्ट्रेलियाको राष्ट्रिय टोलीमा समावेश गरियो । उनले २२ जुलाई २००७ मा डार्विनमा १६ वर्ष र ८ महिनाको उमेरमा एकदिवसीयमा (ओडीआई) डेब्यू गरिन् । यसरी उनले अस्ट्रेलियाको प्रतिनिधित्व गर्ने सबैभन्दा कम उमेरका क्रिकेटर बन्ने कीर्तिमान बनाइन् ।
१ फेब्अरी २००८ मा मेलबर्न क्रिकेट ग्राउन्डमा इंग्ल्यान्डविरुद्धको टी २० अन्तर्राष्ट्रिय डेब्यूमा पेरी भविष्यको स्टारको रूपमा उदाईन । जसमा उनले २५ बलमा २९ रन बनाइन् र ४ ओभरमा २० रन दिएर ४ विकेट लिएर अस्ट्रेलियालाई २१ रनको जित दिलाइन् ।
सन् २००७–०८ को महिला एशेज श्रृंखलामा ब्राडम्यान ओभल, बाउरलमा १५ फेब्ुअरीका दिन पेरी अस्ट्रेलियाकी सबैभन्दा कम उमेरमा टेस्ट क्रिकेट खेल्ने खेलाडी बनिन् । जसमा उनले १७ वर्ष र ३ महिनाको उमेरमा डेब्यू गरेकी थिईन । पेरी अस्ट्रेलियाका लागि टेस्ट र एकदिवसीय क्रिकेट दुवैमा शतक बनाउने सबैभन्दा कम उमेरकी खेलाडी समेत बनिन् । उनी टी २० अन्तर्राष्ट्रिय प्रतियोगितामा १ हजार रन र १ सय विकेटको संयोजन गर्ने पहिलो खेलाडी थिइन् ।
कलिलो उमेरमा करियरलाई उंचाई दिएकी उनलाई केहि समय चोटले पनि सताएको थियो । तर, हरेक पटकको पुनरागमनमा झनै सशक्त भएर मैदान फर्किने गर्थिन । उनी बल र ब्याट दुबैमा उत्कृष्ट छिन् । जुन महिला क्रिकेटमा दुर्लभ क्षमता हो ।
अस्ट्रेलियाली महिला क्रिकेट टोलीको हिस्सा बन्दै सन् २०१३ र २०२० मा महिला क्रिकेट विश्वकप उचालेको थियो ।
अन्तर्राष्ट्रिय र घरेलु स्तरमा क्रिकेटका प्रमुख प्रारूपहरूमा सफल टोलीहरूको हिस्सा हुँदै उनले अस्ट्रेलियालाई आठ विश्व च्याम्पियनशिप, न्यू साउथ वेल्सबाट एघार डब्लू एनसीएल च्याम्पियनशिप र सिड्नी सिक्सरबाट दुई डब्लूबीबीएल च्याम्पियनशिप जितिन् ।
उनलाई उनको शान्त स्वभाव र दवाबको अवस्थामा पनि उत्कृष्ट प्रदर्शन गर्ने क्षमताका लागि चिनिन्छ । १७ वर्षको लामो र सानदार करियरमा पेरीले धेरै कीर्तिमान तोडिन् र धेरै कोशेढुंगामा पुगिन् ।
त्यसैगरी फुटबलमा पनि उनको दख्खल तारिफयोग्य छ । मुख्य रूपमा एक डिफेन्डरको भूमिकामा पेरीले ४ अगष्ट २००७ मा हङकङ स्टेडियममा हङकङविरुद्ध अस्ट्रेलियाको राष्ट्रिय फुटबल टोलीबाट डेब्यू गरेकी थिईन । त्यस समय उनी १६ वर्ष र ९ महिनाकी मात्र थिइन् । त्यसको दुई हप्ताअघि मात्र उनले अस्ट्रेलियाली क्रिकेट टोलीबाट अन्तर्राष्ट्रिय म्याचमा डेब्यू गरेकी थिइन् ।
उनले उक्त म्याचको दोस्रो मिनेटमा नै गोल गरेकी थिईन । पेरीले सन् २००८ को एएफसी महिला एसियन कपमा दक्षिण कोरियाविरुद्धको म्याचमा दोस्रो अन्तर्राष्ट्रिय गोल गरेकी थिईन ।
सन २००८–०९ डब्ल्यू–लिग सिजनमा सेन्ट्रल कोस्ट मरिनर्सका लागि खेल्दा पेरीले १५ नोभेम्बर २००८ मा क्वीन्सल्याण्ड रोअरविरुद्ध क्लबबाट डेब्यू गरेकी थिईन । उनले २००९ डब्ल्यू–लीग सिजनको सुरुवातमा क्यानबेरा युनाइटेडका लागि खेल्दा त्यस सिजनमा ब्रिस्बेन रोअरकी एलिज केलन–नाइटसँगै संयुक्त रुपमा २००९ डब्ल्यू–लीग युवा वर्षको खेलाडीको पुरस्कार जितेकी थिईन ।
उनले त्यस सिजनमा क्यानबेरा युनाइटेडका लागि प्लेयर अफ द ईयर, सपोर्टर अफ द ईयर र ओभरअल क्लब प्लेयर अफ द ईयर गरी तीनवटा पुरस्कार जितेकी थिईन ।
पेरीलाई सन् २०११ को फीफा महिला विश्वकपको लागि म्याटिल्डासको स्क्वाडमा चयन गरिएको थियो । नर्वेविरुद्धको समूहचरणको खेलमा उनलाई खेलको अन्त्यतिर वैकल्पिक खेलाडीको रुपमा मैदानमा प्रवेश गराइएको थियो । त्यसँगै उनी आईसीसी र फिफा दुवै विश्वकपमा खेल्ने पहिलो अस्ट्रेलियन खेलाडी बनिन् ।
पेरी फीफा महिला विश्वकपअन्तर्गत स्वीडेनसँगको क्वार्टरफाइनलमा अस्ट्रेलियाले ३–१ ले पराजय भोग्दा सुरुवाती ११ मा रहेर खेलेकी थिईन । मे २०१२ मा क्यानबेरा युनाइटेडले पेरीलाई क्रिकेट छोड्ने वा अर्को डब्ल्यू–लिग क्लब खोज्न अल्टिमेटम दिएको थियो ।
त्यसपछि उनले २०१२–१३ सिजनको लागि सिड्नी एफसीसँग सम्झौता गरेकी थिइन् । पेरी २०१३ अन्तर्राष्ट्रिय महिला क्लब च्याम्पियनशिपमा सिड्नी एफसीको महत्वपूर्ण खेलाडी थिइन् । अस्ट्रेलियाली महिला राष्ट्रिय फुटबल टिमका डिफेन्डर भएपनि पेरीले तीन अन्तर्राष्ट्रीय गोलमा आफ्नो नाम लेखाएकी छन । विश्व खेलजगतको सबैभन्दा बढी दर्शक तान्ने दुई खेल फुटबल र क्रिकेटको विश्वकप खेल्नु कुनैपनि खेलाडीको लागि कल्पनाको कुरा हुनसक्छ । तर, त्यस्तो कल्पनालाई यथार्थमा परिणत गर्ने पेरी विश्वभरका युवा महिलाहरूको लागि प्रेरणाकी स्रोत हुन ।