गुल्मीका छ पालिकामा बजार अनुगमन

गुल्मी । गुल्मीका छ पालिकामा बजार अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मी र घरेलु तथा साना उद्योग कार्यालयले संयुक्त रुपमा बजार अनुगमन गरेका हुन् । जिल्लाको रेसुङ्गा र मुसिकोट नगरपालिका एवं धुर्कोट, मदाने, मालिका र चन्द्रकोट गाउँपालिकाका एक सय २४ पसलमा अनुगमन गरिएको छ ।

सदरमुकाम समेत रहेको रेसुङ्गा नगरपालिकाको भगवती मन्दिर, खानीगाउँ र छापटोला क्षेत्र, धुर्कोट गाउँपालिकाको वडा नम्बर ४ र ५, मदाने गाउँपालिकाको वडा नम्बर १, २, ३, ४, ६ र ७, मालिका गाउँपालिकाको वडा नम्बर ४, ७ र ८, चन्द्रकोट गाउँपालिकाको वडा नम्बर २ तथा मुसिकोट नगरपालिकाको वडा नम्बर ५ र ६ मा अनुगमन गरिएको हो ।

गल्ला तथा किराना, दुध डेरी, मोटरसाइकल वर्कसप, फर्निचर, फेन्सी, होटल, मासु पसल, ग्रिल उद्योग लगायतका पसलहरुमा अनुगमन गरिएको हो । पसलहरु समयमै नविकरण भए–नभएको, म्याद नाघेका सामग्रीहरु बिक्री गरे–नगरेको, सरसफाइको अवस्था लगायतका बिषयमा अनुगमन गरिएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख राजिव अर्यालले जानकारी दिए ।

अनुगमनका क्रममा म्याद नाघेका सामग्रीहरु जफत गरी नष्ट गरिएको छ । अनुगमनका क्रममा बिनादर्ता संचालन भएका पसलहरुलाई सात दिनभित्र दर्ता प्रक्रिया पुरा गरी प्यान नम्बर लिन आग्रह गरिएको छ । त्यसैगरी अधिकाशं होटलहरुले सरसफाईको अवस्था सुधार गर्नुपर्ने, प्यान नम्बर लगायतका कागजपत्रहरु देखिने गरी पसलमा राख्नुपर्ने लगायतका सुझावहरु घरेलु कार्यालयले दिएको छ ।

पहिलो पटकमा व्यापारीहरुलाई सुधारको लागि अनुरोध गरिएको र दोस्रो पटक पनि सोही प्रकारको गल्ति दोहो¥याएमा कानुनअनुसार कारवाही गरिने जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत तारानाल फुल्लेलले जानकारी दिए ।

The post गुल्मीका छ पालिकामा बजार अनुगमन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/101095/