धनगढी सभागृह निर्माणको २ वर्षदेखि अलपत्र, सरकारका कार्यक्रम होटेलमा

धनगढी । कैलालीको धनगढीमा संघीय सरकारले निर्माण गरेको सभा गृह अलपत्र परेको छ । धनगढी उपमहानगरपालिका ८ मा २८ करोड ५५ लाखको लागतमा निर्माण गरिएको सभा गृह (धनगढी सिटी हल) अलपत्र परेको हो ।

संघीय सरकारले सहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन इकाईमार्फत सभा गृह निर्माण गरेको थियो । संघीय सहरी विकास मन्त्रालय मातहतको संघीय आयोजना कार्यान्वयन इकाईले धनगढी सभागृह निर्माण गरेको छ । सहरी विकासले सभागृह धनगढी उपमहानगरपालिकालाई हस्तान्तरण गर्नुपर्ने हो ।

तर, उपमहानगरपालिकाले अधुरै अवस्थामा स्वामित्व लिन नमानेपछि सभागृह अलपत्र परेको छ । धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले सभागृहको काम पूरा नभएकाले हस्तान्तरणको काम रोकिएको बताए । संघीय सहरी विकास मन्त्रालयले सभागृहमा आवश्यक उपकरणहरू जडान गर्नुपर्ने उनले बताएका छन्।

धनगढीमा २०७९ सालमा निर्माणको काम पूरा भएको सभागृहमा आवश्यक पूर्वाधारको अभावले सञ्चालनमा आएको छैन । उपप्रधान तथा सहरी विकास मन्त्री सिंहले धनगढी उपमहानगरपालिकासहित सरकारी कार्यक्रमहरू सभागृहमा सञ्चालन गर्नुपर्ने बताए । सभागृह सञ्चालनका लागि आवश्यक पूर्वाधारहरूका लागि बजेट विनियोजन गर्ने उनले बताए ।

धनगढी सभागृह सञ्चालन कार्यविधि तथा मापदण्ड नहुँदा र हल सञ्चालनका लागि चाहिने फर्निचर, साउन्ड सिस्टम, एसी जडानलगायतका कार्य अधुरो रहेको भन्दै उपमहानगरपालिकाले स्वामित्व लिन इन्कार गरेको छ । सभाहलमा फर्निचरको मात्रै ३० लाखभन्दा बढी रकम खर्च हुने अनुमान छ । साथै साउन्ड सिस्टमलगायत अन्य उपकरण जडानमा साढे २ करोड लाग्ने अनुमान गरिएको छ । त्यति रकम नगरपालिकाले लगाउन नसक्ने भन्दै संघीय सरकारले नै सम्पन्न गर्नुपर्ने जोड धनगढी उपमहानगरपालिकाको छ ।

डेढ बिघा जमिनमा २८ करोड ५५ लाख रुपैयाँ खर्चेर बनेको सभागृहको निर्माण, रंगरोगन र विद्युत् जडान लगायतका सम्पूर्ण मुख्य कार्य २०७९ असारमा सम्पन्न भएको थियो। निर्माण कम्पनीले संघीय आयोजना कार्यान्वयन इकाइलाई हस्तान्तरणसमेत गरिसकेको छ । तर, सञ्चालनका लागि धनगढी उपमहानगरपालिकालाई हस्तान्तरण गर्न बाँकी रहेको छ ।

राष्ट्रिय सभागृहको मोडेलमा बनाइएको सभागृहमा ९ सय जना क्षमताको एउटा मुख्य अडिटोरियम, २५० जना क्षमताको अर्को सेमिनार हल, एउटा प्रदर्शनी कक्ष, अति विशिष्ट कक्ष र २ वटा रिहर्सल कक्ष छ । करिब ४ सय गाडी अटाउने अन्डरग्राउन्ड बेसमेन्ट पार्किङ पनि तयार गरिएको छ । फर्निचर र साउन्ड सिस्टम नभएको बहानामा दुई वर्षदेखि सो सभागृह अलपत्र परेको छ ।

सो सभागृह सञ्चालन हुन नसकेका कारण सरकारी कार्यक्रमसहित विवाहका कार्यक्रमहरू होटेल र पार्टी प्यालेसमा हुने गरेका छन् । धनगढी उपमहानगरपालिकाले समेत १० औ स्थापना दिवस पार्टी प्यालेसमा गरेको छ ।

The post धनगढी सभागृह निर्माणको २ वर्षदेखि अलपत्र, सरकारका कार्यक्रम होटेलमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/101093/