सखी बहिनपाद्वारा जितिया महोत्सव

लोकपर्व जितिया पर्वलाई धार्मिक अनुष्ठान र सांस्कृतिक पर्वका रुपमा सीमित नराखी विशिष्ट उत्सवका रुपमा मनाउने सन्दर्भमा सखी बहिनपा मैथिलानी समूह जनकपुरधामले नोचा ठाकुर पोखरीको डिलमा जितिया पर्वको पूर्वसन्ध्यामा मिथिला संस्कृति झल्काउँदै उत्सव मनाएको छ ।

सो समूहले गत वर्ष जनकपुरधामको गंगासागरमा गरेको जितिया उत्सवको मौलिकपनले निकै चर्चा पाएको थियो । मातृत्वप्रतिको सम्मानको प्रतीक मानिएको जितिया पर्वद्वारा आमाको सन्तानप्रतिको ममत्वको प्रदर्शनले सांस्कृतिक भूमिका र महत्वलाई उजागर गरिएको थियो । महिलावर्गद्वारा गरिने जितिया पर्वमा कुनै शास्त्रीय देवताका नभइ लोकदेवता जीमुतवाहनको पूजा गरिन्छ ।

जितिया व्रत गर्नाले सन्तानको दीर्घायु , आरोग्य रहनुका साथै खासगरी कुनै आकस्मिक खतराबाट रक्षा हुने धार्मिक विश्वास रहेको छ । जितियालाई जीवितपुत्रिका व्रत वा जीमूतवाहन व्रत पनि भनिन्छ । अत्यन्त नियम निष्ठापूर्वक कठोर उपवासका साथ आमाहरुले जितिया पर्व मनाउने परम्परा रहेको छ ।

भगवान जीमूतवाहनले सन्तानको रक्षा एवं कल्याण गर्छन भन्ने मान्यताका साथ यो पर्व मनाइन्छ । पर्वले रत्नगर्भी धर्तीमा कर्मका महादेवहरुले श्रम सिंचन गरी फलाएका सबै कुरा प्रसादमय हुन्छन् भन्ने सन्देश र पूजा गरिने वस्तुहरुमा सर्वथा फरक किसिमका सामग्री घिरौँलाको पात, फूल, तोरीको तेल, खरी आदि प्रयोग गरिएको थियो । प्रकृति र पर्यावरणका विविध पक्षसंग गहिरो साइनोको निरन्तरताको प्रतीक रहेको जितिया पर्वले वनस्पतिक सम्पदाको संरक्षण तथा टेवालाई बल पु¥याइ रहेको छ ।

नरिवल , काँक्रा , केराउ, केरा, केराको पात , बाँसको पात, पान पूजा सामग्रीका रुपमा प्रयोगले यसको पुष्टी भएको छ । माटाका स्याल चिल बनाइ पूजाले पनि यसको विशिष्टतालाई उजागर गर्दछ । यी वस्तु, सामग्रीबारे शास्त्रीय पक्ष उल्लेख नभए पनि स्थान, क्षेत्र, परिवेशका उत्पादन तथा साधनहरुलाई उपयोग गरी समुचित स्थान तथा सम्मान दिएको छ । लोककल्याणका यावत पक्षहरुलाई सांस्कृतिक आवरणका संरक्षण दिंँदै समाजका हरेक जातिले यो पर्व मनाउने गर्दछन् ।

जितिया पर्व मातृत्व पक्षप्रति सम्मान गर्ने सांस्कृतिक परिपाटी हो । आफ्ना दिवंगत सासुका साथै दिवंगत आमा तथा अन्य पूज्य महिलाप्रति श्रद्धास्वरुप पितराइन खुवाउने गरिन्छ । पर्वले मानवीयता, समानता, प्रकृति, पर्यावरण आदिलाई संरक्षण एवं प्रवद्र्धन गर्न गतिलो माध्यम रहेको छ । जितिया पितृ पक्ष अन्तर्गत पर्दछ । पितृ पक्षमा पुरुषवर्गले आफ्ना दिवंगत पितृहरुलाई पक्षभर नै तर्पण दिने गर्दछन् । महिलावर्गले भने जितिया व्रतमा दिवंगता महिलालाई नैवेद्य अर्पण गर्ने गर्दछन् ।

सखी बहिनपा समूहद्वारा यही भावभूमिमा नोचा ठाकुर पोखरीमा पर्वका अनुष्ठानका पक्षहरु कलश स्थापना, विधि व्यवहार, कथा वाचन, पारम्परिक गीतनाद, संगीतसहित पर्वका संस्कृति झल्काउँदै गत वर्षझैं यस वर्ष पनि मौलिकता, विशिष्टता र लोकमान्यतालाई जीवन्तता प्रदान गरिएको थियो । सो उत्सवमा मिथिला, सभ्यता, संस्कृतिमूलक सामूहिक गीतनाद प्रस्तुत गरी उत्सवमा उत्साह थपेका थिए ।

सखी इन्दिरा झाको अध्यक्षतामा सम्पन्न उत्सवमा पुनम झा मैथिलद्वारा कार्यक्रम संचालन सुनिता मिश्र, बिन्दु ठाकुर, भारती चौधरी, आरती चोधरी, पुनम मिश्रले उत्सवको व्यवस्थापनदेखि सांस्कृतिक विशिष्टतालाई उजागर गर्नेमा उल्लेख्य दायित्व निर्वाह गरेकी थिइन् भने कलाकार रुवी पाठकले माटाका चिल र स्याल बनाएकी थिइन् ।

सो उत्सवमा सविता झाले जितिया महत्व सम्बन्धी कथा वाचन गरेकी थिइन् भने गोसाउनी गीत, बटगबनी र सखी बहिना गीत सामूहिक रुपमा प्रस्तुत गरिएको थियो । यस अघि गंगासागर घाटमा विधि विधानपूर्वक जितियाको पूजनका सामग्रीसहित सांस्कृतिक पक्षलाई भल्काइएको थियो । सो अवसरमा जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहको समेत उपस्थिति रहेको थियो ।

The post सखी बहिनपाद्वारा जितिया महोत्सव appeared first on Janakpur Today.

Source : https://ejanakpurtoday.com/2024/09/22/98949/