तालाबन्दीका कारण १५ सय विद्यार्थीको भविष्य अन्योल

ललितपुर ।

पाटन संयुक्त क्याम्पसमा एक महिनादेखि तालाबन्दी हुँदा करिब १ हजार ५ सय विद्यार्थी परीक्षा दिनबाट वञ्चित हुने भएका छन्।

क्याम्पस प्रमुख लक्ष्मणसिंह कुँवरलाई प्रवेश निषेध लेखेको ब्यानर मूल गेटमा राखेर आन्दोलन थालेका संयुक्त विद्यार्थी संगठनले माग पूरा नभएसम्म ताला नखोल्ने अडानका कारण विद्यार्थीको भविष्य अन्योल हुने भएको छ । यही १६ गतेबाट स्नातक तह दोस्रो वर्षको परीक्षा हुँदै छ।

तालाबन्दी नखुल्दा स्नातक तह मानविकी, व्यवस्थापन र विज्ञान संकाय दोस्रो वर्षका विद्यार्थीहरू परीक्षा फाराम भर्नबाट वञ्चित भएका छन्। त्रिवि परीक्षा नियन्त्रण कार्यालयले अनलाइन फारम मात्र स्वीकार गर्ने भएकाले क्याम्पसको परीक्षा, प्रशासन, लेखालगायत सबै शाखा बन्द हुँदा विद्यार्थीले फाराम भर्न नपाएको क्याम्पस प्रशासनले जनाएको छ । फाराम भर्न परीक्षा शुल्क लिने अनलाइनबाटै व्यवस्था छ ।

क्याम्पसका स्ववियु कोषाध्यक्ष तिलक कुमालले संयुक्त, विद्यार्थीको नाममा तीन विद्यार्थी संगठनले पूरा भइसकेका माग राखेर आन्दोलन गरेका कारण विद्यार्थीलाई समस्या परेको हो। विद्यार्थी संगठनले केही सक्कली र अधिकांश नक्कली माग राखेर क्याम्पस प्रमुखमाथि अनुचित दबाब दिन थालेका छन्।

बीएससी सीएसआईटीमा नयाँ कम्प्युटरको व्यवस्था हुनुपर्ने, शुद्ध खानेपानीको व्यवस्था गर्नुपर्ने, क्यान्टिनको व्यवस्था गर्नुपर्नेलगायतका माग राखी संयुक्त विद्यार्थी संगठनले क्याम्पस प्रमुखलाई मूलगेटबाटै प्रवेशमा रोक लगाएर तालाबन्दी गरेका छन्।

क्याम्पस स्रोतका अनुसार केही विद्यार्थीका आफन्तलाई विभिन्न पदमा जागिर खुवाउन र केही विद्यार्थी नेता आफैंले करारमा जागिर खान दबाब दिने भित्री उद्देश्यले आन्दोलन गरेको बुझिएको छ । विद्यार्थीले माग राखेको केही दिनअघि प्रशासनले १ सय १० कम्प्युटर खरिद गर्न ई–बिडिङ गरी खरिद प्रक्रियामा छ।

खानेपानीको विषयमा केयूकेएलको सहयोगमा युरोगार्ड खरिद गरी जडान गर्ने काम भइसकेको छ। जारको पानी प्रयोग गर्ने तयारी भइरहेको र क्यान्टिन सञ्चालन गर्ने विषयमा छलफल भइरहेको क्याम्पस प्रमुख लक्ष्मणसिंह कुँवरको भनाइ छ।

अधिकांश माग पूरा भइसकेको अवस्थामा तालाबन्दी गर्नु उचित नभएको स्ववियु कोषाध्यक्ष कुमालको भनाइ छ । स्ववियु सभापति सुशील विष्टले ताला खोल्ने विषयमा छलफल भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘ताला खोल्न नमाने स्ववियुले खोल्ने तयारी गरेका छौं । सबै पक्षसँग छलफल गरी चाँडोभन्दा चाँडो ताला खोल्ने गरी वार्ता जारी राखेका छौं।’

तालाबन्दीका कारण करिब २ सय शिक्षक, १ सय ५ जना आंशिक शिक्षक र १ सय ४० जना कर्मचारीले डेढ महिनादेखि तलब पाएका छैनन् । क्याम्पस प्रमुख कुँवरले सबैको सहयोगका माग पूरा भइरहेको अवस्थामा संयुक्त विद्यार्थी संगठनको नाममा मलाई निषेध गर्ने गरी तालाबन्दी गरेको आरोप लगाउनुभयो ।

स्रोतका अनुुसार तालाबन्दीको भित्री कारण २०७१ सालमा विज्ञापन गरेकामध्ये ४ जना आफन्तलाई जागिर खुवाउनुपर्ने, कम्प्युटर खरिद गर्दा ई–बिडिङ नभई कोटेसनबाट गर्नुपर्ने, कोटेसनबाट नयाँ युरोगार्ड खरिद गर्नुपर्नेलगायत छन्। क्याम्पसले २०७१ सालमा २ जना कम्प्युटर सहायक, पुस्तकालय सहायक र कार्यालय सहायक गरी ४ जना करारमा कर्मचारी लिने गरी विज्ञापन गरेको थियो।

सो विज्ञापनमा उल्लेखित पदमध्ये अधिकांशमा विद्यार्थी नेता आफन्तलाई भर्ती गर्नु रहेको देखिएको छ। ‘एक त त्यो माग पूरा हुन सकेन, अर्कोतर्फ भर्ना र बजेट दिने विषयमा संघ संगठनबीच विवाद देखियो त्यसकारण पनि क्याम्पस प्रमुखको समय सकिनै लाग्दा पदबाट जबरजस्ती राजीनामा दिन लगाउने र नभए आफ्नो माग पूरा गराउन दबाब दिन तालाबन्दी गरेको हो’ –क्याम्पसका एक शिक्षकले नेपाल समाचारपत्रसँग भने । प्रमुख कुँवरको यही असारमा कार्यकाल पूरा हुने भएको छ । अन्तिममा दबाब दिएर फाइदा लिने आन्दोलनरत विद्यार्थी संघसंगठनको मनसाय छ।

‘उनीहरूको माग पूरा गर्ने क्याम्पस प्रमुखले यही विषयमा दर्जनौं मुद्दा खेपिरहेका छन् । फेरि भ्रष्टाचारमा मुद्दा खेप्ने माग पूरा गर्ने ? यो त सम्भव हुँदैहुँदैन। त्रिवि सेवा आयोग र लोकसेवा आयोगले गर्ने काम क्याम्पस प्रमुखले गर्नै सक्दैनन्’ –क्याम्पसका कर्मचारी र शिक्षकको भनाइ छ।

महिना दिनदेखि तालाबन्दी नखुलेपछि क्याम्पस प्राध्यापक संघले भोलि १० गतेदेखि ३ दिनसम्म पेन डाउन गरी कक्षा बहिष्कार गर्ने घोषणा गरेको छ। त्यस्तै अनेरास्ववियु, अखिल (समाजवादी) अखिल क्रान्तिकारी र वैज्ञानिक समाजवादी विद्यार्थी संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै तालाबन्दी खोल्न माग गरेका छन् । क्याम्पस प्रमुख कुँवरले आफूले वार्ताबाट समस्या समाधान गर्न पटकपटक प्रयास गरेको दाबी गर्नुभयो।

नक्कली माग पूरा हुँदैन : प्राडा केसी

त्रिभुवन विश्वविद्यालयका रेक्टर प्राडा खड्ग केसीले विद्यार्थीले राखेका अधिकांश माग पूरा भइसकेको अवस्थामा थरिथरिका माग राखी आन्दोलन गर्नु गलत नियत भएको आरोप लगाउनुभएको छ।

पाटन क्याम्पसको आन्दोलन र तालाबन्दीको विषयमा त्रिविले सबै जानकारी लिएको उहाँका भनाइ थियो। उहाँले भन्नुभयो– ‘अधिकांश माग पूरा भइसकेका छन् तर नक्कली माग लिएर क्याम्पस प्रमुखलाई निषेध गरी एक महिना बढी ताला लगाउनु गलत मनसाय हो।’

तत्काल तालाबन्दी फिर्ता लिन विद्यार्थी संगठनलाई उहाँले आग्रह गर्नुभयो । ‘सकभर क्याम्पस प्रमुख र विद्यार्थी संगठन दुवै पक्ष वार्ता गरी ताला खोल्नुस्, नभए त्रिविले हस्तक्षेप परी ताला खोल्नेछ’ –उहाँको चेतावनी थियो। आज आइतबारसम्म ताला खुल्ने अपेक्षा त्रिवि पदाधिकारीको छ । त्रिविले पाटन क्याम्पसमा लागेको ताला खोल्ने विषयमा सुरक्षा निकायसँग समेत छलफल गरिसकेको छ ।

त्रिविले आजसम्म बाटो कुर्ने नभए प्रहरी प्रशासनको सहयोगमा ताला खोल्ने तयारी गरेको छ । रेक्टर केसीले शिक्षण संस्थामा ताला लगाउनु गलत मनसाय भएको बताउँदै वार्ताबाट समस्या समाधान गर्न विद्यार्थी संगठनलाई आग्रह गर्नुभयो।

Source : https://newsofnepal.com/2024/04/21/639303/