नारायणगढ–मुग्लिन सडकमा जनतालाई सास्ती
काठमाडौं ।
नारायणगढ–मुग्लिन सडक खण्डमा राज्यले समान्य ट्राफिक व्यवस्थापनसमेत नगर्दा जनताले सास्ती बेहोर्नुपरेको छ । एकतर्फी सडक सञ्चालन भएको ठाउँमा ट्राफिक प्रहरीको उपस्थिति नहुँदा घण्टौँसम्म यात्रुले जामको सामना गर्नुपरेको हो ।
बिहीबार बिहान २ बजे नारायणघाट–मुग्लिन सडक खण्डको जलवीरे भन्ने ठाउँको सडक एकतर्फीमात्र सञ्चालन भएको थियो । जलवीरे आसपासमा स्थानमा ट्राफिक प्रहरीको उपस्थिति नहुँदा सवारी अस्तव्यस्त बनेको यात्रुहरूले गुनासो गरेका छन् । बुटवलबाट काठमाडौं आउँदै गरेका सुमन थापाले सवारीसाधन व्यवस्थापन नहुँदा बिहीबार बिहान २ बजेदेखि ६ बजेसम्म जाम भएको बताउनुभयो ।
उहाँले त्यस स्थानमा यातायात आफूखुसी सञ्चालन भएको हुँदा जाममा पर्नुपरेको बताउनुभयो । उहाँले सामान्य ट्राफिक प्रहरी आई सवारी व्यवस्थापन गरेको भए यतिका जाममा पर्नु नपर्ने दाबी गर्नुभयो । त्यसै गरी अर्का यात्रु सुगोग श्रेष्ठले जलवीरेमा सामान्य ट्राफिक व्यवस्थापन भएको भए १५-२० मिनेटमै जाम खुल्ने बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालयका चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जलवीरेमा ट्राफिक प्रहरी उपस्थिति नहुँदा ४ घण्टा जाममा पर्नुपरेको विषय आफूलाई जानकारी नभएको बताउनुभयो । उहाँले जलवीरे क्षेत्रमा त्यति धेरै जाममा पर्नुपर्ने स्थान नभएको र ट्राफिक प्रहरी पोस्ट पनि रहेको जानकारी दिनुभयो । प्रहरी रहेको ठाउँमा यातायात अवरोध हुनु प्रहरीको समन्वयको कमी देखिएको छ ।
मंसिर ५ सम्म नागढुंगा सडक आंशिक बन्द हुने
नागढुंगामा बिहीबारदेखि आउँदो मंसिर ५ गतेसम्म दिउँसो आंशिक बन्द हुने भएको छ । नागढुंगा सुरुङमार्गको पश्चिम पोर्टल त्रिभुवन राजमार्गअन्तर्गत धादिङको सिस्ने खोलामा स्लोप कटिङ गर्नुपर्ने भएकाले सडक बन्द गरिने नागढुंगा सुरुङ मार्ग निर्माण आयोजनाले जनाएको छ ।
सो आयोजनाले सूचना प्रकाशन गरी बिहीबारदेखि उक्त सडक आउँदो मंसिर ५ गतेसम्म बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म आंशिक रूपमा बन्द हुन जानकारी दिएको हो । उक्त अवधिको २० मिनेट भने दुवैतर्फ सडक बन्द हुने सूचनामा उल्लेख गरिएको छ । यसै गरी २०-२० मिनेटमा खोल्ने र बन्द गर्ने गरी काम गरिने आयोजनाले जनाएको छ । सडक बन्द हुँदा वैकल्पिक मार्ग प्रयोग गर्न यात्रु तथा सवारी चालकहरूलाई आयोजनाले आग्रह गरेको छ ।