नेपालमा किन बढ्दै छ सम्बन्ध विच्छेदका मुद्दा ?

नेपालमा विगत केही वर्षदेखि सम्बन्ध विच्छेदका मुद्दाहरू दिन–प्रतिदिन बढ्दै गएका छन्, जुन नेपाली समाजमा पहिले विरलै देखिने गर्दथ्यो । यो वृद्धि परिवार, समुदाय र कानुनी प्रणालीका लागि चिन्ताको विषय बनिरहेको छ। सामाजिक, आर्थिक र सांस्कृतिक परिवर्तनहरूको कारणले गर्दा यो प्रवृत्ति बढ्दो छ।

यद्यपि सम्बन्ध विच्छेदले असन्तुष्ट वा हिंसात्मक वैवाहिक जीवनमा फसेका व्यक्तिहरूलाई कानुनी समाधान दिन्छ, यसको वृद्धिले सम्बन्ध र समाजका गहिरा समस्याहरूलाई पनि देखाउँछ । नेपालमा सम्बन्ध विच्छेद मुख्यतया मुलुकी देवानी संहिता, २०७४ अन्तर्गत व्यवस्था गरिएको छ, जसले सम्बन्ध विच्छेदका कानुनी आधारहरू, प्रक्रिया र सर्तहरूलाई परिभाषित गर्दछ । यस संहिताले पुरुष र महिलालाई सम्बन्ध विच्छेदको लागि उजुरी दिन पाउने अधिकार दिन्छ र सम्बन्ध विच्छेदका लागि विशिष्ट कारणहरूलाई परिभाषित गर्दछ।

मुलुकी देवानी संहिताको दफा ९४ र ९५ अनुसार, यदि कुनै पनि दम्पती तीन वर्षभन्दा बढी समयसम्म विनासहमति छुट्टै बसिरहेका छन्, पति–पत्नीले विवाहबाहेकको सम्बन्धमा संलग्नता देखाएका छन्, पति–पत्नीले एक–अर्कालाई शारीरिक वा मानसिक यातना दिएका छन्, वैवाहिक कर्तव्य पूरा गर्न असफल भएका छन् वा पति–पत्नी कुनै मानसिक रोग वा उपचार नहुने रोगबाट पीडित छन् भने, मुलुकी देवानी संहिताको दफा ९४ र ९५ अनुसार सम्बन्ध विच्छेद गर्न पाउनेछन् । यद्यपि यी कानुनी व्यवस्थाको कार्यान्वयन व्यवस्थामा अलग्गै देखिन आउँछ र सामाजिक दबाबहरुले गर्दा कार्यान्वयनमा कमी–कामजोरी ल्याउने गर्दछ।

नेपालले महिला हिंसाबाट मुक्ति र दुव्र्यवहारबाट मुक्तिसम्बन्धी अधिकारलाई जोड दिने केही अन्तर्राष्ट्रिय महासन्धिहरूलाई पनि अनुशरण गरेको छ, जसले अप्रत्यक्षरूपमा सम्बन्ध विच्छेदलाई असर गर्न सक्छ । उदाहरणका लागि, महिलाविरुद्धको सबै प्रकारका विभेदको उन्मूलनसम्बन्धी महासन्धि (सिडअ), जसको नेपाल पनि हस्ताक्षरकर्ता हो, लैंगिक समानता र हिंसात्मक विवाहमा सम्बन्ध विच्छेदको आधार बन्न सक्ने महिलाको अधिकारलाई जोड दिन्छ । त्यसै गरी, विश्वव्यापी मानवअधिकार घोषणापत्रले विवाह गर्ने र परिवार बसाल्ने अधिकार, साथै वैवाहिक सम्बन्धमा चिसोपन र हिंसात्मक हुन गएमा सम्बन्ध विच्छेदको अधिकारलाई ग्यारेन्टीसमेत गरेको छ । विश्वव्यापी मानवअधिकार घोषणापत्रको दफा १६ ले पुरुष र महिलालाई विवाहका क्रममा र सम्बन्ध विच्छेदको प्रक्रियालाई समान अधिकार दिनुपर्नेमा जोड दिएको छ ।

कानुनी व्यवस्थाहरूको अस्तित्व भए पनि सम्बन्ध विच्छेदका घटनाहरूको वृद्धिमा सामाजिक, आर्थिक र सांस्कृतिक कारकहरूको ठूलो भूमिका छ । नेपालमा सम्बन्ध विच्छेदका घटनाहरू बढ्ने मुख्य कारणहरू यस प्रकार छन् । परम्परागत नेपाली समाजले परिवारको एकतालाई जोड दिएको थियो र सम्बन्ध विच्छेदलाई अन्तिम विकल्पको रूपमा हेरिन्थ्यो । तर आधुनिकता, शहरीकरण र विश्वव्यापी विचारहरूमा बढी सम्पर्कका कारण सामाजिक मान्यताहरूमा पनि परिवर्तन भइरहेको छ । विशेष गरी शहरी क्षेत्रका युवापुस्ताहरूले विवाहलाई कर्तव्य वा जिम्मेवारीको रूपमा भन्दा बढी आपसी सम्मान र प्रेममा आधारित साझेदारीको रूपमा हेर्न थालेका छन् । परम्परागत लिंगका भूमिकाहरू परिवर्तन भइरहेका छन्, जसले महिलाहरूलाई विवाहमा उनीहरूको अधिकारबारे बढी सशक्त बनाइरहेको छ, जसमा असमानता वा दुव्र्यवहारको अवस्थामा सम्बन्ध विच्छेदको अधिकार पनि समावेश छ।

महिलाहरूको बढ्दो आर्थिक स्वतन्त्रता सम्बन्ध विच्छेदका घटना बढ्नुको प्रमुख कारणमध्येको एक हो । अधिक महिला कामकाजी क्षेत्रमा प्रवेश गरिरहेका छन् र आर्थिक स्थिरता प्राप्त गरिरहेका छन्, जसले उनीहरूलाई आफ्नो पति वा परिवारमा निर्भर रहनुपर्ने बाध्यता घटाएको छ । आर्थिक स्वतन्त्रताले महिलाहरूलाई असन्तुष्ट वा हिंसात्मक वैवाहिक जीवनबाट बाहिर निस्कने सम्भावना प्रदान गर्दछ, जुन पहिलेका पुस्ताहरूमा उपलब्ध थिएन । नेपालले २०७२ को संविधानमार्फत पुरुष र महिलालाई आर्थिक अधिकारलगायत समान अधिकारको ग्यारेन्टी गरेको छ, जसले महिलाहरूलाई स्वतन्त्र निर्णय गर्न सशक्त बनाएको छ, जसमा सम्बन्ध विच्छेदको विकल्प पनि समावेश छ । आर्थिक स्वतन्त्रता र कानुनी प्रावधानहरूले गर्दा सम्बन्ध विच्छेद महिलाहरूका लागि पहिलेभन्दा बढी सम्भव भएको छ ।

सम्बन्ध विच्छेदका घटना बढ्नुको अर्को कारण विवाहभित्रका अपेक्षाहरू परिवर्तन हुनु हो । धेरै युवा दम्पतीहरू आज विवाहमा भावनात्मक सन्तुष्टि, सहकार्य र व्यक्तिगत विकासको अपेक्षा राख्छन् । जब यी अपेक्षाहरू पूरा हुँदैनन्, तब असन्तुष्टि र क्रान्ति छाउँछ, जसले गर्दा सम्बन्ध विच्छेदको कारण बन्न सक्छ । परम्परागत विवाहहरू प्रायः परिवारको, कर्तव्य र सामाजिक प्रतिष्ठामा केन्द्रित हुन्थे, तर आजका धेरै आधुनिक दम्पतीहरूको लागि यो कुराले खासै महत्व राख्दैन । मुलुकी देवानी संहिताले पति–पत्नीको सम्बन्धमा असन्तुष्टि र असमझदारीले सम्बन्ध विच्छेदका लागि मुख्य आधार हुन सक्ने व्यवस्था गरेको छ । मुलुकी देवानी संहिताको व्यवस्थाले वैवाहिक कर्तव्य पूरा गर्न असफल भएमा सम्बन्ध विच्छेदको लागि आधार प्रदान गर्दछ, जसले विवाहभित्र आपसी सम्मान र अनुकूलतामा जोड दिइएको तथ्यलाई प्रतिविम्बित गर्दछ ।

घरेलु हिंसाको कारणले पनि धेरै व्यक्ति सम्बन्ध विच्छेद गरिरहेका छन्, विशेष गरी महिलाहरू, अझै आफ्नो विवाहपछि शारीरिक, भावनात्मक वा मानसिक यातनाको सामना गरिरहेका छन् । घरेलु हिंसाका पीडितहरूको लागि २०६६ को ‘घरेलु हिंसा (अपराध र सजाय) ऐन’ ले कानुनी उपचार प्रदान गर्दछ, तर धेरै महिला अझै सामाजिक कलंक र बदला लिने डरका कारण उजुरी दिन डराउँछन् ।

घरेलु हिंसाका घटनाहरूमा समेत मुलुकी देवानी संहिताले शारीरिक वा मानसिक यातनाको आधारमा सम्बन्ध विच्छेदको अनुमति दिन्छ, जसलाई संहितामा उल्लिखित गरिएको छ । यद्यपि, सांस्कृतिक मान्यताहरू र सामाजिक बहिष्कारको डरले धेरै महिला यो कानुनी अधिकारको प्रयोग गर्नबाट वञ्चित छन् । वैवाहिक जीवनमा एक–आपसबीचका विश्वास र समझदारीको कमीले धेरै दम्पतीले सम्बन्ध विच्छेद गरेको पाइन्छ । विशेष गरी शहरी क्षेत्रहरूमा द्रुत गतिमा चलिरहेको आधुनिक जीवनशैलीले सम्बन्ध विच्छेदलाई बढावा दिएको पाइन्छ भने असमझदारीबाट समयसँगै मनमुटाव बढ्न थाल्छ, जसले वैवाहिक जीवनलाई पुनःस्थापना गर्न नसकिने अवस्थामा पुर्‍याउँछ।

नेपालको कानुनी व्यवस्थामा बोलचालको अभाव र विश्वासको ह्रास सम्बन्ध विच्छेदका लागि आधार बन्न सक्ने कुरालाई मान्यता दिइएको छ, जसलाई मुलुकी देवानी संहितामा उल्लेख गरिएको छ, तीन वर्षभन्दा बढी समयसम्म छुट्टै बस्नु सम्बन्ध विच्छेदको वैध कारण हुन सक्छ । नेपालमा व्यभिचार सम्बन्ध विच्छेदको अर्को प्रमुख कारण हो । यद्यपि विवाहबाहिरको सम्बन्ध पहिलेदेखि नै वर्जित थियो, आधुनिक प्रविधि र सामाजिक गतिशीलतामा आएको परिवर्तनले व्यक्तिहरू यस्ता सम्बन्धमा संलग्न हुने गरेका छन् । व्यभिचारले पति–पत्नीबीचको विश्वासको सम्बन्धलाई तोड्छ र प्रायः सम्बन्ध विच्छेदको कारण बन्छ।

मुलुकी संहिताले स्पष्टरूपमा दफा ९४ (ख) मा व्यभिचारका घटनाहरूमा सम्बन्ध विच्छेदको अनुमति दिने कुरा उल्लेख गरेको छ, जसलाई सम्बन्ध विच्छेदका कानुनी कारणहरूको एक प्रमुख आधार मानिन्छ । नेपाली समाजमा विवाह प्रायः दुई व्यक्तिबीच मात्रै नभई दुई परिवारबीचको सम्बन्धको रूपमा पनि हेरिन्छ। धेरै अवस्थामा, विस्तारित परिवारका सदस्यहरू, विशेष गरी सासू–ससुराहरू, दम्पतीको वैवाहिक जीवनमा महत्त्वपूर्ण भूमिका खेल्छन्। यस बाह्य दबाबले सम्बन्धमा तनाव निम्त्याउँछ, जसले विवाद र अन्ततः सम्बन्ध विच्छेदको कारण हुन पुग्दछ। यद्यपि कानुनी व्यवस्थाले सम्बन्ध विच्छेदमा सासू–ससुराको प्रभावलाई स्पष्टरूपमा सम्बोधन गर्दैन । यो धेरै सम्बन्ध विच्छेदको एक प्रमुख कारक हो । परिवारको दबाबसँग सामना गर्दा उत्पन्न हुने भावनात्मक र मानसिक बोझ सम्बन्ध विच्छेदको बढ्दो कारण हो ।

(लेखक यादव काठमाडौँ स्कुल अफ लमा बी.ए.एल.एल.बी, तेस्रो वर्षमा अध्ययनरत हुनुहुन्छ ।)

Source : https://newsofnepal.com/2024/11/07/676944/