पक्राउ परेका रास्वपाका सांसदसहित ५१ जना छुटे

काठमाडौं – बालुवाटारबाट पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदसहित ५१ जना रिहा भएका छन् । पार्टी सभापति रवि लामिछानेको रिहा गर्न माग गर्दै रास्वपाले मंगलबार गरेको प्रदर्शनका क्रममा पक्राउ परेका सांसद अशोक चौधरीसहितका ५१ जना रिहा भएका हुन् ।

विरोध प्रदर्शनका क्रममा उनीहरूलाई गिरफ्तार गरिएको रास्वपाका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । ‘शान्तिपूर्ण विरोध प्रदर्शनको कार्यक्रमलाई बिथोल्ने गरी प्रहरी प्रशासनले गरेको यो दमन र गिरफ्तारीविरुद्ध घोर भर्त्सना गर्दछौँ,’ उनले भनेका छन् ।

पार्टी सभापति रवि लामिछाने सहकारी संस्थाको बचत रकम अपचलन प्रकरणमा पक्राउ परेपछि रास्वपा आन्दोलित भएको हो । रास्वपाले भने यसलाई राजनीतिक प्रतिशोध, अन्याय, व्यथिति र भ्रष्टाचारविरुद्धको विरोध प्रदर्शन भनेको छ । लामिछाने हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् ।

The post पक्राउ परेका रास्वपाका सांसदसहित ५१ जना छुटे appeared first on Samudrapari.

Source : https://samudrapari.com/2024/10/494267/