पहिलो प्रतिनिधिसभाका सभामुखको निधन

काठमाडौं ।
२०४६ सालको प्रजातन्त्र पुनःस्थापनापछि निर्वाचित पहिलो प्रतिनिधिसभाका सभामुख दमननाथ ढुंगानाको निधन भएको छ । पछिल्लो समय विभिन्न स्वास्थ्य समस्याले पीडित ढुंगानाको ८३ वर्षको उमेरमा आइतबार निधन भएको हो ।


राजधानीको फ्रन्ट लाइन अस्पतालमा उपचारका क्रममा निधन भएका नेपाली कांग्रेसका नेता तथा वरिष्ठ अधिवक्तासमेत रहेका ढुंगाना २०४८ सालदेखि २०५१ सम्म सभामुखको जिम्मेवारीमा हुनुहुन्थ्यो । तत्कालीन विद्रोही माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन उहाँको पनि भूमिका महत्वपूर्ण रहेको नेपाली राजनीतिमा उहाँको चर्चा हुने गरेको छ ।

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमार्फत् राजनीतिमा आएर चर्चित राजनीतिकर्मी हुँदै सभामुखको आसनमा पुग्नुभएका ढुंगाना त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा विसं.२०१९ देखि २०२० सम्म स्ववियु सभापति हुनुहुन्थ्यो । तत्कालीन सभापति नवराज सुवेदीले विद्यार्थी आन्दोलनलाई साथ नदिई निर्दलीय व्यवस्था प्रवेश गरेकाले विशेष साधारण सभाबाट उहाँलाई हटाई उपसभापति रहेका ढुंगानालाई सर्वसम्मतिबाट सभापति बनाइएको थियो ।

आम निर्वाचन २०४८ मा काठमाडौं जिल्लाबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भई सभामुख बन्नुभएको उहाँ निकट नेताहरूले बताएका छन् । दिवंगत ढुंगानाको आज सोमबार अन्त्येष्टि गरिने भएको छ । बेलायतमा रहेका छोरा फर्किन समय लाग्ने भएकाले आज दिउँसो १२ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

ढुंगानाका छोरा डा. निमेष ढुंगाना म्यानचेस्टर युनिभर्सिटीमा अध्यापन गराउनुहुन्छ भने उहाँका अर्का छोरा निशेष र छोरी नीतिका नेपालमै छन् । उहाँको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि नेपाली कांग्रेस, संघीय संसद् सचिवालय र नेपाल बार एसोसिएसनमा राख्न प्रस्ताव आए पनि कतै नराखिने भएको छ । आइतबार त्रिवि शिक्षण अस्पतालमा राखिने भएकाले श्रद्धाञ्जली दिनेहरूले त्यहीँ पुगेर दिनुपर्नेछ ।

ढुंगाना नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा कलेजो रोगको उपचार गरी तिहारअघि काठमाडौं फर्कनुभएको थियो । सभामुख भएर संसद् चलाउने उहाँको तरिकाप्रति पछिल्ला सभामुखहरूले समेत सिक्नुपर्ने उहाँसँग संगत गरेका कतिपय नेताहरूले बताएका छन् ।

सदनमा भएका विचार, बहस र तर्क वितर्कले जति नै कठिन परिस्थिति निर्माण गर्न खोजे पनि सबैखालका बहस र तर्क वितर्कलाई सुन्ने र सांसदहरूले चाहेजति बोल्न दिने उहाँको कार्यशैली रहेको नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले सम्झनुभयो । संसद् सत्तापक्षको भन्दा बढी प्रतिपक्षको हो भन्ने हेक्का दिलाउने गरी सदन चलाउने एकमात्रै सभामुख ढुंगाना भएको नेताहरूले बताएका छन् । उहाँको निधनप्रति राष्ट्रपति, प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, सभामुख, विपक्षी दलका नेता, प्रधानन्यायाधीशलगायतले दुःख व्यक्त गरेका छन् ।

राष्ट्रपति
रामचन्द्र पौडेल
राष्ट्रपति, रामचन्द्र पौडेलले आइतबार सामाजिक सञ्जाल ट्विटरमार्फत ढुंगानाको निधनले मर्माहत भएको बताउनुभयो । राजनीतिकर्मी, वरिष्ठ अधिवक्ता र नागरिक अगुवाको पहिचान बनाएका ढुंगानाले लोकतान्त्रिक आन्दोलनमा पु¥याएको योगदान सधैं स्मरणीय हुने बताउँदै राष्ट्रपति पौडेलले ढुंंगानाप्रति श्रद्धाञ्जली दिँदै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ । राष्ट्रप्रति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार नेपालको संवैधानिक र संसदीय इतिहासमा ढुंगानाको योगदान विशिष्ट खालको रहेको स्मरणसमेत राष्ट्रपतिले गर्नुभएको छ ।

प्रधानमन्त्री

केपी शर्मा ओली


पूर्वसभामुख ढुंगानाको निधनले आफूलाई अत्यन्त दुःखी बनाएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताउनुभएको छ । उहाँले सामाजिक सञ्जालमार्फत भन्नुभएको छ, ‘२०४६ सालमा प्रजातन्त्र पुनःस्थापना भएपछि निर्वाचित पहिलो प्रतिनिधिसभाका सभामुख, मेरा मित्र दमननाथ ढुंगानाको निधनको खबरले अत्यन्त दुःखी छु ।’ नेपालमा मानवअधिकार रक्षाको आन्दोलन र संसदीय अभ्यासको प्रवद्र्धनमा ढुंगानाको योगदान सम्झिरहेको भन्दै उहाँले दिवंगत मित्र दमननाथ ढुंगानाप्रति हार्दिक श्रद्धाञ्जली, शोकमा रहनुभएका परिवारजनमा समवेदना अर्पण गर्नुभएको छ ।

पूर्व प्रधानमन्त्री
शेरबहादुर देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वसभामुख ढुंगानाको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँको निधनप्रति स्तब्ध भएको भन्दै पूर्वप्रधानमन्त्री देउवाले लेख्नुभएको छ, ‘पूर्वसभामुख दमननाथ ढुंगानाको निधनको खबरले स्तब्ध भएको छु । नेपालको लोकतन्त्र, मानवअधिकार र न्याय क्षेत्रमा उहाँको योगदान महत्वपूर्ण थियो ।’

पूर्व प्रधानमन्त्री
पुष्पकमल दाहाल ‘प्रचण्ड’
पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले ढुंगानाको निधनप्रति दुःख व्यक्त गर्दै नेपाल र नेपाली जनताले देशको राजनैतिक तथा सामाजिक परिवर्तनमा पु¥याएको योगदानलाई सदैव सम्झिरहने बताउनुभएको छ । ‘नेपालको लोकतान्त्रिक आन्दोलनका महत्वपूर्ण व्यक्तित्व, पूर्वसभामुख, मानव अधिकार तथा नागरिक आन्दोलनका अगुवा आदरणीय दमननाथ ढुंगानाको निधनको खबरले दुःखी बनाएको छ’, प्रचण्डले सामाजिक सञ्जाल फेसबुकमार्फत भन्नुभएको छ– ‘उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’

Source : https://newsofnepal.com/2024/11/18/678611/