फैसलाको पूर्ण पाठ आएपछि अदालतमा उपस्थित हुन्छु: दीपक मनाङे

काठमाडौं । गण्डकी प्रदेशका प्रदेश सभा सदस्य दीपक मनाङे (राजीव गुरुङ) ले फैसलाको पूर्ण पाठ आएपछि आफू अदालतमा उपस्थित हुने बताएका छन् । शुक्रबार एक विज्ञप्ति जारी गर्दै मनाङे सञ्चारमाध्यमहरुमा भ्रामक समाचारहरु सम्प्रेषण भइरहेको बताउदै पूर्ण पाठ आएपछि आफू अदालतमा उपस्थित हुने बताएका हुन् । 

उनले भनेका छन्- ‘फैसला आउँदाको दिनदेखि केही गुणस्तरहीन सञ्चारमाध्यमहरुबाट तारन्तार आइरहेका कलहरुले गर्दा केही समयका लागि मैले प्रयोग गर्दै आएको मोबाइल बन्द गरेको छु । यही विषयलाई लिएर विभिन्न सञ्चारमाध्यमहरुमा भ्रामक समाचारहरु सम्प्रेषण भइरहेको पाएको छु । यसमा मेरो आपत्ति छ । अन्तमाः सम्मानित सर्वोच्च अदालतबाट फैसलाको पूर्णपाठ लिखित रुपमा प्राप्त भएपछि अदालतमा म स्वयम् उपस्थित हुने कुरा जानकारी गराउन चाहन्छु ।’

मनाङेलाई सर्वोच्च अदालतले पनि ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको छ । गत मंगलबार न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले मनाङेविरुद्ध ज्यान मार्ने उद्योगमा यसअघि उच्च अदालत पाटनबाट भएको फैसलालाई सदर गरेको थियो ।

उच्च अदालत पाटनले ज्यान मार्ने उद्योगमा मनाङेलाई पाँच वर्ष कैद सजाय सुनाएको थियो । तर, उनी उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्च गएका थिए । पूर्वमन्त्रीसमेत रहेका मनाङे मनाङको प्रदेश निर्वाचन क्षेत्र १ (ख) बाट निर्वाचित स्वतन्त्र सांसद हुन् ।

The post फैसलाको पूर्ण पाठ आएपछि अदालतमा उपस्थित हुन्छु: दीपक मनाङे appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/103396/