म गलत संगतमा परेँ : छविलाल जोशी

काठमाडौं – नेपाल प्रहरीका पूर्वनायव महानिरीक्षक (डीआईजी) छविलाल जोशीलाई सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि ५ दिन हिरासतमा राख्ने अनुमति जिल्ला अदालत कास्कीले दिएको छ ।

जोशीलाई सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा लगेर अपचलन गरेको आरोपमा आइतबार काठमाडौंबाट पक्राउ गरिएको थियो । उनलाई जहाजमार्फत सोही साँझ कास्की पुर्‍याइएको थियो । मुद्दामा सरकारी वकिल र जोशीका तर्फका कानुन व्यवसायीहरूले बहस गरेका थिए । अन्ततः न्यायाधीश चन्द्रकान्त शर्माको इजलाशले ५ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

जोशीले आफ्नो बचाउमा अदालतसमक्ष ‘गलत संगतमा परेको’ स्वीकारेका छन् । सूर्यदर्शन सहकारीको रकम लिँदा गल्ती भएको उनले बताएका छन् । उनले गोर्खा मिडिया नेटवर्कबाट पहिल्यै सेयरको फेरबदल गरी बाहिरिसकेको दाबी पनि गरे ।

गोर्खा मिडिया नेटवर्कका चार सञ्चालकमध्ये जोशी प्रारम्भिक चरणमा उपाध्यक्षका रूपमा संलग्न थिए । गितेन्द्रबाबु (जीबी) राई अध्यक्ष, रवि लामिछाने प्रबन्ध निर्देशक र कुमार रम्तेल सञ्चालक समिति सदस्य थिए । राई हाल फरार छन् भने रम्तेल सूर्यदर्शन सहकारी प्रकरणकै सन्दर्भमा पुर्पक्षका लागि जेलमा छन् ।Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

The post म गलत संगतमा परेँ : छविलाल जोशी appeared first on Samudrapari.

Source : https://samudrapari.com/2024/09/491248/