रवि लामिछानेविरुद्ध चितवनमा पनि जाहेरी, अनुसन्धान हुँदै

काठमाडौँ । पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध चितवनमा पनि जाहेरी परेको छ । साहरा चितवन बहुउद्धेश्यीय सहकारीका बचतकर्ताले रविविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा पूरक जाहेरी दिएका हुन् । 

सहकारी ठगी प्रकरणमा बचतकर्ताले रविसँगै छविलाल जोशीसहित १० जनाविरुद्ध पूरक जाहेरी दिएको चितवन प्रहरीले जनाएको छ । 

लामिछाने सञ्चालक भएकै बेला गार्खा मिडिया नेटवर्क प्रालीमा साहरा चितवन सहकारीबाट १० करोड ८० लाख १८ हजार १ सय ५१ रुपैयाँ गएको देखिएको छ ।

सोही बेला लामिछानेकै मिलेमतोमा रकम हिनामिना भएको भन्दै बचतकर्ताले प्रहरीमा पूरक जाहेरी दिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बचतकर्ताबाट जाहेरी लिएर थप अनुसन्धान अघि बढाइएको छ । 

यसो त साहरा चितवन सहकारीमा भएको ठगी प्रकरणको मुद्दा यसअघि नै अदालत पुगिसकेको थियो । गत असोज ८ गते गोर्खा मिडिया नेटवर्कका अध्यक्ष जीबी राईसहित १७ जनालाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दर्ता भएको थियो । 

Source : https://arthasarokar.com/2024/11/complaint-against-ravi-lamichhane-also-in-chitwan-investigation-is-underway.html



Related Posts