रुसबिरुद्ध युक्रेनद्धारा पहिलो पटक लामो दूरीको मिसाइल आक्रमण
युक्रेनले पहिलो पटक अमेरिकी आपूर्तिमा आधारित लामो दूरीका मिसाइलहरू रूसको क्षेत्रमा प्रहार गरेको छ । यो कदम अमेरिकाले आक्रमणको अनुमति दिएको भोलिपल्ट भएको रूसी सरकारले बताएको छ ।
अमेरिकी अधिकारीहरूले पनि सेनाको ट्याक्टिकल मिसाइल सिस्टम प्रयोग भएको पुष्टि गरेका छन् । युक्रेनले भने यसबारे कुनै टिप्पणी गरेको छैन ।
रूसको रक्षा मन्त्रालयका अनुसार, यो आक्रमण उत्तरतर्फ युक्रेनसँग सीमा जोडिएको ब्रायन्स्क क्षेत्रमा मंगलबार बिहान गरिएको थियो ।
मन्त्रालयले पाँच मिसाइललाई खसालेको र एक मिसाइलको टुक्राले एउटा सैन्य केन्द्रमा आगो लगाएको जनाएको छ ।
तर, अमेरिकी अधिकारीहरूले युक्रेनले प्रहार गरेका करिब आठ मिसाइलमध्ये रूसले केवल दुईलाई मात्र रोक्न सकेको बताएका छन् ।
रुस र अमेरिकाको दावीलाई स्वतन्त्र रूपमा पुष्टि गर्न सकिएको छैन ।
रूसका विदेश मन्त्री सर्गेई लाभरोभले अमेरिकामाथि द्वन्द्वलाई थप उग्र बनाउन खोजेको आरोप लगाउनु भएको छ । उहाँले अमेरिकी सैन्य विशेषज्ञहरूको सहयोगबिना यी उच्च प्रविधीयुक्त मिसाइलहरूको प्रयोग असम्भव रहेको बताउनु भयो ।
उहाँले यो कदमलाई पश्चिमले रूसविरुद्धको युद्धको नयाँ रूपमा लिने चेतावनी दिनुभयो । युक्रेनले मिसाइलहरू आफ्नो कब्जामा रहेका रूसी क्षेत्रहरूमा एक वर्षभन्दा बढी समयदेखि प्रयोग गरिरहेको छ ।
यी मिसाइलहरूले ३०० किलोमिटरसम्मको दायरा कभर गर्न सक्छन् । यसलाई रोक्न कठिन मानिन्छ । युक्रेनले कुरस्क क्षेत्रजस्ता गहिरो रूसी क्षेत्रहरूमा पनि प्रहार गर्न सक्नेछ । जहाँ युक्रेनी सेनाले १ हजार वर्ग किलोमिटरभन्दा बढी क्षेत्र नियन्त्रणमा राखेको छ ।
Source : https://www.khasokhas.com/211723