संखुवासभामा ७५ लाख बढी विद्युत बक्यौता उठेन

संखुवासभा । नेपाल विद्युत प्राधिकरण संखुवासभामा ७५ लाख रुपैयाँ बढी विद्युत बक्यौता उठ्न बाँकी रहेको छ । आर्थिक वर्ष २०८०–०८१ मा ७५ लाख ३२ हजार रुपैयाँ विद्युत महसुल बक्यौता उठाउन बाँकी रहेको हो । जिल्लामा विद्युतको महसुल समयमा नतिर्ने सबैभन्दा बढी सरकारी कार्यालय तथा सार्वजनिक निकाय छन् ।

जिल्लामा ७५ लाख ३२ हजार रुपैयाँ विद्युत बक्यौता उठाउन बाँकी रहेको नेपाल विद्युत प्राधिकरण शाखा कार्यालय खाँदबारी वितरण केन्द्रका प्रमुख शत्रुधन यादवले बताए । प्राधिकरणले अघिल्लो बर्ष १ करोड ४२ लाख रुपैयाँ विद्युत बक्यौता अशुल गरेको छ ।

नेपाल विद्युत प्राधिकरणले लोङसेडिङ अन्त्य गरेर जनतालाई राहत दिएपनि आफू भने करोडौं रुपियाँ बक्यौता उठाउन नसकेर समस्यामा परेको छ । जिल्लामा ३ हजार देखि १२ लाख रुपैयाँ सम्म विद्युत बक्यौता उठ्न बाँकी रहेको छ । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र खाँदबारीले विद्युत महशुल नबुझाउने कालोसूचीमा परेको ग्राहक बाट ११ लाख रुपैयाँ अशुल गरेको छ ।

जिल्लामा सबैभन्दा बढी जिल्ला अस्पतालको १८ लाख रुपैयाँ बक्यौता मध्ये ११ लाख रुपैयाँ तिरिसकेको छ । त्यस्तैगरी माया खोला हाइड्रोपावर कम्पनीको ८ लाख,सूर्य आवसीय बोर्डिङ स्कुलको २ लाख ७२ हजार,लार्सन एण्ड ट्रर्बो कम्पनीको ८ लाख रुपैयाँ विद्युत बक्यौता उठ्न बाँकी रहेको खाँदबारी वितरण केन्द्रका प्रमुख यादवले बताए । जिल्लामा यस आर्थिक बर्षमा २४ करोड २९ लाख ७९ हजार १ सय ८६ रुपैयाँ संकलन रहेको प्राधिकरणले जनाएको छ ।

जिल्लामा २८ हजार सात सय ३२ ग्राहक रहेको कार्यालयले जनाएको छ । जिल्लामा उत्पादित ४६ मेगावट विद्युत मध्ये ६ मेगावट मात्र खपत भएको विद्युत प्राधिकरण खाँदबारी वितरण केन्द्रले जनाएको छ । जसमध्ये दुई मेगावट ९ सय मेगावटको अरुण तेस्रो आयोजनामा खपत भएको छ । विद्युत चोरी रोक्न कारबाहीसँगै सेवाग्राहीलाई विद्युत चुहावट नगर्न सचेतना अभियान सञ्चालन गर्दै आइएको केन्द्रले जनाएको छ ।

जिल्लामा ८० प्रतिशत भूभागमा विद्युत विस्तार भइसकेको छ । विद्युत सेवा भरपर्दो बनाउन तुम्लिङटार र बानेश्वरमा दुई सय २० केभीको सवस्टेशन गतबर्ष देखिनै सञ्चालन भइसकेको वितरण केन्द्रले जनाएको छ ।

The post संखुवासभामा ७५ लाख बढी विद्युत बक्यौता उठेन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/103782/