सडक खुलाउन श्रमदान गर्दै स्थानीय

डडेल्धुरा । चाँडबाडका बेला सडक मर्मत गर्न स्थानीय आफै जुटेका छन । वर्षाले छेदविछेद भएको चुरेको सडक मर्मत गर्न स्थानीय दैनिक रुपमा काम गरिरहेका छन । डडेल्धुरा–कञ्चनपुर जिल्लाको सिमाना चुरे पर्वतको दुर्गम वस्ति मलासका स्थानीय सडकम मर्मतका लागी श्रमदान गरिरहेका छन ।

नेपालीहरुको महान पर्व दशैँ तिहार नजिकिदै गर्दा सडक मर्मत गर्न स्थानीय सरकारले कुनै चासो नदेखाएपछि मलासवासी स्थानीय आफै सडक मर्मत गर्न जुटेका हुन । तत्कालिन जिल्ला विकास समिति डडेल्धुराले डडेल्धुरा–कञ्चनपुर जोडने महत्वपूर्ण सडकका रुपमा प्राथमिकतामा राखी साँदनी–गैरीखान–चुनापानी सडक खनेको थियो । यस सडकको गैरीखान–चुनापानी खण्ड वर्षाका कारण छेदविछेद भएको छ । यो सडक खण्ड असार पहिलो सातादेखि अवरुद्ध छ ।

साढे सात किलोमिटर लामो यस सडक खण्डमा यातायात सेवा सुचारु गर्न स्थानीय सरकारका जनप्रतिनिधीहरुसँग पटक पटक माग गर्दा हालसम्म पनि कुनै सुनवाई नभएको स्थानीयको गुनासो छ । चाँडबाड नजिकिदै गर्दा समेत स्थानीय सरकारले सडक सुचारु गर्न कुनै तदारुकता नदेखाए पछि मलासवासी स्थानीय आफै सडक मर्मतमा जुटेको स्थानीय जनक बमले बताए ।

कञ्चननपुरको महेन्द्रनगर बजारबाट सबैभन्दा छोटो दुरीमा चुरे पर्वत श्रृंखलाको मलास क्षेत्रका वस्तीहरुमा पुगिन्छ । उनले भने, यो सडक डडेल्धुराको भित्रिमधेस जोगबुडा परशुराम जोड्ने सबैभन्दा छोटो हुन्छ । सडक मर्मत नहुदा अबरुद्ध भएको सुचारु गर्न तीन दिनदेखि स्थानीयले काम गर्दै आईरहेका छन ।

परशुराम नगरपालिका–७ अन्तर्गत मलास क्षेत्रमा रहेका बसेनी, गैरीखान, काजीगडा, आइडुङ्रा, पुरानपानी, साइसौन लगायतका बिकट वस्तीका स्थानीय सडक मर्मतमा जुटेका हुन । घरबाट रासन, भाडाकुँडा र लत्ताकपडा बोकेर सडकमै बास बस्ने र खाना पकाई सडक मर्मतमा जुटेको उनले बताए ।

चार दिन यता दैनिक ५० देखि ७० जना स्थानीयले सडक मर्मतको काम गर्दै आईरहेका छन । चार दिनको कामले झण्डै साढे सात किलोमिटर सडक मर्मत भइसकेको छ । बाँकी रहेको सडक मर्मत गरेर सोमबार देखि यातायात सेवा सुचारु गर्ने लक्ष्य रहेको उनले बताए ।

जिल्लाको सबैभन्दा दुर्गम वस्ती मलास क्षेत्रका वस्तीहरुमा हाल कच्ची सडक पुगे पनि वर्षातका कारण बेला बेला सडक अवरुद्ध हुने गरेको छ । अत्यन्तै सम्वेदनसिल चुरे क्षेत्रको कच्ची भू बनोटका कारण वर्षातमा बाढी, पहिरो र भू क्षयीकरणका कारण कच्ची सडक अवरुद्ध हुने गर्छ ।

चाडपर्व नजिकिए पनि यातायात सेवा सुचारु हुने देखिएपछि स्थानीय श्रमदानमा जुट्नु परेको स्थानीय रामबहादुर महताले बताए । दुर्गम क्षेत्रलाई सरकारले वेवास्त गरिरहेकाले जनजीवन निकै कष्टकर रहेको उनको गुनासो छ ।

मलास क्षेत्रका बासिन्दाहरुलाई एक दिन पैदल हिडेर वडा कार्यालय पुग्नु पर्ने बाध्यता छ । वडा कार्यालय साँदनी रहेको छ । वडा कार्यालय पुग्नुभन्दा नजिक करिब दुई, तीन घण्टा पैदल हिडेर कञ्चनपुरको महेन्द्रनगर बजार पुग्न सकिने भएकाले यस क्षेत्रका बासिन्दाहरु दैनिक उपभोग्य सामान, लत्ताकपडा, नुन तेलदेखि औषधी र अत्यावश्यक वस्तु खरिद गर्न महेन्द्रनगर बजार पुग्ने गर्दछन । स्थानीय स्तरमा उत्पादन हुने कृषि उपज बिक्री गर्न पनि महेन्द्रनगर बजार पुग्नुपर्ने मलास क्षेत्रका बासिन्दाहरुको बाध्यता छ ।

हाल महेन्द्रनगरदेखि मलास क्षेत्र जोडने तीनवटा कच्ची सडक भए पनि वर्षायामसंगै सबै सडक अवरुद्ध भएका छन । गैरीखान–चुनापानी सडक खण्ड मात्रै सुचारु भए पनि चाँडपर्वका बेला स्थानीयलाई निकै सहज हुने स्थानीय गोरखबहादुर बोहराले बताउनुभयो । उहाँले वडा कार्यालय रहेको साँदनी गाउँसम्म पुग्ने सडक सुचारु हुन अझै समय लाग्ने बताए ।

‘गैरीखानदेखि चुनापानीसम्म सडक सुचारु हुन सके महेन्द्रनगर बजारसम्म सहजै यातायात सेवा सञ्चालनमा आउछ,’ श्रमदान अभियानको नेतृत्व गरि रहेका स्थानीय अगुवा बमले भने, ‘हरेक महिनाको शनिबारलाई श्रमबार घोषणा गरेर नियमित रुपमा श्रमदान गर्ने र हरेक महिनाको पहिलो शनिबारलाई बृहत जनश्रमदान अभियानका रुपमा सञ्चालन गर्ने निर्णय यँहाका युवाहरुले गरेका छन ।’

जनश्रमदानमा जुटेका युवाहरुले सरकार र अन्य निकायबाट बाह्य सामाग्री खरिद गर्न र दक्ष मिस्त्रीको ज्याला वाफत बजेट विनियोजन गरिदिए यहाँका वस्तीका आवश्यकतामा आधारित योजनाहरु श्रमदान गरेरै कार्यान्वयन गर्ने निर्णय गरिएको घुम्टीगडा गाउँका स्थानीय साईमल धामीको भनाई छ ।

The post सडक खुलाउन श्रमदान गर्दै स्थानीय appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/101155/