अस्पतालमा डाक्टरद्वारा मृत घोषणा, जलाउन चितामा राखेपछि ब्युँझियो शव
काठमाडौं– भारतको राजस्थानमा गत बिहिबार घटेको घटनाले धेरैलाई स्तब्ध बनाएको छ । प्रतिष्ठित अस्पतालका तीन डाक्टरले मृत घोषणा गरेको व्यक्ति अन्तिम संस्कार गर्नेक्रममा ब्युँझिएपछि धेरैले यसको निन्दा गरेका छन् ।
कान सुन्न र बोल्न नसक्ने (बहिरा) २५ वर्षीय रोहितास नाम गरेका पुरुष पछिल्लो एक महिनादेखि आश्रय गृहमा बस्दै आएका थिए । बिहीबार उनको अकास्मात स्वास्थ्यमा समस्या आएपछि राजकिया भगवान दास खेतान (बीडीके) जिल्ला अस्पताल झुन्झनुमा पुर्याइएको थियो ।
अस्पतालमा उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । चिकित्सक योगेश झाखार, नवनीत मील र सन्दीप प्रचारले उनलाई मृत घोषणा गरेका हुन् ।
नजिकका आफन्त कोही नभएका रोहितासलाई सोपछि अन्तिम दाहसंस्कार गर्न लगिएको थियो । चितामा जलाउनु भन्दा केही समयअघि रोहितास व्युँझिएका थिए । त्यसपछि उनको अन्तिम संसार छाडेर पुन बीडीके अस्पताल लगिएको थियो । पछि उनलाई जयपुरको एसएमएस अस्पताल लगियो । जहाँ उनको एक दिन पछि मृत्यु भयो।
यस घटनापछि रोहितासलाई मृत घोषणा गर्ने तीन डाक्टर निलम्बनमा परेको द इन्डियन एक्प्रेसले लेखेको छ । अधिकारीहरुका अनुसार मृत्युपछि शव पोस्टमार्टमका लागि पठाउनुपथ्र्यो । तर आवश्यक कागजात पुरा गरेर डाक्टरहरुले अन्तिम संस्कार गर्नका लागि शव जिम्मा लगाएका थिए । डाक्टरविरुद्ध चिकित्सकको व्यवहार हेर्न समिति गठन गरी अस्पतालको कामकारबाही हेर्न अतिरिक्त जिल्ला मजिस्ट्रेट नियुक्त गरिएको जिल्ला अधिकारी रामावतार मीनाले बताएकी छिन् ।