आफ्नी श्रीमतीलाई बाइकमा चढाउने युवकको श्रीमानले गरे हत्या

रुपन्देही– पश्चिमनवलपरासीमा श्रीमतीलाई बाइकमा चढाउने युवकको हत्या गरेको आरोपमा श्रीमानसहित तीन जना पक्राउ परेका छन् । पाल्हिनन्दन गाउँपालिका ५ घर भएका २० वर्षीय रोशन भनिने सूर्यकुमार बढईको हत्यामा संलग्न भएको आरोपमा तीन जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा पाल्हिनन्दन गाउँपालिका ६ का ३० वर्षीय जोगिन्दर बढई, सोही ठाउँमा २० वर्षीय सुरज राजभर र अर्का एक १७ वर्षका किशोर रहेका छन्।

उनीहरुले करिब तीन महिना पहिले गत साउन १४ गते रातिआफ्नै घरको कोठामा सुतिरहेको अवस्थामा बढईको हत्या गरेको आरोप छ । राति आफ्नै भाइसँग सुतिरहेको बेला बढईमाथि धारिलो हतियार प्रहार गरेर हत्या गरि फरार भएका उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

बढईको हत्या हुनुभन्दा तीन दिनअघि साउन ११ गते जोगिन्दर बढईकी श्रीमतीलाई मोटरसाइकलमा राखेर रोशनले आफन्तको घरमा पुर्‍याएका थिए। बाटोमा जोगेन्दरले श्रीमतीलाई बाइकमा राखेर रोशनले लग्दै गरेको देखेपछि विवाद सुरु भएको थियो। यहि विषयलाई लिएर जोगिन्दरले रोशनसँग बदलाको भावना राखेको पाइएको प्रहरी अनुसन्धानले देखिएको छ।

त्यसपछि जोगिन्दरले सुरज राजभर र अर्का किशोरसँग मिलेर रोशनलाई तह लगाउने सल्लाह गरेका थिए । सोही अनुसार साउन १३ गते बेलुकी गाउँको कुटिया माई मन्दिरमा बसेर गाँजा सेवन गरी रोशनलाई समेत उनीहरुलार्इं बोलाएका थिए ।

रोशन मोटरसाइकलमा त्यहाँ पुगेको र सामान्य छलफल भएर उनीहरू छुट्टिए। सोही राति उनीहरुले मदिरा र गाँजा सेवन गरेर हँसिया लिएर रोशन सुतेको ठाउँमा पुगेका थिए साउन १४ गते बिहान झण्डै चार बजेतिर जोगेन्दरले ओछ्यानमै गएर रोशनको घाँटीमा हसिँया प्रहार गरेको प्रहरीले जनाएको छ ।

त्यसपछि हतियार ट्वाईलेटको सेफ्टिट्यांकीमा लुकाएर जोगिन्दर भारतमा फरार भएका थिए । असोज २३ गते जोगिन्दर आफ्नो घरमा आएको सूचना पाएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । जोगिन्दरकै सूचनाको आधारमा घटनामा संलग्न देखिएका अन्य दुईजना समेतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

 

Source : https://onlinetvnepal.com/2024/10/184944/