आमा छोराको हत्या गरी शव जलाउने जनिफ ४ वर्षपछि पक्राउ
रौतहट।
रौतहटको पूर्बभेग दुर्गा भगवती गाउँपालिका स्थित एकैपटक आमा छोराको हत्या गरी शव जलाएर फरार भएका एकजना अपराधी लाई ४ वर्ष पछि प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा दुर्गाभगवती ४ छतौना बस्ने दोस महम्दको छोरा वर्ष ४८ को महमद जनिफ रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले बताएका छन्।
दुर्गाभगवती गाउँपालिका पिपरा बजारबाट लुकिछिपी बसेको अवस्थामा पक्राउ गरी निजमाथि आज कर्तव्य ज्यान कसुर मुद्दा दायर गरी रौतहट जिल्ला अदालतबाट म्याद लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरी प्रवक्ता रायले बताएका छन्।
दुर्गाभगवती ४ बस्ने लम्बु भन्ने समरुदिन मियाँ कवारीको श्रीमती वर्ष २२ की हुस्नेयारा खातुन र निजको छोरा वर्ष २ को रेहानको २०७७ वैशाख ११ गते राती ८ बजे हत्या गरी अपराधी जनिफले मसुरोको भुसमा बलि रहेको आगोमा लास फाली फरार भएका थिए।
उक्त स्थानबाट ३०० मिटरको दुरीमा छोरा रेहानको टाँउको कंकाल फेला परेको र घटनामा संलग्नलाई खोज तलास गर्ने क्रममा वारदात पश्चात् फरार रहेका उनलाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ।