इजरायल र हिजबुल्लाहबीच युद्धविराम गर्ने सहमति

काठमाडौं– इजरायल र इरान–समर्थित समूह हिजबुल्लाहबीच युद्धविराम गर्ने सहमति भएको छ । अमेरिका र फ्रान्स मध्यस्थकर्ता भएर गरिएको सम्झौतामा दुवै पक्ष सहमत भएको भन्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएपछि यी दुई पक्षबीच भएको युद्धविराम आजदेखि लागु भएको छ ।

यस सम्झौताले इजरायल–लेबनानी सीमामा भएको द्वन्द्वको अन्त्यको बाटो खोलेको छ । जसले गत वर्ष गाजाका कारण सुरु भएको युद्धबाट हजारौं मानिसहरूको ज्यान लिएको थियो।

इजरायली सुरक्षा मन्त्रिपरिषद्ले १०–१ को मतले सम्झौता स्वीकृत गरेको बाइडेनले मंगलबार ह्वाइटहाउसबाट सम्बोधन गर्दै बताएका छन् । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र लेबनानका कार्यवाहक प्रधानमन्त्री नजिब मिकातीसँग कुरा गरेको र स्थानीय समयअनुसार बिहान ४ बजे युद्ध समाप्त हुने बताए ।

सम्झौताअनुसार इजरायलले ६० दिनको अवधिमा आफ्नो सेनाहरू क्रमशः फिर्ता लैजानुपर्ने बाइडेनले बताएका छन् ।

Source : https://onlinetvnepal.com/2024/11/186859/