काठमाडौंमा भारतीय चेन होटेल मण्डला नोर्लिङ लर्ड्स सञ्चालनमा

काठमाडौं । भारतीय चेन होटेल लर्ड्सद्वारा काठमाडौंमा मण्डला नोर्लिङ लर्ड्स प्राइमका नाममा लक्जरी स्टार होटेल सञ्चालनमा ल्याएको छ । भारतीय चेन होटेल कम्पनी लर्ड्सले काठमाडौंको महाराजगञ्जमा होटेल मण्डला नोर्लिङ लर्ड्स प्राइमका नाममा नयाँ लक्जरी होटेल सञ्चालनमा ल्याएको हो ।

सुविधा सम्पन्न उक्त होटेलमा सुपर डिलक्स, डिलक्स र सुइट रुम गरी ८६ वटा कोठा छन् । आठ रोपनी क्षेत्रफलमा निर्माण गरिएको मण्डला नोर्लिङ होटेलमा तीन भवन रहेका छन् ।

यस होटेलको एउटा भवनमा चाइनिज रेस्टुरेन्ट र स्पा, अर्कोमा मुख्य होटेल र तेस्रो पार्टीको लागि छुटाइएको छ । भारतीय कम्पनी लर्डस प्राइमले व्यवस्थापन गर्ने यो होटेलमा नेपाली पर्यटन उद्यमीहरुको लगानी रहेको होटेलका कार्यकारी अध्यक्ष तथा नेपाल पर्यटन बोर्डका पूर्व कार्यकारी प्रमुख डा. धनन्ज्य रेग्मीले जानकारी दिए । उनका अनुसार होटेलमा चार तारे स्तरका सुविधाहरू रहे पनि अहिले स्टार नलिई सञ्चालन गर्न लागिएको छ । होटेलमा थप स्तरोन्नति गरी बिस्तारै स्टार लिइने पनि उनले जानकारी दिए ।

महाराजगन्ज चक्रपथै रहेको होटेल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४ किलोमिटरको दुरीमा रहेको छ । सजिलो लोकेसनमा रहेका कारण यहाँ बस्ने पर्यटकहरूले पशुपतिनाथ मन्दिर, बौद्धनाथ स्तुपा, वसन्तपुर दरबार स्क्वायर, पाटन दरबार स्क्वायर, बुढानीलकण्ठ मन्दिर र ठमेल नजिकैका पर्यटकीय आकर्षणहरू र विश्व प्रसिद्ध युनेस्को सम्पदा बुढानीलकण्ठ तथा ठमेल देखि सहज रुपमा पुग्न सक्नेछन् ।

भारतमा दजनौं चेन होटेल सञ्चालनमा ल्याएको लर्डले यस अघि काठमाडौंको बौद्धमा दुई वटा, वीरजञ्ज, नेपालगन्ज र भैरहवामा एक एक वटा होटेलको व्यवस्थापन गरिसकेको छ । आगामी दिनमा पोखरा, चितवन र नेपालका अन्य भागमा पनि होटेल विस्तारको योजना राखिएको लर्डस ग्रुप नेपालका एशोसियट भाइस प्रेसिडेन्ट शैलज एन तेरीले जानकारी दिए । भाइस प्रेसिडेन्ट शैलज एन तेरीका अनुसार होटेल ओपनिङ कै अवसरमा सयौँ विदेशी पर्यटकहरूको बुकिङ भइसकेको छ भने अन्य बुकिङका क्रममा रहेका छन् ।

होटेले अन्य विदेशीसँगै विशेषगरी चिनियाँ र भारतीय पर्यटकलाई नै लक्षित गरिएको छ । मण्डला नोर्लिङ होटेलमा चिनियाँ खानासहित चिनियाँ रेस्टुरेन्ट सञ्चालन गरिएको छ । त्यस्तै, भारतीयलाई लक्षित गरेर भारतीय भान्सा, नेपाली भान्सा, बहु भान्सा (मल्टी कुजिन) राखिएको छ । साथै, होटेलमा ५० जनाभन्दा बढी अटाउने चारवटा हलहरू पनि रहेका छ । तीन वटा ठुला हल निर्माणको क्रममा रहेको होटेल व्यवस्थापनले जानकारी दिएको छ ।

The post काठमाडौंमा भारतीय चेन होटेल मण्डला नोर्लिङ लर्ड्स सञ्चालनमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/104330/