चार महिनामा ४ खर्ब ६० अर्बको व्यापार घाटा
काठमाडौं । चालू आर्थिक वर्षको पहिलो चार महिनामा आयात र निर्यातमा सुधार भए पनि मुलुकको व्यापार घाटा भने बढेको बढ्यै छ ।
भन्सार विभागका अनुसार साउनदेखि कात्तिकसम्ममा ५ खर्ब ६६ अर्ब ५ करोड रुपैयाँको वैदेशिक कारोबार भएको छ । जसमध्ये चार महिनामा ५ खर्ब १३ अर्ब ३८ करोड ८० लाख रुपैयाँभन्दा बढीको वस्तु तथा सेवा आयात भएको छ । निर्यात भने ५२ अर्ब ६७ करोड ७ लाख रुपैयाँको भएको छ ।
गत आव २०८०–८१ को तुलनामा भने यसपालि शून्य दशमलव ५३ प्रतिशतले कारोबार बढेको छ । जसमा आयात शून्य दशमलव १७ र निर्यात ४ दशमलव १६ प्रतिशतले वृद्धि भएको छ । गत वर्षको चार महिनामा ५ खर्ब १२ अर्ब ५० करोड ३४ लाख रुपैयाँको आयात भएको थियो भने ५० अर्ब ५६ करोड ५३ लाख रुपैयाँको निर्यात भएको थियो ।
आयात र निर्यात बढे पनि व्यापार घाटामा भने झिनो परिवर्तन मात्र भएको छ । गत वर्ष ४ खर्ब ६१ अर्ब ९३ करोड रुपैयाँको व्यापार घाटा भएकामा यसपालि ४ खर्ब ६० अर्ब ७१ करोड रुपैयाँको व्यापार घाटा भएको तथ्यांक रहेको छ ।
कुल आयात–निर्यातमा आयातको हिस्सा ९० दशमलव ७० प्रतिशत रहेको छ भने निर्यातको हिस्सा ९ दशमलव ३० प्रतिशत मात्र रहेको छ ।
भन्सार विभागका अनुसार नेपालको सबैभन्दा ठूलो वैदेशिक व्यापार भारतसँग अद्यावधिक रहेको छ । भारतसँग मात्रै २ खर्ब ८१ अर्ब ११ करोड ६६ लाख १३ हजार रुपैयाँको घाटा रहेको छ । कात्तिक मसान्तसम्ममा भारतबाट ३ खर्ब १६ अर्ब ८८ करोड ५३ लाख रुपैयाँबराबरको वस्तु आयात भएको थियो । जबकि, भारततर्फ ३५ अर्ब ७६ करोड ८७ लाख रुपैयाँबराबरको मात्र निर्यात भएको छ ।
चीनसँग भने १ खर्ब ३ अर्ब १८ करोड २५ लाख रुपैयाँको आयात भएको तथ्यांक छ । चीनतर्फ भने ६८ करोड २३ लाख ७७ हजार रुपैयाँको मात्र निर्यात भएको छ । चीनसँग १ खर्ब २ अर्ब ५० करोड रुपैयाँको व्यापार घाटा भएको छ ।
यसैगरी, युद्धग्रस्त युक्रेनसँग ९ अर्ब १० करोड ६४ लाख रुपैयाँको व्यापार घाटा रहेको छ । युक्रेनतर्फ जम्मा ३५ लाख २३ हजार रुपैयाँको मात्र निर्यात भएको छ । ३ लाख ३ हजार रुपैयाँको निर्यात भएको अर्जेन्टिनाबाट भने ६ अर्ब ८७ करोड २२ लाख रुपैयाँको आयात भएको छ ।
अस्ट्रेलियाबाट ६४ करोड ७२ लाख ६३ हजार रुपैयाँको निर्यात हुँदा ६ अर्ब ८७ करोड २५ लाख रुपैयाँबराबरको आयात भएको छ ।
डेनमार्कसँग भने व्यापार नाफा रहेको छ । डनेमार्कसँग १४ करोड ९९ लाखको नाफा रहेको छ । युद्धग्रस्त अर्को मुलुक रसियासँग भने ७ करोड ३७ लाख रुपैयाँको व्यापार नाफा रहेको छ । व्यापार फाइदा भएका मुलुकमा अस्ट्रिया माल्दिभ्स, लाटभिया, न्यू क्यालेडोनिया, नर्वे, मौरिसस, क्रोएसिया, आइसल्यान्ड, इरान, स्लोभाकिया रहेका छन् ।
आयात मात्र भएर निर्यातको हिस्सा शून्य रहेका मुलुकहरूमा जिम्बाबे, तुर्कमिनिस्तान, बेनिन, टोगो, ग्वाटेमाला, ग्याबोन, डोमिनिकन, सेनेगल, जोर्डन, लक्जम्बर्ग, मोजाम्बिक, प्युर्टोरिको, मडागास्कार, मोनाको, नाम्बिबिया, इराक, सर्बियालगायतका छन् ।
नेपालबाट बढी निर्यात भएका मुलुकहरूमा भारत, संयुक्त राज्य अमेरिका, जर्मनी, बेलायत, फ्रान्स, जापान, चीन, अस्ट्रेलिया, यूएई, इटाली, नेडरल्यान्ड, क्यानडा, अफगानिस्तानलगायतका छन् ।
पहिलो चौमासिकमा पेट्रोलियम पदार्थको आयात सबैभन्दा धेरै देखिएको छ । कात्तिक मसान्तसम्ममा २९ अर्ब ४ करोड २० लाख रुपैयाँबराबरको डिजेल, २१ अर्ब ५६ करोड २९ लाख रुपैयाँबराबरको पेट्रोल र १८ अर्ब ८५ करोड ९३ लाख रुपैयाँबराबरको एलपी ग्यास आयात भएको छ ।
सबैभन्दा बढी आयात पेट्रोल भए पनि सरकारलाई सबैभन्दा बढी राजस्व भने पेट्रोलबाटै प्राप्त भएको छ । पेट्रोलबाट मात्रै १४ अर्ब ४ करोड ५३ लाख रुपैयाँको राजस्व उठेको छ । यसैगरी, डिजेलबाट १२ अर्ब ९० करोड ५४ लाख रुपैयाँ राजस्व उठेको छ ।
मोबिलबाट भने ४ अर्ब २० करोड ३० लाख रुपैयाँ राजस्व उठाइएको छ । यसैगरी, ईभी गाडीबाट ३ अर्ब ४६ करोड १ लाख रुपैयाँ, मोटरसाइकलबाट ३ अर्ब १६ करोड, स्मार्ट फोनबाट २ अर्ब ४९ करोड ९७ लाख रुपैयाँ राजस्व उठाउन सरकार सफल भएको छ ।
भन्सार विभागका अनुसार १५ अर्ब ९६ करोड ९२ लाख रुपैयाँबराबरको फलामजन्य वस्तु, १३ अर्ब ४० करोड ४८ लाख रुपैयाँबराबरको स्मार्टफोन आयात भएको छ ।
साउनदेखि कात्तिकसम्ममा ३ अर्ब ६० करोड ८ लाख रुपैयाँबराबरको नेपाली गलैंचा निर्यात भएको छ । त्यस्तै, सोयाबिन तेल ३ अर्ब ४१ करोड, चिया २ अर्ब २१ करोड र अलैंची १ अर्ब ९० करोड रुपैयाँबराबरको निर्यात भएको तथ्यांक रहेको छ ।
चार महिनामा ९ अर्ब ६० करोड रुपैयाँको कच्चा सूर्यमुखी तेलको आयात भएको छ । गत आवको यस अवधिमा ५ अर्ब ४३ करोड रुपैयाँको कच्चा सूर्यमुखी तेल आयात भएको थियो ।
त्यस्तै, गत आवको तुलनामा १ अर्ब ४४ करोड रुपैयाँभन्दा बढीले कच्चा भटमासको तेल आयात भएको छ । निर्याततर्फ पनि सूर्यमुखी र भटमासको तेलमा उल्लेख्य वृद्धि भएको छ । चार महिनामा १ अर्ब ५० करोड रुपैयाँको सूर्यमुखी तेल निर्यात भएको छ भने ३ अर्ब ४१ करोडको भटमासको तेल निर्यात भएको छ ।
नेपालमा व्यावसायिक खेती नहुने सूर्यमुखी र भटमासको कच्चा तेल आयात गर्दै प्रशोधन गरी निर्यात गरिने हुँदा यसको व्यापार कारोबार बढी देखिएको हो ।
The post चार महिनामा ४ खर्ब ६० अर्बको व्यापार घाटा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
Source : https://rajdhanidaily.com/id/104371/