चिकित्सक हडतालमा उत्रिएपछि बिरामीलाई सास्ती

महोत्तरीको जलेश्वरमा रहेको प्रादेशिक अस्पतालका चिकित्सक तथा कर्मचारीहरु हड् तालमा उत्रिए पछि बिरामीहरु सास्ती भोग्न बाध्य भएका छन् ।

प्रादेशिक अस्पतालमा कार्यरत करारका चिकित्सक तथा कर्मचारीहरुको म्याद समाप्त भए पनि पुनः करारको म्याद मन्त्रालयले थप गर्न नचाहेपछि उनीहरु आन्दोलनमा उत्रिएका छन् । जसले गर्दा अस्पतालको अत्यावश्यक बाहेक सम्पूर्ण सेवा ठप्प भएको छ । जलेश्वरमा बिहीबार अस्पताल प्रशासनले अस्पतालमा कार्यरत करारका कर्मचारीलाई म्याद थप नभएका भन्दै कामकाज नगर्न सूचना प्रकाशन गरेपछि करारका चिकित्सक तथा कर्मचारीहरुले शुक्रबार कामकाज नगरेपछि बिरामीहरुले सास्ती भागेका छन् ।

एकातर्फ प्रादेशिक अस्पताल जलेश्वरमा कार्यरत रहेका १५ जना छात्रवृत्ति करारका चिकित्सक तथा कर्मचारीहरुले साउन महिनादेखि तलब नपाएको भन्दै हडतालको तयारीमा थिए भने अर्कोतर्फ करारका कर्मचारीको म्याद नथपिएपछि अस्पतालको कामकाज ठप्प भएको । सो अस्पतालको ओपिडीमा आएका बिरामीहरुलाई चिकित्सकले परीक्षण नगरेपछि बिरामी आक्रोशित भएका छन् ।

हडतालमा उत्रिएका अस्थायी करारका चिकित्सक डा.कृष्णा पंजियारले एकातर्फ साउन महिनादेखि आफूहरुले नियुक्ति तथा तलब पाएका छैनौँ भने अर्कोतर्फ अस्पताल प्रशासनले कामकाजका लागि म्याद थप्न नसकिने भन्दै सूचना प्रकाशन गरेपछि आफूहरु अन्योलमा रहेको गुनासो गरे । उनले ओपिडीमा चेकजाँच नभए पनि इमर्जेन्सी सञ्चालनमा कुनै बाधा नरहेको बताए ।

अस्पताल प्रशासनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनकपुरधामको मिति २०८१/६/४ गतेको पत्र (मिति २०८१/६/२ गतेको मन्त्रिस्तरीय निर्णय) को आधारमा २०८१ साउन १ गतेदेखि बढीमा तीन महिनाका लागि म्याद थप गर्ने, तर मन्त्रालयको स्वीकृति बिना २०८१ कात्तिक १ गतेदेखि म्याद थप नगर्ने पत्रानुसार अस्पताल प्रशासनसँग म्याद थप गर्ने कानुनी आधार नरहेकाले तपाईहरुको करार म्याद हाललाई थप गर्न नसकिने गरी सूचना प्रकाशित गरेको छ ।

सो सूचनामा म्याद थप नहुञ्जेलसम्म तलब भत्ता दाबी नगर्ने शर्तमा हाल करारमा कामकाज गरिरहेका करार सेवाका कर्मचारीहरुले अस्पतालको नियम, कानुन र नियमितता पालना गर्ने गरी आफ्नो पदको कामकाज गर्न इच्छुक भए कामकाज गर्नका लागि यस अस्पतालको कर्मचारी प्रशासन शाखामा निवेदन दिन उल्लेख रहेको छ । यता सो अस्पतालमा कार्यरत करारका चिकित्सक र कर्मचारीहरुको शुक्रबार बसेको बैठकबाट यस विषयमा थप स्पष्टता माग गरिएको तथा तीन दिनभित्र स्पष्ट जानकारी प्राप्त नभए बैठक बसेर थप आन्दोलन गर्ने चेतावनी करारका चिकित्सक र कर्मचारीहरुले दिएका छन् ।

The post चिकित्सक हडतालमा उत्रिएपछि बिरामीलाई सास्ती appeared first on Janakpur Today.

Source : https://ejanakpurtoday.com/2024/10/19/99994/