टिजरमा आयो केटी हराएको सूचना

काठमाडौं । नेपाली चलचित्र ‘मिसिङः केटी हराएको सूचना’ को रिलिज मिति नजिकिँदै गर्दा सोमबार टिजर सार्वजनिक गरिएको छ । दीपेन्द्र गौचनले निर्देशन गरेको यो चलचित्र यही ३० कात्तिकबाट नेपालमा रिलिज हुँदैछ ।

यो चलचित्रको टिजरमा नाजिर हुसेन र सृष्टि श्रेष्ठको प्रेमकथा प्रस्तुत गरिएको छ । मधेसी र पहाडी समुदायको युवा युवतीको प्रेम सम्बन्धको उतारचढाव पनि टिजरमा प्रस्तुत छ । केही समय अघि पहिलो टिजर सार्वजनिक गरिएको यो चलचित्रको दोश्रो टिजर केही फरक रहेको छ । टिजरको अन्त्यमा नाजिरलाई सृष्टिले अपहरण गरेको दृश्यले तराईमा हुने अपहरण लगायत विविध अपराधको कथा प्रस्तुत गरेको बुझाउँछ ।

यो चलचित्रमा नाजिर र सृष्टिसँगै सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल र ओमप्रकाश कर्णको अभिनय छ । चलचित्रमा अमितेष शाह विशेष भूमिका छन् ।

३२ वर्षअघिको डकु–ड्रामा ‘उजेली’का निर्देशन गरेका अन्तराष्ट्रिय बजारमा चर्चा कमाएका दीपेन्द्र गौचनले लामो समय कम्बोडिया चलचित्र उधोगमा काम गरे । यसपछि नेपाल आएर उनले यो चलचित्र निर्देशन गरेका हुन् ।

ट्राई सिटी पिक्चर्स प्रस्तुतकर्ता रहेको फिल्म ट्राई सिटी पिक्चर्सकै व्यानरमा निर्माण भएको हो । नकिम उद्दिन कार्यकारी निर्माता रहेको यो चलचित्रमा गौचन आफैं पनि निर्माता हुन् । जसमा दीपेन्द्रकै कथा र लेखन रहेको छ ।

चलचित्रमा मनोहर दास मुल, अनिन राजभण्डारी, राजीव थापा, रोबिन थापा, राधेश पन्त, महेन्द्र शाक्य, ज्योतिमान शेरचन, चन्द्र भट्टचन, सञ्जय भट्टचन पनि निर्माता छन् ।

केटी हराएको सुचनामा अमर महर्जनको डीओपी, निमेष श्रेष्ठको सम्पादन, शंकर महर्जनको द्वन्द्व निर्देशन, दीपेन्द्र गौचन, प्रवेश मल्लिक र करुण थापाको संगीत, राजीव कर्णको कोरियोग्राफी रहेको छ । यो चलचित्रलाई नेपालमा एप्पल इन्टरटेनमेन्ट, एफडी कम्पनी र रिच इन्टरटेनमेन्टले वितरण गर्दैछन् ।

The post टिजरमा आयो केटी हराएको सूचना appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/102562/