शौचालयको ढल सिधै नालीमा, सदरमुकाम डडेल्धुरा दुर्गन्धित

डडेल्धुरा । जिल्ला सदरमुकाम डडेल्धुरामा शौचालयको ढल सिधै खुल्ला नालीमा फालिदा दुर्गन्धित बनेको छ । वर्षौदेखि शौचालयको ढल नालिमा छोडिएको छ । यसले जिल्ला सदरमुकामको बागबजार बगरकोट रोड बजार दुर्गन्धित बनेको छ भने विभिन्न रोगको संक्रमण बढेको छ ।

प्रसिद्ध धार्मिक पीठ घटालथान मन्दिर प्रवेश गर्ने गेटदेखि करिब २०० मिटर दुरीसम्मको बजार क्षेत्रको शौचालयको ढल खुल्ला नालीमा छोडिएको छ । नालीबाट दुर्गन्ध आउने भएकाले स्थानीयहरुले आ–आफनो घर अगाडीको नाली टीनका पाताले छोपेका छन् ।

बगरकोट रोड बजार क्षेत्रका होटेल, पसल र केही स्थानीयका शौचालयको ढल खुल्ला नालीमा छोडिएको स्थानीयहरुको गुनासो छ । यसको उचित व्यवस्थापन हुनु पर्ने माग स्थानीयहरुको छ । तर हालसम्म पनि समस्याको समाधान हुन नसकेको भन्दै आइतबार स्थानीयहरुले सयुक्त रुपमा हस्ताक्षर गर्दै अमरगढी नगरपालिकालाई निवेदन बुझाए ।

यस क्षेत्रका स्थानीयहरुले फोहोर व्यवस्थापन हुनु पर्ने माग राख्दै जिल्ला प्रशासन कार्यालय डडेल्धुरालाई बोधार्थ राखेर अमरगढी नगरपालिकाको कार्यालयमा निवेदन बुझाएको स्थानीय पवन ऐरले बताए । अमरगढी नगरपालिका ५ मा पर्ने यहाँबाट अमरगढी नगरपालिका २ र ३ वडासँगै भागेश्वर गाउँपालिका र बैतडीको तल्लो स्वराड क्षेत्र मेलौली नगरपालिका, शिवनाथ र पञ्चेश्वर गाउँपालिकाका स्थानीयहरुको आउजाउ गर्ने मुख्य सडक बाटो हो ।

दिभरि नै यस सडकमा दोहोरो गाडी पार्किंग गरि राखिएका हुन्छन । साघुरो सडकमा दोहोरो पार्किंगले आउजाउ गर्न समस्या हुनुका साथै दुर्घटनाको जोखिम बढाएको छ । यसैमाथी फोहोर व्यवस्थापन नहुनु र शौचालयको ढल खुल्ला नालीमा छोडिएको छ । दुर्गन्धका कारण यस क्षेत्रमा आउजाउ गर्न निकै कठिन हुने गरेको उनले बताए । दुर्गन्धका कारण राती घरमा बस्नै नसकिने स्थानीय राजेन्द्र पनेरुको गुनासो छ ।

आईतबार निवेदन बुझाएपछि सोमबार बिहान मात्रै अमरगढी नगरपालिकाले यस क्षेत्रमा सरसफाई गरेको स्थानीय गोयलदत्त पाण्डेयले बताए । अमरगढी नगरपालिकाले बजार सबै क्षेत्रबाट प्रत्येक दिन बिहान फोहोर उठाउने गरेको छ । तर यस क्षेत्रबाट भने थिएन । उनले भने, आईतबार हामि २७ जनाले सरसफाई र ढलको निकासका लागि सामुहिक निवेदन बुझाए पछि बल्ल फोहोर उठेको छ । तर नालीमा मिसाईएको शौचालयको ढलले बजार दुगन्धित नै रहेको उनले बताए ।

नालीमा मिसाईएको शौचालयको ढलको व्यवस्थापन नगरिए महामारी फैलिन सक्ने भन्दै स्थानीय त्रसित बनेका छन । केहीको लापर्वाहीका कारण यस क्षेत्रमा बसोबास गर्ने हजारौ स्थानीयले यस क्षेत्र भएर आउजाउ गर्नेहरुलेसमेत समस्या भोग्नु पर्ने भन्दै स्थानीयहरुले चाँडै ढल व्यवस्थापन हुनुपर्ने माग अमरगढी नगरपालिका समक्ष राखेका छन । ।

The post शौचालयको ढल सिधै नालीमा, सदरमुकाम डडेल्धुरा दुर्गन्धित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/102574/