डिडिसी सुधारका लागि सक्दो प्रयास गर्दैछु : मन्त्री अधिकारी
काठमाडौँ।
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले दुग्ध विकास संस्थान (डिडिसी) लाई प्रभावकारी बनाई ऋणबाट मुक्त गराउन आफूले सक्दो प्रयास गरीरहेको बताएका छन् । आज मन्त्रालयमा राष्ट्रिय किसान सञ्जालको ज्ञापनपत्र बुझ्दै मन्त्री अधिकारीले डिडिसीको उत्पादनको खपत बढाउन व्यक्तिगत तवरबाट समेत आफूले विभिन्न प्रयास गरिरहेको भन्दै यसको नतिजा चाडै देखिने उल्लेख गरे ।
विगत देखिनै डिडिसीमा बेथिति रहेको र यसलाई अन्त्य गर्न केही समय लाग्ने र यसका लागि आफ्नो पहल रहेको मन्त्री अधिकारले उल्लेख गरे । यो समयमा डिडिसीले दूध खरिदमा विगत देखिनै कोटा निर्धारण गर्ने गरेको जानकारी आफूलाई आएको भएपनि किसानलाई निराश पार्न नहुनेमा मन्त्रालयको जोड रहेको मन्त्री अधिकारीले बताए । सरकारले अण्डा र मासुमा आत्मनिर्भर भए जस्तै दूधमा पनि आत्मनिर्भरको विषय उठाउँदै गर्दा किसानको दूध खरिद नगर्ने भन्ने कुरा हुन सक्दैन , मन्त्री अधिकारीले भने । केही सञ्चार माध्यममा किसानको दूध सरकारी संस्थानले नकिनेको विषय आएको तर दूध बिक्री नभएको गुनासो किसान मार्फत नआएको भए पनि यस विषयलाई आफूले गम्भीरता पूर्वक लिएको र केही दिनमा यथार्थ बाहिर ल्याउने पनि बताए । ज्ञापन पत्र बुझाउँदै सञ्जालले दूध , उखु ,सुपारी लगायत अहिलेका समस्या समाधानका लागि ध्यानाकर्षण गराएको छ ।