तिहारमा जति विद्युत प्रयोग गरे पनि हुन्छ, लोडसेडिङ हुँदैन: कुलमान

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तिहारका लागि धेरै भन्दा धेरै विद्युत खपत गर्न आग्रह गरेका छन्। संचारकर्मीसँग कुरा गर्दै उनले यो तिहारमा पर्याप्त विद्युत उत्पादन भएकोले जति प्रयोग गरे पनि लोडसेडिङ नहुने बताएका छन्।

उनले यसपालि तिहारको लागि विद्युत आयात गर्न आवश्यक नपर्ने बताउँदै मुलुकभित्रको उत्पादनले मात्र माग पूरा गर्न पर्याप्त रहेको जानकारी दिए। घिसिङका अनुसार, प्राविधिक समस्या नआएमा तिहारको समयमा कतै पनि विद्युत कटौती हुने छैन।

घिसिङले तिहारमा पर्याप्त विद्युत उपलब्ध रहेकाले हामीले विद्युत निर्यात गर्न समेत सक्ने बताए। यद्यपि, असोज महिनामा आएको बाढीले माथिल्लो तामाकोशी लगायत अन्य जलविद्युत आयोजनामा क्षति पुर्‍याएको भन्दै हिउँदमा भने केही विद्युत आयात गर्नुपर्ने अवस्था हुनसक्ने बताएका छन्।

उनको पहिलो कार्यकालमा लोडसेडिङ अन्त्य गरेपछि उनको नेतृत्वको प्रशंसा भएको थियो। २०७३ सालको तिहारमा लोडसेडिङ बिना नै सबै ठाउँमा झिलिमिली बत्ती बाल्न सकिएको थियो।

 

 

The post तिहारमा जति विद्युत प्रयोग गरे पनि हुन्छ, लोडसेडिङ हुँदैन: कुलमान appeared first on Samudrapari.

Source : https://samudrapari.com/2024/10/494420/