धनगढीमा कोल्डस्टोर निर्माणको काम ६ वर्षदेखि अलपत्र

धनगढी । कैलालीमा सवा ९ करोडको लागानीमा दुई हजार मेट्रिकटन क्षमताको कोल्डस्टोर निर्माणको काम ६ वर्षदेखि अलपत्र छ । जिल्लाको धनगढी उपमहानगरपालिका–१८ फूलबारीमा संघीय सरकारको सहयोगमा निर्माण भइरहेको कोल्डस्टोर निर्माणको काम अलपत्र परेको हो ।

२०७५ मंसिर १७ गतेबाट कोल्डस्टोर निर्माणको काम सुरु गरिएको थियो । काठमाडौंको रुविना कन्स्ट्रक्सनले २४ महिनाभित्र काम सम्पन्न गर्ने गरी ठेक्का हात पारेको थियो । कोल्डस्टोर निर्माणको काम समयमै नसकिँदा किसानको तरकारी र फलफूल तथा कृषि उपजले उचित मूल्य पाउन समस्या भएको धनगढी—१८ का बलिराम चौधरीले बताए । उनले कोल्डस्टोरको काम नसकिँदा स्थानीय किसानले उत्पादन गरेको तरकारी र फलफूल कुहिने गरेको बताए ।

धनगढी उपमहानगरपालिकामा उर्मा र फूलवारीका ६ वडा कृषिउत्पादनका लागि महत्वपूर्ण वडा हुन् । धनगढीको कृषि उत्पादनलाई मध्यनजर गरेर संघीय सरकारले वडा नम्वर १८ मा कोल्डस्टोर निर्माण थालेको थियो। ६ वर्षअघि रुबिना कन्ट्रक्सनका काठमाण्डौसँग २४ महिनामा काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो । सङ्घीय आयोजना अन्तरगत ९ करोड २८ लाख ५७ हजार १ सय ८ रुपियाँ लागतमा कोल्डस्टोर निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको थियो ।

तर राज्यले गरेको ठुलो लगानीबाट स्थानीयले लाभ लिने अवस्था ७ वर्षसम्म पनि बन्न नसक्नुले स्थानीय किसान निरास भएको धनगढी–१८ डिपोबजारका किसान हरिप्रसाद शर्माले बताए । ‘राज्यले गरेको ठुलो लगानी काम पूरा नहुँदा खेर गएजस्तै भएको छ,’ उनले भने, ‘राज्यले गरेको लगानी अविलम्ब पूरा गरेको भए यहाँका किसानले फलाएको कृषि उपज कोल्डस्टोरमा राख्थे र उचित मूल्यमा बिक्री गरेर लाभ लिन्थे। कोल्डस्टोर नबन्दा राज्यको लगानी र किसानको कृषि उपज खेर गएको छ ।’

६ पटक म्याद थप गर्दा पनि काम अधुरै
कोल्डस्टोर समयमै निर्माण सम्पन्न नभएपछि तेह्र संसोधन सहित २०८१ चैत मसान्त सम्म निर्माण कार्य सम्पन्न गर्ने गरी छठौँ पटक म्याद थप गरिएको छ । विभिन्न बाहना देखाएर पटक–पटकम्याद थप्दै आएको निर्माण कम्पनीका कारण स्थानीय किसानहरु सेवाबाट बन्चित भएका छन् ।

कोल्ड स्टोर निर्माण समयमा नहुँदा स्थानीय किसानले उत्पादन गरेका कृषीजन्य बस्तुहरु संरक्षण गर्न महेन्द्रनगर लैजानुपर्ने बाध्यता रहेको धनगढी–१८ का अर्का किसान नारायण सुवेदीले बताए ।

‘कोल्डस्टोर निर्माण नहुँदा यहाँका किसानले फलाएको आलु महेन्द्रनगर लग्नु परेको छ,’ उनले भने, ‘राज्यको पैसा एकातर्फ खेर गइरहेको छ भने अर्कोतर्फ किसानले पैसा तिरेर महेन्द्रनगर लैजानु परेको छ ।’ धनगढी–१८ ‘ई’ गाउँका किसान नारायण शर्मा सुवेदीले कोल्डस्टोर निर्माणको काम सम्पन्न नहुँदा किसानले उब्जाएको फलफूल र तरकारी खेर जाने गरेको बताए । उनले कोल्डस्टोरको काम पूरा गर्न स्थानीय र संघीय सरकारले निर्माण कम्पनीलाई बाध्य बनाउन सक्नुपर्ने बताए ।

यता धनगढी–१८का वडा अध्यक्ष भुवन रिजालले उपमहानगरपालिकाको दबाबले नै निर्माण कार्यले गति लिएको दाबी गरेका छन् । उनले समयमै काम सम्पन्न नगर्ने निर्माण कम्पनीलाई जरिबाना लगाउनुपर्ने दबाब दिएपछि कामले गति लिएको दाबी गरे । ‘उपमहानगरपालिकाले समयमै काम नसक्ने कम्पनीलाई जरिबाना लगाउन र कालो सूचिमा राख्न दबाब दिएपछि २०८० देखि कामले गति लिएको हो,’ उनले भने, ‘अहिले कामले गति लिएको छ र निर्माण कम्पनीले थपिएको म्याद भित्रै काम सक्ने बताउँदै आएको छ ।’

दुई हजार मेट्रिकटन क्षमताको कोल्डस्टोर निर्माणको करिब ८५ प्रतिशत काम सकिएको संघीय आयोजना कार्यान्वयन इकाई धनगढीले जनाएको छ । संरचना निर्माणको काम सकेर उपकरण जडानको काम मात्रै बाँकी रहेको संघीय आयोजना कार्यान्वयन इकाई धनगढीका सूचना अधिकारी इन्जिनियर सौरभ कलौनीले बताए ।

उनले निर्माण कम्पनीले आगामी चैतभित्र काम सक्नुपर्ने तथा उपकरण जडान र फिनिसिङको काम बाँकी रहेको बताए । निर्माण कम्पनीले भवन निर्माणको काम सके पनि भित्री र बाह्य फिनिसिङ तथा उपकरण जडानको काम भने गरेको छैन। कुलिङ प्रणाली सञ्चालनका लागि आवश्यक पर्ने उपकरण निर्माण कम्पनीले ल्याएको छैन ।

The post धनगढीमा कोल्डस्टोर निर्माणको काम ६ वर्षदेखि अलपत्र appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/104307/