धनगढीले उपलब्ध गरायो छिमेकी पाँच पालिकालाई निःशुल्क शव चिस्यान सेवा

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले छिमेकी पाँच स्थानीय तहलाई शव चिस्यान सेवा उपलब्ध गराएको छ । उपमहानगरपालिकाले शव चिस्यान सेवा ती स्थानीय तहलाई नि:शुल्करूपमा उपलब्ध गराएको हो ।

उपमहानगरपालिकाले गौरीगंगा नगरपालिका र कैलारी गाउँपालिका तथा कञ्चनपुरको पुनर्वास र कृष्णपुर नगरपालिकालाई नि:शुल्करूपमा शव चिस्यान सेवा दिने सम्झौता नै गरेको छ । यसअघि धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकाका मात्र यो सेवा उपलब्ध थियो ।

गोदावरी नगरपालिका बाहेकका चार स्थानीय तहहरूसँग सम्झौता गरिएको छ । २०८२ असार मसान्तसम्म छिमेकी चार पालिकामा यस्तो सेवा प्रदान गर्न सम्झौता गरिएको छ । उपमहानगरपालिकाको नगर प्रहरीले शव चिस्यान यन्त्र मृतकको घरमा लगेर जडान गर्नेछ। मृतकको अन्तिम संस्कार गरेपछि यन्त्र फिर्ता ल्याइने छ । स्थानीय तहमा समेत सेवा प्रदान गर्न उपमहानगरले शव चिस्यान यन्त्र थप गरेको थियो ।

उपमहानगरपालिकासँग पाँच वटा शव चिस्यान यन्त्रको रहेका छन् । शव चिस्यान सेवाको माग आउन थालेपछि अब कैलालीको गोदावरी, गौरीगंगा नगरपालिका र कैलारी गाउँपालिका तथा कञ्चनपुरको पुनर्वास र कृष्णपुर नगरपालिकामा बसोबास गर्ने नागरिकले समेत शव चिस्यान सेवा पाउने धनगढी उपमहानगरपालिकाले जनाएको छ ।

विदेशमा छोराछोरी र आफन्त भएको अवस्थामा उनीहरू घर नपुग्दासम्म मृत शरीरलाई सुरक्षित राख्न शव चिस्यान यन्त्रको प्रयोग हुने गरेको छ । उपमहानगरपालिकाले शव चिस्यान सेवा नगर प्रहरीमार्फत दिँदै आएको छ ।

शव चिस्यान यन्त्र आवश्यक परेमा धनगढी उपमहानगरपालिकाको पैसा नलाग्ने १८१०५००००९० नम्बरमा खबर गरेपछि नगर प्रहरीले घरसम्म नि:शुल्क पुगाएर सेवा प्रदान गरिने गरिएको र दाहसंस्कार पश्चात् पुन: घरबाटै नगर प्रहरीले नै ल्याउने गर्दछन ।

फोटो क्याप्सन : गौरीगंगा नगरपालिका ५, का चञ्चली बिकको देहावसान भएपछि शव राख्न शव चिस्यान यन्त्रको आवश्यक परेको खबर आएपछि धनगढी नगर प्रहरी उनको घरमा नि:शुल्क शव चिस्यान यन्त्र दिँदै ।

The post धनगढीले उपलब्ध गरायो छिमेकी पाँच पालिकालाई निःशुल्क शव चिस्यान सेवा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/102552/