धुमधामको साथ दीपावली मनाइँदै : सरकारी भन्दा बजारमा असर्फी सस्तो, भारी भीड

धनकी देवी लक्ष्मीको विशेष पूजा हुने दीपावली पर्व धुमधामका साथ मनाइँदै छ । तिथिको फेरबदलले भारतको केही भागमा दुई दिन दीपावली त्यौँहार मनाइँदै छ । तर नेपालमा दीपावली बिहीबार एक दिन नै मनाइँदै छ ।

मंगलबार धेरैले धनतेरस मनाएको भए पनि बुधबार पनि धनतेरस मनाइएको छ । पण्डित सन्तोष पाण्डेयका अनुसार बुधबार दिउँसोसम्म मात्र धनतेरसको साइत थियो । दीपावली बिहीबार नै मनाइने उनले बताए । ‘बिहीबार दिउँसो ३ बजेर २२ मिनेटदेखि दीपावलीको साइत सुरु हुने छ’ उनले भने, शुक्रबार दिउँसोसम्म मात्र तिथि रहेकाले बिहीबार नै दीपावली गर्नु उपयुक्त हुने छ ।

यस वर्ष तिथिको हेरफेरले पर्वत्यौँहारहरुमा प्रभाव परेको छ । दीपवालीमा पनि तिथिको प्रभावले दुई दिन मनाइने स्थिति देखिएको छ । तर अधिकांश भूभागमा बिहीबार नै दीपावली पर्व मनाइने छ । भारतको उत्तरप्रदेश लगायतका केही प्रदेशमा बिहीबार र शुक्रबार नै दीपावली मनाइने भएको छ । तिथिको विषयमा पण्डितहरुको राय बाझिएको छ ।

अधिकांशले बिहीबार मनाउन सुझाए पनि केहीको तर्क शुक्रबार मनाइने छ । दीपावलीमा सरसफाइ, नयाँ धातु, भाडाकुँडा, वाहनलगायतको खरिदलाई प्राथमिकता दिइन्छ । सुनचाँदीको मूल्य अकासिए पनि बजारमा अन्य दिनको तुलनामा भारी खरिद भएको बताइन्छ । सुनको भन्दा चाँदीको लक्ष्मी गणेश भगवानको मुर्ती खरिद गर्नेहरुको सर्वाधिक भीड देखिएको हो ।

सुनचाँदी व्यवसायी मनिषरमण साहका अनुसार चाँदीको लक्ष्मी गणेश भगवानको मूर्ति खरिद गर्नेहरुको भीड देखिए पनि सुनको बिक्रीमा कमी आएको छ । ‘नेपाल राष्ट्र बैंकले निर्धारण गरेको चाँदीको असर्फीको भन्दा बजारमा सस्तोमा चाँदीको असर्फी उपलब्ध रहेको छ ’ साहले भने, बैंकले चाँदीको १० ग्रामको असर्फीको मुल्य २ हजार २ सय निर्धारण गरेको छ । तर बजारमा २ हजार १ सय मुल्य निर्धारण गरिएको छ । लक्ष्मी गणेशको मुर्तीको सिक्का सय प्रतिशत चाँदीको मात्र हुने गरेको उनले दाबी गरे ।

सार्वजनिक गरिएको मुल्य शुद्ध चाँदीको रहेकाले त्यसमा मिसावट गरिए बिक्रेता दोषी हुने उनको कथन छ । सुनको मुल्य धेरै वृद्धि भएकाले विगतको तुलनामा विक्रीमा निकै कमी आएको साहले बताए । ‘सुनको मूल्यमा निरन्तर भइरहेको वृद्धिले विक्रीमा कमी आएको छ ’ उनले भने, तर सुनको मूल्यमा अझै केही समय कमी आउने सम्भावना छैन । दिपावलीमा मिठाई, फलफुल, बिजुलीको सरसमान, माटोका लक्ष्मी गणेशको प्रतिमाको बिक्रीपनि उल्लेख्य रुपमा भएको छ ।

अबेर सम्म मिठाई पसल, फलफुल र सजावटका पसलहरुमा ग्राहकको भीड लागेको थियो । उपभोक्ताहरुले भने हरेक समानको मुल्यमा भारी बृद्धि भएको बताए ।जानकी मन्दिर वरिपरिको पसलहरुमा तछाडमछाड गर्नेहरुले धेरै महँगो भयो भन्दै मोलमोलाइ गरिरहेका थिए ।तर महँगी बढेपनि समान खरिद गर्नेहरुको संख्यामा बृद्धि भएको स्थानीयहरुले बताए ।

दिपावलीलाई दिपोत्सवको रुपमापनि मनाइन्छ ।माटोको दियोमा तेलबत्ती बालेर दिपावली मनाइन्छ ।दिपावलीको पुजन बिधि भूगोल अनुसार केहि फरक भएपनि दिप बाल्ने चलन सबै स्थानमा रहेको छ । सनातन धर्म अनुसार भगवान राम लंकामाथि विजयप्राप्तगरि सीता सहित अयोध्या फर्केको दिन अयोध्यामा भव्य दिपावली गरिएको थियो ।

त्रेता युगकालिन संस्मरणमा अयोध्यामा दिपावली मनाइन्छ । दिपावलीमा देवस्थलहरुमा समेत दिपावली गरिन्छ ।मठमन्दिरहरुमा श्रद्धालु भक्तजनहरुले दिप जलाएर पुजा गर्छन् । दिपावलीमा पड्काइने पटाखामा भने व्यापक कमि आएको छ ।सीमाक्षेत्रमा पटाखाको अयातमा कडाई गरिएपछि सहरी क्षेत्रमा पटाखा पड्काउनेमा कमि आएको छ ।हुनत नागरिकपनि वातावरणप्रति सचेत भएकाले प्रदुषणको कारणपनि पटाखा पड्काउन कम गरेका छन् ।

The post धुमधामको साथ दीपावली मनाइँदै : सरकारी भन्दा बजारमा असर्फी सस्तो, भारी भीड appeared first on Janakpur Today.

Source : https://ejanakpurtoday.com/2024/10/31/100527/