निर्वाध रुपमा प्याज तस्करी

नेपाल–भारत सीमावर्ती क्षेत्रबाट प्याज तस्करीमा वृद्धि भएको छ । केही दिनदेखि सिरहास्थित सीमावर्ती क्षेत्रबाट प्याजको तस्करी बढ्न थालेको छ ।

केही दिन अघि मात्रै लु१स ५७२९ नम्बरको पिकअप चोहर्वा हुँदै भारतबाट तस्करी गरी ल्याइएको र भन्सार छलीको अवैध प्याज लोड गरिएको थियो । ७ नम्बर गण सिरहाबाट दुई वटा मोटरसाइकलमा चार जना सशस्त्र प्रहरी गए र सिरहा–चोहर्वा सडक खण्डअन्तर्गत सिरहा नगरपालिका–१ गुलरियाबाट पिकअपलाई नियन्त्रणमा लिएका थिए ।

सिरहाका सशस्त्र प्रहरी प्रमुख एवं उपरीक्षक शिव गैरेका अनुसार पिकअपबाट १ लाख ८ हजार ५ सय रुपैयाँ बराबरको ३१ बोरा प्याज बरामद भएको जनाइएको छ । सशस्त्र प्रहरीले मंगलबार भन्सार छलीको सो प्याज, पिकअप र चालक श्यामसुन्दर महरालाई भन्सार कार्यालयमा बुझाएको जनाइएको छ ।

सो प्याज भारतबाट तस्करी गरी सिरहास्थित एक घरमा भण्डारण गरिएको थियो । ७ नम्बर गण सिरहाका प्रहरी नायब निरीक्षक विष्णु गौतमले मोटरसाइकलमा लोड गरी यहाँ ल्याएर भण्डारण गरिने गरिएको पाइएको बताए । भन्सार छलीको प्याज गाडीमा गइरहेको सूचना पाएपछि आफूहरूले स्वस्फूर्त रूपमा नियन्त्रणमा लिएको उनको दाबी छ ।

तस्करहरूले निर्वाध रूपमा प्याजको तस्करी गर्दै आएका छन् । उनीहरूले सीमावर्ती बजार र गाउँका घरहरूमा गोदाममा राख्दै आएका छन् । सो गोदाममा भारतबाट भन्सार छली ल्याइएका प्याज भण्डारण गरेर बिक्री वितरण गर्दै आएका छन् । यसका लागि उनीहरूले सुरक्षा निकायदेखि भन्सारका कर्मचारीसम्मको समन्वयमै तस्करी हुने गरेको स्थानीयवासीले आरोप लगाएका छन् ।

प्याज तस्करीबाट नै महिनामा ३० देखि ४० लाख रुपैयाँसम्मको कारोबार हुँदै आएको स्थानीय कर्मचारीहरु बताउँछन् । नेपालमा अहिले एक सय रुपैयाँ देखि एक सय २० रुपैयाँसम्म प्रतिकिलो प्याज विक्री वितरण हुँदै आएको छ । सीमावर्ती क्षेत्रमा रहेका भन्सार कार्यालय र सुरक्षाकर्मीको समेत मिलेमतोमै प्याज तस्करी हुँदै आए पनि सिरहाका सशस्त्र प्रहरीले भने सो कुराको खण्डन गर्दै आएको छ ।

सिरहा भन्सार कार्यालयका सूचना अधिकारी विमल श्रेष्ठले तस्करी नियन्त्रणका लागि हरसम्भव प्रयास गरिए पनि खुला सीमा र जनशक्ति अभावका कारण चुनौतीपूर्ण रहेको बताए ।

The post निर्वाध रुपमा प्याज तस्करी appeared first on Janakpur Today.

Source : https://ejanakpurtoday.com/2024/10/18/99934/