महिला फुटबल प्रतियोगितामा हलेसी बन्यो च्याम्पियन
खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले आयोजना गरेको खुल्ला महिला फुटवल प्रतियोगितामा हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान च्याम्पियन बनेको छ । सोही नगरपालिकाको वडा नं. ७ महादेवस्थानको बसाहाथान खेलमैदानमा सोमबार सम्पन्न फाइनल खेलमा प्रतिद्वन्द्वी टिम पदमा स्पोर्टस क्लब ओखलढुंगालाई ट्राइबेकरमा हराउँदै हलेसी च्याम्पियन बनेको हो ।
निर्धारित समयमा दुबै टिमबाट गोल नभएपछि खेल ट्राइबेकरमा धकेलिएको थियो । ट्राइबेकरमा हलेसीले ३ गोल गर्दा ओखलढुंगाले २ गोल मात्र गरेका थिए । च्याम्पियन बनेको हलेसीले एक लाख ११ हजार १११ रुपैयाँ र उपविजेता ओखलढुंगाले ५५ हजार ५५५ रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । सेमीफाइनलिष्ट भोजपुर नगरपालिका भोजपुर र जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङ खोटाङले प्रतिटिम २२ हजार २२२ रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेको नगरपालिकाका खेल प्रशिक्षक मिलन कसजुले जानकारी दिए ।
बेष्ट प्लेयर बनेका हलेसीका खेलाडी प्रतिक्षा ठकुरीले १ हजार ५५५ रुपैयाँ प्राप्त गरेकी छन् । बेष्ट डिफेण्डर हलेसीका कर्सा ओली, बेष्ट मिडफिल्डर ओखलढुंगाकी खुस्मा राई, सर्वाधिक गोलकर्ता ओखलढुंगाकी सुक्रिया मिया, उत्कृष्ट गोल रक्षकमा हलेसीका सुजता तामाङ र उत्कृष्ट प्रशिक्षकमा हलेसीका लोकेन्द्र केसी घोषित भएका छन् । विद्यागततर्फका विजेता खेलाडीले जनही एक हजार १११ को साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
विजयी टिम र उत्कृष्ट खेलाडीहरुलाई कोशी प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राई पीके, हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राई र उपमेयर रमेश कुमार राउतले पुरस्कार वितरण गरेका थिए । खेलको माध्यमबाट महिलाहरुको शक्ति प्रदर्शन गर्नका लागि खुल्ला महिला फुटबल प्रतियोगिता गरिएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर राईले बताईन् ।
लैङिगक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरसँगै “मेरो गोल, लैङिगक हिंसा विरुद्धको बोल” नाराका साथमा मंसिर ८ गतेदेखि सुरु भएको प्रतियोगिताको कोशी प्रदेशका भौतिक पूर्वाधार विकास एवंम् स्वास्थ्यमन्त्री भुपेन्द्र राईले उद्घघाटन गरेका थिए । प्रतियोगितामा खोटाङकै महिला रेफ्रि शशी राई, रोदिना राई र युनिसा राईसहित अन्य दुईजना पुरुष निर्णायक थिए । ‘मेरो गोल, लैङ्गिक हिङ्साविरुद्धको बोल’ नारासहित मङ्सिर–८ गतेदेखि शुरु प्रतियोगितामा खोटाङ, भोजपुर र ओखलढुङ्गागरी १६ टोलीले सहभागिता जनाएका थिए ।
यसैबीच, महिला जनप्रतिनिधिका लागि आयोजित म्युजिकल चियर प्रतियोगितामा उर्मिला विश्वकर्मा प्रथम भएका छन् । नगरपालिकाभित्रका १९ जना महिला जनप्रतिनिधि सहभागी प्रतियोगितामा दिक्षा राई द्धितीय र जुना राई तृतीय भएका छन् । म्युजिकल चियर प्रतियोगितामा विजयी जनप्रतिनिधिलाई क्रमशः नगद रु तीन हजार तीन, रु दुई हजार दुई र रु एक हजार एकको साथमा प्रमाणपत्र प्रदान गरिएको छ । नगरपालिकाको आयोजनामा सञ्चालित प्रतियोगिता उद्घघाटन तथा समापनमा स्थानीय तथा राष्ट्रियस्तरका कलाकारहरुको साँगीतिक प्रस्तुति समेत रहेको थियो ।
The post महिला फुटबल प्रतियोगितामा हलेसी बन्यो च्याम्पियन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
Source : https://rajdhanidaily.com/id/104438/