मुख्यमन्त्री पाण्डेको बढ्यो सम्पत्ति

पोखरा । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहित मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएको छ । पछिल्लो समय गत १६ जेठमा पाण्डे दोस्रो कार्यकालका लागि मुख्यमन्त्री नियुक्त भएका थिए ।

आर्थिक वर्ष सकिएको वा कुनै सार्वजनिक पदमा बहाल भएको ६० दिनभित्र त्यस्ता व्यक्तिले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने प्रावधान छ । मुख्यमन्त्री पाण्डेले अघिल्लो कार्यकालमा बुझाएको सम्पत्ति विवरण तुलनामा थप सम्पत्ति जोडेका छन् । सार्वजनिक सम्पत्ति विवरणअनुसार गण्डकीका सबैजसो मन्त्रीहरु धनी देखिन्छन् । पाण्डे नेतृत्वमा गण्डकी ९ सदस्यीय मन्त्रिमण्डल छ ।

मुख्यमन्त्री पाण्डेको गोरखाको पालुङटार नगरपालिका र काठमाडौंमा घरजग्गा छ । यो सम्पत्ति उनले पैत्रिक भनेका छन् । उनको पालुङटार, कपिलबस्तु नगरपालिका र भक्तपुरको सूर्यबिनायक नगरपालिकामा जग्गा रहेको उल्लेख गरेका छन् ।

पालुङटारमा ३ कित्तामा करिब ३६ रोपनी, कपिलबस्तुमा २ कित्तामा ५ कठ्ठा ६ धुर, सूर्यबिनायकमा ५ कित्तामा करिब १० रोपनी जग्गा रहेको छ । उनीसँग ४५ तोला सुन, ७ सय तोला चाँदी, २ सेट हिरा र १ मोती छन् । यसअघि, सम्पत्ति विवरण बुझाउँदा सुन ४२ तोला र चाँदी ५ सय तोला रहेको बताएका उनको अहिले ३ तोला सुन बढेको हो । चाँदी २ सय तोला थप जोडेका छन् ।

उनले आफू र पत्नी बिना शर्मा पाण्डे र छोरा सुयोग्यराज पाण्डेको नाममा विभिन्न बैंकमा बचत रकम जम्मा गरेका छन् । उनको एभरेष्ट बैंक, नबिल बै.क, एसबिआई बैंक र कृषि विकास बैंकमा २७ लाख ७४ हजार बचत छ । पहिले सम्पत्ति विवरण बुझाउँदा उनीसँग २४ लाख ९६ हजार बचत थियो । अहिले थप रकम पनि जोडेका हुन् ।

पत्नीको नाममा प्रभू र ग्लोबल आईएमई बैंकमा उपदानवापत २७ लाख र जग्गा बिक्रीबाट ४४ लाख मुद्दति खातामा छ । बचत खातामा ६७ हजार छ ।

छोराको नाममा ग्लोबल आईएमई र एसबिआई बैंकमा ४ लाख ७८ हजार रुपैयाँ बचत छ ।

धितोपत्र, शेयर वा ऋणपत्रतर्फ मुख्यमन्त्रीले दियालो फुडल्याण्ड प्रालिमा ६१ हजार १ सय कित्ता, बैंक तथा वित्तीय संस्थामा ५ हजार कित्ता, पत्नीको नाममा विभिन्न बैंक तथा वित्तीय संस्थामा करिब ५ हजार कित्ता र छोराको नाममा करिब ४ हजार कित्ता शेयर छ । उनले ती शेयर कित्ता जग्गा बिक्री, व्यवसाय र तलबबाट आर्जन गरेको दाबी गरेका छन् । पत्नीको नाममा मारुती बलेरो कार छ ।

सम्पत्ति विवरण बुझाउने मन्त्रीहरुमा कांग्रेसका बिन्दुकुमार थापा सबैभन्दा धनी छन् । दोस्रोपटक मन्त्री बनेका थापासँगै एमालेका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर केसी उस्तै धनी रहेको देखिएका छन् ।

व्यावसायिक पृष्ठभूमिबाट राजनीतिमा आएका मन्त्री थापाको पोखरामा घर र घरले चर्चेको करिब ४ हजार वर्गमिटर जग्गा छ । सोही ठाउँमा अर्को घर पनि छ । उनकी पत्नी मनलक्ष्मीको २ वटा घर र जग्गा तथा अर्की श्रीमती राधाको २ वटा घर र जग्गा छ । दुई श्रीमतीको नाममा थापाले पोखरा २९ मा ६ हजार ४३ वर्गमिटर जग्गा खरिद गरेका छन् । थापाकै नाममा पोखरा ८ र १७ मा जग्गा छ ।

उनको प्रभू बैंकमा १ लाख ८ हजार कित्ता सेयर छ । उनकी श्रीमती मनलक्ष्मीको लुम्बिनी विकास बैंकमा ३८ हजार ८१२ कित्ता सेयर छ भने छोरा सौगातको नाममा १० ठाउँमा र अविरलको नाममा २ ठाउँमा सेयर छ । एनएमबी बैंकमा ४ लाख ५७ हजार र लक्ष्मी बैंकमा १४ लाख ५३ हजार रुपैयाँ मन्त्री थापाको मौज्दात छ । लुम्बिनी विकास बैंकमा संस्थापक सेयर भएका उनीसँग ५६ हजार ४७ कित्ता सेयर छ । उनले एनएमबी बैंक न्यूरोड शाखाबाट ६ करोड ६३ लाख ऋण लिएको देखाएका छन् ।

उनीसँग २ करोडको टोयोटा जीप छ भने १ करोड १२ लाख पर्ने फोर्डको अर्को जीप छ । १ करोड १६ लाख मूल्य पर्ने कार उनकी श्रीमती मनलक्ष्मीको नाममा छ । मन्त्री थापाले एनएमबी बैंकबाट १२ करोड ३१ लाख ऋण लिएका छन् भने ग्रिन डेभलपमेण्ट बैंकबाट १२ करोड ५० लाख लिएका छन् । पोखरा फाइनान्सबाट ८५ लाख, मनोहरजंग राणाबाट ९४ लाख ९५ हजार, अनिता थापाबाट ५५ लाख, सुनिता थापाबाट ३० लाख ऋण लिएको उनले सम्पत्ति विवरणमा जनाएका छन् । सुन १६० तोला, चाँदी ५८० तोला, हिरा २० तोला उनीसँग छ ।

एमालेका मन्त्री केसीको नाममा पोखरा १२ मा घर र घरले चर्चेको २२६ वर्गमिटर जग्गा छ । सोही ठाउँमा अर्को घर र २०४ वर्गमिटर जग्गा छ । ललितपुरमा उनले श्रीमती विन्देश्वरीसँग संयुक्त रुपमा घरसहित ८ आना जग्गा खरिद गरेका छन् । ललितपुर, पोखराका विभिन्न ठाउँमा उनीसँग जग्गा छ । उनीसँग ५ सेट हिराको हार, ९५ तोला सुन, डेढ किलो चाँदी छ ।

मन्त्री केसीसँग गण्डकी हाइड्रोपावरमा १ लाख ८० कित्ता सेयर, युनिफाइड हाइड्रोमा ५६ हजार २७० कित्ता, माछापुच्छ«े बैंकमा पनि सेयर छ भने श्रीवृद्धि सहकारीमा ४ हजार कित्ता सेयर छ । मन्त्री केसीसँग २ वटा मोटरसाइकल र एउटा कार तथा श्रीमतीको नाममा एउटा कार र छोराको नाममा एउटा मोटरसाइकल छ । उनले हस्पिटलचोकमा सटर बनाएर बहालमा लगाएको उल्लेख गरेका छन् ।

उनले केशवप्रसाद अधिकारीलाई १ करोड ९० लाख, दुर्गा नारायण पौडेललाई ४५ लाख र अन्य विभिन्न व्यक्तिलाई ४५ लाख ऋण दिएको उल्लेख गरेका छन् ।

The post मुख्यमन्त्री पाण्डेको बढ्यो सम्पत्ति appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/103041/