यूनाइटेड अजोड इन्स्योरेन्सका सीईओ रावलको निधन

काठमाडौँ । यूनाइटेड अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत श्रवण रावलको निधन भएको छ । रावलको भक्तपुरस्थित नागरिक अस्पतालमा निधन भएको हो ।

मुटुमा एक्कासी समस्या भएपछि अस्पताल भर्ना गरिएका रावलको उपचारका क्रममा बिहीबार बिहान निधन भएको अस्पतालले जनाएको छ ।

पारिवारिक स्रोतका अनुसार बुधबार राती सोल्टी होटलमा आयोजित एक कार्यक्रममा सहभागी भएर उनी घर फर्किएका थिए । त्यसप्रश्चात मुटुमा एक्कासी समस्या भएपछि रावललाई अस्पताल पुर्याइएको थियो । रावलको हृदयघातका कारण निधन भएको अस्पताल स्रोतले बताएको छ ।

निर्जीवन बीमा क्षेत्रमा दुई दशकभन्दा लामो अनुभव बटुलेका रावलले नेको इन्स्योरेन्समा सहायक महाप्रबन्धक, सगरमाथा इन्स्योरेन्समा नायब प्रमुख कार्यकारी अधिकृत र प्रुडेन्सियल इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी निभाइसकेका थिए । ६१ वर्षको उमेरमा निधन भएका रावल हाल भने यूनाइटेड अजोड इन्स्योरेन्सका सीईओ थिए । उनको परिवारमा श्रीमती, एक छोरा र एक छोरी छन् ।

Source : https://arthasarokar.com/2024/10/shrawan-rawal.html