रवि लामिछानेलाई म्याद थपका लागि अदालतमा पेस गरिँदै

काठमाडौँ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई प्रहरीले म्याद थपका लागि आज कास्की जिल्ला अदालतमा पेस गर्दैछ ।

पहिलो पटक थपिएको ६ दिनको म्याद बुधबारसम्म रहेकोमा बयान नसकिएपछि प्रहरीले आज म्याद थपका लागि अदालतमा पेस गर्न लागेको हो ।

कास्की प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले अनुसन्धानको क्रममा प्रमाण जुटाउने, कागजात मगाउने कार्य भइरहेकाले बयान नसकिएको बताएका छन् । रविसँगै गोरखा मिडिया नेटवर्कमा साझेदार बनेका पूर्वडिआइजी छविलाल जोशीलाई पनि आज म्याद थपका लागि अदालतमा उपस्थित गराइँदैछ ।

लामिछानेलाई प्रहरीले कात्तिक २ गते काठमाडौँबाट पक्राउ गरेर पोखरा लगेको थियो । जोशी भने असोज ६ गते काठमाडौंबाट पक्राउ परेका थिए । लामिछानेमाथि प्रहरीले सहकारी ठगी र संगठीत अपराधमा अनुुसन्धान गरिरहेको छ ।

Source : https://arthasarokar.com/2024/10/rabi-lamichhane-115.html



Related Posts