लामिछानेको ‘अन्याय’मा परेका दुई ब्याचका एसएसपी बल्ल डीआईजीमा सिफारिस

काठमाडौं । नेपाल प्रहरीमा जनपद समूहतर्फका आठ जना वरिष्ठ उपरीक्षक (एसएसपी) नायब महानिरीक्षक (डीआईजी)मा बढुवा सिफारिस भएका छन् । आइतबार साँझ बसेको बढुवा सिफारिस समितिको बैठकले वरीयतामा एकदेखि ८ नम्बरसम्म रहेका सबै जना एसएसपीलाई बढुवाका लागि सिफारिस गरेको हो ।

गत जेठमा तत्कालीन गृहमन्त्री रवि लामिछानेले वरीयता मिचेर दुई ब्याच मुनिका एसएसपीलाई डीआईजीमा बढुवा गर्दा अहिले बढुवा सिफारिसमा परेका सबैमाथि अन्याय भएको थियो । त्यसबेला गृहमन्त्री लामिछानेले आफ्ना नजिकका एसएसपीहरू दानबहादुर कार्की, डा. मनोज केसी र राजन अधिकारीलाई डीआईजीमा बढुवा गर्दा अहिले बढुवा सिफारिसमा परेकाको वृत्ति विकासमा गम्भीर असर परेको थियो । तर, तत्कालीन गृहमन्त्री लामिछानेले बिगारेको थिति रमेश लेखक नेतृत्वको गृह प्रशासनले अहिलेको बढुवा सिफारिसका क्रममा सच्याउने काम गरेको छ ।

आइतबार बसेको बढुवा सिफारिस समितिको बैठकले ध्रुवराज राउत, भोलाबहादुर रावल, गणेश चन्द, सिद्धिविक्रम शाह, सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्बेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विकलाई बढुवाका लागि सिफारिस गरेको हो ।

बढुवा सिफारिसमा परेका एकदेखि ३ नम्बरभित्रका राउत, रावल र चन्द वर्तमान प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरका ब्याची हुन् । ५ चैत २०५१ मा प्रहरी सेवामा प्रवेश गरेका महानिरीक्षक कुँवरका ब्याचका सबै जना डीआईजी र एआईजी भइसकेर ५६ बर्से उमेर हदका कारण धमाधम अवकाशमा जाँदा उनीहरू भने एसएसपीमै चित्त बुझाउन बाध्य थिए । डीआईजी पद रिक्त हुँदा पनि वरीयतालाई मिच्दै तत्कालीन गृहमन्त्री लामिछानेले उनीहरूभन्दा दुई ब्याच मुनिका एसएसपीलाई बढुवा दिएर उनीहरूको वृत्ति विकासमै खेल्ने काम गरेका थिए । उनीहरू तीनै जना अबको केही समयभित्रै अवकाशमा जानेछन् ।

तत्कालीन गृहमन्त्री लामिछानेले यस टोलीभन्दा मुनिको टोलीमाथि पनि ‘अन्याय’ गरेका थिए । राष्ट्रिय अनुसन्धान विभाग (राअवि)मा २०५३ सालमा भर्ना भएर पछि नेपाल प्रहरीमा स्थानान्तरण भएको यस टोलीमाथि लामिछानेले ‘बक्रदृष्टि’ राख्दा सो टोलीका शाह, राठौर, चतुर्बेदी, श्रेष्ठ र विकलगायत मारमा परेका थिए । अहिले आफूभन्दा जुनियरलाई सलाम ठोक्नुपर्ने उनीहरूको अवस्था छ ।

२०५३ सालको यस टोलीबाट डीआईजीमा बढुवा हुने प्रहरी अधिकारी भावी आईजीपीको दौडमा हुने भएकाले लामिछानेले उनीहरूलाई ‘माइनस’ गरेर १८ चैत २०५४ मा प्रहरी निरीक्षक बनेका कार्की, केसी र अधिकारीलाई त्यस दौडमा सामेल गराएका हुन् ।

तत्कालीन गृहमन्त्री लामिछानेले अघिल्लोपटक राष्ट्रिय अनुसन्धान विभागबाट आएको टोलीलाई छुटाए पनि यसपटक भने उनीहरूलाई प्राथमिकतासाथ बढुवा गरिएको छ । राअविबाट आएर अहिले डीआईजीको बढुवा सिफारिस सूचीमा परेको टोली र लामिछाने गृहमन्त्री हुँदा यसअघि बढुवा भएका यी तीन जनाबीच नेतृत्वका लागि आगामी दिनमा चर्काे प्रतिस्पर्धा हुने देखिएको छ ।

यसपटक बढुवा सिफारिसमा पर्न तीन ब्याचका एसएसपीले चर्काे लबिइङ गरेका थिए । समग्रमा २० जना एसएसपी डीआईजीका लागि प्रतिस्पर्धामा थिए ।

The post लामिछानेको ‘अन्याय’मा परेका दुई ब्याचका एसएसपी बल्ल डीआईजीमा सिफारिस appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/104430/