लामिछानेमाथि संगठित अपराधसहित ३ वटा कसुरमा अनुसन्धान हुँदै

काठमाडौं । सहकारीमा बचत गरेका सर्वसाधरणको रकम ठगी गरेको आरोपमा गोर्खा मिडिया नेटवर्कका तत्कालीन निर्देशक तथा रास्वपाका सभापति रवि लामिछानेविरुद्ध प्रहरीले तीनवटा कसुरमा अनुसन्धान गर्ने तयारी गरेको छ । शुक्रबार साँझ काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई अनुसन्धानका लागि कास्की प्रहरीले म्याद थपका लागि आज (आइतबार) अदालतमा पेस गर्दै छ ।

सहकारी रकम ठगी प्रकरण

प्रहरीले सहकारी ठगी, किर्ते र संगठित अपराधमा अनुसन्धानका लागि अदालतबाट म्याद थप गरेर पुनः अनुसन्धान गर्ने तयारी गरेको छ । पोखराको सूर्यदर्शन सहकारीका १८ हजार ७ सय ५० जना सर्वसाधारणले बचत गरेर राखेको रकम हिनामिना भएपछि जिल्ला अदालतल कास्कीले १४ जनाविरुद्ध पक्राउ पुर्जीको अनुमति दिएको थियो । जसमध्ये गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक लामिछाने पनि एक हुन् ।

सहकारीमा सर्वसाधारणले बचत गरेको रकम गोर्खा मिडियाका अध्यक्ष गीतेन्द्रबाबु राई (जीबी राई), तत्कालीन प्रबन्ध निर्देशक लामिछाने, सञ्चालक छविलाल जोशी र कुमार रम्तेलले हिनामिना गरेको प्रहरीले निष्कर्ष निकालेको थियो । सोही निष्कर्षकै आधारमा प्रहरीले लामिछानेमाथि थप अनुसन्धान गर्नका लागि अदालतबाट अनुमति लिएर पक्राउ गरेको हो । हिनामिना गरेको आरोप लागेका राई फरार छन् भने सञ्चालक जोशी एक महिनादेखि कास्की प्रहरीको हिरासतमा छन् । साथै, गोर्खा मिडियाका अर्का सञ्चालक रम्तेल पुर्पक्षका लागि कास्की कारागारमा छन् ।

लामिछानेमाथि सहकारीको रकम संगठित रूपमा ठगी गरेको भन्दै सहकारी ऐन, २०७४ र संगठित अपराध निवारण ऐन, २०६४ ले वर्जित गरेको कसुर र सम्पत्ति शुद्धीकरणमा अनुसन्धानका लागि प्रहरीले म्याद माग गर्दै छ । सूर्यदर्शन सरकारीमा संगठित रूपमा ठगी गरेकाले ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा अनुसन्धान हुनेछ । लामिछानेलाई सहकारी ठगी र संगठित अपराध गरी ६० दिनसम्म थुनामा राखेर प्रहरीले अनुसन्धान गर्न सक्नेछ । ६० दिन पूरा हुनुअगावै प्रहरीले अनुसन्धान प्रतिवेदनसहित जिल्ला सरकारी वकिलको कार्यालय कास्कीमा बुझाउनेछ । सम्पत्ति शुद्धीकरणमा थप अनुसन्धान गर्न ९० दिनसम्म म्याद थपको माग प्रहरीले गर्न पाउनेछ । प्रहरीले सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान गर्ने तयारी गरिरहेको छ ।

सूर्यदर्शन सहकारीमा मान्छेलाई तहतह संलग्न गरेर ठगी गरेको देखिएको भन्दै प्रहरीले संगठित अपराधमा पनि अनुसन्धान प्रक्रिया अगाडि बढाउन लागेको हो । लामिछाने सहकारीको सदस्य नरहँदा पनि उनको खातामा कसरी रकम गयो भन्ने विषयमा प्रहरीले विस्तृत अनुसन्धान गरिरहेको छ । संसद्को सहकारी ठगी विशेष छानबिन समितिको प्रतिवेदनले लामिछानेले सहकारी ठगी गरेको र किर्ते गरेको भन्दै कारबाहीयोग्य भनिसकेको छ । जसमा संगठित अपराध पनि थपिएसँगै अब लामिछानेलाई तीनवटा कसुरमा मुद्दा अघि बढ्नेछ । प्रहरीले तीनवटा कसुर सहकारी ठगी, किर्ते र संगठित अपराधमा अनुसन्धान गरेर प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा पठाउनेछ ।

तीनवटा कसुर प्रमाणित भए कम्तीमा ७ वर्ष जेल
लामिछानेमाथि सहकारी ठगी मुद्दा चल्नसक्छ । जसअनुसार सहकारीको ऐनअनुसार अन्यत्र पैसा लिएर गएको आधारमा उनलाई १ वर्षसम्म कैद र १ लाख रुपैयाँ जरिमाना हुनसक्छ । लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडियाले सूर्यदर्शन सहकारीबाट रकम ल्याएको पुष्टि भइसकेको छ । संस्थाका प्रबन्ध निर्देशक लामिछाने पनि भएका हुनाले उनले पनि सजाय भोग्नुपर्ने हुनसक्छ । सहकारी ऐन, २०७४ को दफा ५० ले सहकारीको रकम आफ्ना सदस्यबाहेक अन्यत्र ऋण–लगानी गर्न नपाइने व्यवस्था गरेको छ ।

सहकारी ऐनकै दफा १२२ को खण्ड (त)ले सहकारी संस्थालाई हानि÷नोक्सानी पु¥याउने उद्देश्यले कसैले कुनै काम गर्न वा गराउन, मोलाहिजा गर्न वा गराउन, कुनै किसिमको रकम लिन वा दिन नहुने भनेको छ । यो कसुर गरेको देखियो र प्रमाणित पनि भयो भने ६ देखि ८ वर्षसम्म कैद सजाय हुनेछ । त्यस्तै, अपचलन गरेको रकमसमेत असुल उपर गराइने व्यवस्था छ ।

सहकारीको रकम तहतहअनुसार हिनामिना भएको पाइएपछि प्रहरीले संगठित अपराधमा पनि अनुसन्धान गर्न अदालतसँग अनुमति लिएर लामिछानेलाई पक्राउ गरेको थियो । यदि, संगठित अपराध प्रमाणित भएमा थप ५० प्रतिशत कैद जोडिनेछ ।

संगठित अपराध निवारण ऐनको दफा ९ ले मूल कसुर गर्दा संगठित रूपले गरेको देखिए ५० प्रतिशतसम्म कैद थप्ने भनेको छ । अर्थात्, सहकारी ठगी गर्दा संगठित रूपले गरेको देखिए सहकारी ठगीमा हुने सजाय (६ देखि ८ वर्षसम्म) ५० प्रतिशतसम्म थपिन्छ । अदालतले संगठित अपराध भनी ठहर गरेमा थप ४ वर्ष जेल सजाय हुनसक्छ ।

अर्को, लामिछानेले गोर्खा मिडियाको सेयर किनबेच गर्दा किर्ते कागज गरेको भन्दै प्रहरीले छानबिन प्रक्रिया अगाडि बढाउनेछ । संसदीय छानबिन समितिले पनि लामिछानेले सेयर हस्तान्तरणमा किर्ते कागजात गरेको देखिएको उल्लेख गरिसकेको छ । मुलुकी अपराधसंहिताले सरकारी वा सार्वजनिक लिखत किर्ते गर्नेलाई ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने व्यवस्था गरेको छ ।

त्यस्तै, कम्पनी ऐनअनुसार उनलाई २ वर्ष कैद र ५० हजार रुपैयाँ जरिमाना हुनसक्ने देखिन्छ । ग्यालेक्सी फोरके टिभीको सेयर जीबी राईको नाममा हस्तान्तरण गर्दा कम्पनी रजिस्ट्रार कार्यालयलाई झुक्याएपछि लामिछानेलाई ५० हजार रुपैयाँसम्म जरिमाना वा २ वर्षसम्म कैद वा दुवै सजाय हुनसक्ने देखिएको छ । कम्पनी ऐनको दफा १६० मा भएको व्यवस्थानुसार लामिछानेलाई यस्तो सजाय हुनसक्छ ।

लामिछानेको नाममा रहेको ग्यालेक्सीको १५ प्रतिशत सेयर अध्यक्ष राईमा हस्तान्तरण हुँदा लामिछानेको खातामा १ करोड ८० लाख रुपैयाँ जम्मा गरिएको भौचर देखाएर सेयर हस्तान्तरण भएको थियो । गोर्खा मिडिया नेटवर्क (ग्यालेक्सी टेलिभिजन) खोल्ने समयमा ५ करोड पुँजी तोकिएको थियो । लामिछानेले १५ प्रतिशत सेयर लिए । यसबापत उनले ७५ लाख रुपैयाँ हाल्नुपर्ने थियो । यो रकम राईले व्यवस्थापन गरेको लामिछानेको दाबी छ ।

सहकारी छानबिन समितिको अध्ययनका क्रममा (लामिछानेको नामको ७५ लाखसहित) ५ करोड रुपैयाँ सहकारीको बचत अपचलन गरेर ल्याएको पाइएको छ । लामिछाने सूर्यदर्शन सहकारीका बचतकर्ता थिएनन् । त्यसैले सिर्जनाचोक, पोखरा ठेगाना राखेर लामिछानेको नाममा ७५ लाख रुपैयाँ ऋण प्रवाह भएको देखाइयो । लामिछानेले पाएको १५ प्रतिशत सेयर सहकारीबाट ल्याइएको थियो । सोही सेयर पछि हस्तान्तरण गर्दा कागज किर्ते गरिएको थियो ।

रकम खातामा जम्मा नै नगर्ने उद्देश्यका साथ झुटा विवरण उपलब्ध गराएर राईको नाममा सेयर हस्तान्तरण गरिएको हो । लामिछानेले केही समयअघि सामाजिक सञ्जालमा आफ्नो खातामा १ करोड ८० लाख रुपैयाँ जम्मा भएको भौचर देखाएपछि मात्र कम्पनी रजिस्ट्रारको कार्यालयबाट राईको नाममा सेयर नामसारी हुने भएकाले त्यस्तो गरिएको भन्दै झुटो विवरण उपलब्ध गराएर सेयर हस्तान्तरण गरिएको स्वीकार गरेका पनि छन् ।

सूर्यदर्शन सहकारीमा १८ हजार ७ सय ५० बचतकर्ताको १ अर्ब ३५ करोड ५३ लाख ५४ हजार ८ सय ९८ रुपैयाँ बचत थियो । जिल्ला सरकारी वकिलको कार्यालयले १ अर्ब ११ करोड ३४ लाख ४३ हजार बिगो दाबी गर्दै चलाएको मुद्दा अदालतमा विचाराधीन छ । प्रतिवेदनमा १ अर्ब ३१ करोड ५३ लाख ८२ हजार ९ सय ८ रुपैयाँ सहकारीले ऋण लगानी गरेको उल्लेख छ । यसमध्ये ३० करोड रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा लगानी भएको तमसुकसमेत छ ।

The post लामिछानेमाथि संगठित अपराधसहित ३ वटा कसुरमा अनुसन्धान हुँदै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/102413/